आलो मासु खानु राम्रो कि फ्रोजन गरिएको ?

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०८०, आईतवार

मासु विश्वभरिका मानिसको लोकप्रिय खानामा पर्छ । पौष्टिक तत्व धेरै पाइने भएकाले स्वास्थ्यको दृष्टिकोणले पनि मासु लाभदायक हुने पोषणविद्हरु बताउँछन् । तर कतिपय अवस्थामा मासु काट्ने, भण्डारण गर्ने र पकाउने क्रममा त्यसमा रहेको पोषक तत्त्व नष्ट भइरहेको हुन्छ । यहाँ स्वस्थ मासु कसरी छनोट गर्ने, आलो मासु खानु राम्रो कि फ्रोजन गरेको ? भन्ने विषयमा चर्चा गरिन्छ ।

पशु छनोट 

विश्व समुदायमा अधिकांशले मासु खान्छन् । तर अरूले खाने मासु र हामीले खाने मासु उस्तै छैन । अन्य देशमा फ्रोजन मासु बढी खाइन्छ भने नेपालमा आलो मासु । पहिलो कुरा त हामीले मासु खाने पशुपंक्षीहरू स्वस्थ र तन्दुरुस्त हुन आवश्यक छ । यदि पशु नै स्वस्थ छैन भने त्यस्तो मासु खाएर हामी स्वस्थ हुन सक्दैनौ ।

मासुका लागि वध गरिने पशुपंक्षीको स्वास्थ्य अवस्था कस्तो छ, काट्नुअघि कुन अवस्थामा छ भन्ने विचार पुर्‍याउनुपर्छ । पेट फुलेको, टाउको र खुट्टा तन्काएर सहजै उठ्न वा बस्न नसक्ने पशुपंक्षी रोगी हुन सक्छन् । कतै घाउ, चोटपटक लागेको छ, रगत बगेको छ भने पनि निको नहुन्जेल मासुका लागि उपयुक्त हुँदैन ।

वध गर्ने तरिका

निरोगी पशुपंक्षी भएर मात्र पनि पुग्दैन । त्यसलाई उचित ढंगले वध गर्नुपर्छ । अर्थात् कुनै पनि जीवजन्तु मासुको लागि काट्ने, मार्ने प्रक्रिया नै हामीले गलत ढंगले गरिरहेका छौं । हामीले जीवजन्तुलाई हिर्काएर, काटेर, घोचेर तड्पाइ–तड्पाइ मार्छौं । यसरी पशुपंक्षीको हत्या गर्दाको अवस्थामै त्यसको मासु विषाक्त भइसक्छ । त्यसैले स्वस्थ मासुको लागि वध गर्ने तरिका पनि सही हुनु जरुरी छ, पशुपंक्षीलाई कम पीडा हुनेगरी वध गरियो भने मासु विषाक्त हुन पाउँदैन ।

भण्डारण

माछा, मासु पौष्टिक दृष्टिकोणले हाम्रो लागि जति फाइदाकर छ, सूक्ष्म जीवको लागि पनि त्यति नै फाइदाकर हुन्छ । हाम्रो वरिपरि, हावामा तथा पशुपंक्षीको शरीरमा धेरै मात्रामा सूक्ष्म जीवाणुहरू हुन्छन् । । त्यस्ता जीवाणुले सजिलै मासुलाई संक्रमण गर्न सक्छन् र छिटो कुहिन्छ । अझ फोहोर ठाउँमा काटेको छ, राम्ररी तापक्रम मिलाएर राखेको छैन भने मासु झनै छिटो कुहिन्छ ।

जब पशुपक्षीको हत्या गर्छौं, तब त्यसलाई राम्ररी भण्डारण गर्दैनौं । हामीकहाँ फ्रोजन गरिएको मासु खाने प्रचलन त्यति छैन । पशुपंक्षी काटेर, मारेर त्यसलाई सही ढंगले भण्डारण गरिंदैन । यस क्रममा मासुमा ब्याक्टेरिया पैदा हुन्छ । कुहिने प्रक्रियामा जान्छ, त्यो सिनो जस्तै हुन पुग्छ ।

त्यसैले मासुलाई भण्डारण गर्दा पनि ध्यान दिनुपर्छ । मासुलाई भण्डारण गर्दा फ्रिजमा पाँच डिग्री सेल्सियसभन्दा तलको तापक्रममा राख्नुपर्छ । पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्दा मासुमा सूक्ष्म जीवाणु हुर्कन पाउँदैन ।

पकाउने विधि

मासुको धेरै फ्राइ गरेको, तारेको तथा भुटेको जस्ता परिकार सकभर नखाएको राम्रो हो । मासुका यस्ता परिकारले शरीरमा बोसोको मात्रा बढाउने भएकाले मासुका परिकार सन्तुलित रूपमा खानुपर्छ ।

चिल्लो कम हालेर पकाएर झोलिलो किसिमका मासु खानु उचित हुन्छ । मासु पकाउँदा कम्तीमा १४५ डिग्री फरेनहाइटमा पकाइयो भने सबै ब्याक्टेरिया नष्ट हुन्छन् । उसिनेको मासु खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । कम चिल्लो पिरो राखेर तथा उसिनेर मासु खाँदा त्यसमा भएको पोषक तत्त्व पनि नष्ट हुँदैन ।

फ्रोजन मासु पकाउँदै छौं भने मासुमा भएको आइसलाई पग्लिन दिनुपर्छ । पगाल्न सफा भाँडोमा राखेर आधा घण्टा छोडिदिने वा तातो पानीमा दुईदेखि तीन मिनेट राखेर आइस पगालेर मात्र पकाएर खानुपर्छ ।

आलो मासु खानु राम्रो कि फ्रोजन ?

स्वादको हिसाबले आलो मासु मीठो भएपनि स्वास्थ्यको हिसाबले भने फ्रोजन गरेको मासु खानु नै राम्रो हुन्छ । आलो मासुमा सूक्ष्म जीवाणु सक्रिय हुन्छन्, जसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने जोखिम हुन्छ । त्यसैले स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने आलोभन्दा फ्रोजन मासु खानु राम्रो हो । तर मासुलाई लामो समय फ्रोजन गर्नु पनि उचित होइन, लामो समय फ्रोजन गरेर राख्दा त्यसको स्वादमा परिवर्तन आउन सक्छ ।

  • ३ बैशाख २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech