विश्व मुख स्वास्थ्य दिवस: दाँत तथा मुखलाई कसरी सफा राख्ने?

    • डा प्रकाश बुढाथोकी/कन्सल्टेन्ट डेन्टल सर्जन

  • ६ चैत्र २०७९, सोमबार

‘मुख स्वास्थ्यमा गर्व गरौँ’ भन्ने नाराका साथ विश्वभर आज मुख स्वास्थ्य दिवस मनाइँदैछ। विगतमा हेर्दा दाँत तथा मुख स्वास्थ्यका क्षेत्रमा जनचेतना विकास नभएको देखिन्छ। योजनाहरू पनि नबनेका र भएका योजनाहरू पनि कार्यान्वयन भएनन्। जनतासँगै नीति निर्माणमा बसेकाहरूलाई मुख स्वास्थ्यको महत्त्वको बारेमा चेतना बढाउन विश्व मुख स्वास्थ्य दिवस मनाउन थालिएको हो। मुख स्वास्थ्यमा गर्व गरौँ भन्नुको अर्थ मुखको स्वास्थ्यको महत्त्व बुझौँ भन्न खोजिएको हो। ओठदेखि भित्र हामीले पानी खाँदा घाँटीको कलकल गर्नेसम्मको भागलाई मुख भनिन्छ। त्यो बिचमा पर्ने दाँत, गिजा, भित्री गाला, भित्री ओठ,तालु, जिब्रो, च्यापु सबै चिज मुख भित्र पर्छन्। यसको साथसाथै मुख खोल्न या बन्द गर्ने जोर्नी पनि मुख स्वास्थ्यमा पर्छ।

मुख शरीरको प्रवेशद्वार हो। हामीले जे खानेकुरा पनि मुखबाटै खाने हो। त्यस कारण मुखको स्वास्थ्यले हाम्रो अन्य अङ्गको स्वास्थ्यलाई पनि प्रभाव पार्छ। किनकि हामीले फोहोर मुखबाट खाएको खाना खाँदा फोहोर सँगसँगै भित्र गयो भने कलेजो, मिर्गौला, दिमाग सबैलाई नराम्रो असर गर्छ रोग लाग्छ। मुख शरीरको ऐना पनि हो। हामी नेपालीहरूमा केही कारणले गर्दा काम गर्न नसक्ने भयो वा विस्तारमै लड्नुपर्ने स्थिति भयो भने मात्रै आफूलाई बिरामी भएको सोच्छौँ। हामी नियमित स्वास्थ्य परीक्षण नगराउने हुनाले शरीरमा भएका रोग समेत थाहा हुँदैन। त्यी रोगहरू शरीर भित्रै लुकी रहेको हुन्छ।

नियमित रूपमा हामीले दाँत तथा मुखको परीक्षण गराउने बानी बसाल्यौँ भने दाँतमा परेको असर, गालामा परेको असर, ओठमा देखिएको घाउले पनि तपाईँको शरीरमा रोग छ की छैन भन्ने जानकारी दिन्छ। जस्तै, कुनै मानिसमा दादुरा आउँदै छ भने उसको गालामा घाउ देखिन्छ, त्यसले उसलाई दुई तिन भित्र शरीर भरी घाउ आउँछ ज्वरो आउँछ भन्ने सूचकको रूपमा जानकारी दिन्छ। मुखबाट फलफूलको जस्तो गन्ध आयो भने मधुमेह भएको हुनसक्छ, मुखबाट एमोनिया ग्यासको जस्तो गन्ध आयो भने मिर्गौलासम्बन्धि समस्या भएको हुन सक्छ। त्योसँगै कुनै मानिसले कलेजोसम्बन्धी रोग भएर औषधि खाईरहेको छ तर रोग नियन्त्रण भएको छैन भने मुखबाट बिग्रेको अण्डाको जस्तो गन्ध आउँछ। यी सबै कारणले गर्दा शरीरका प्रत्येक अङ्ग स्वस्थ छन् की छैनन् भन्ने कुरा मुख स्वास्थ्यसँग जोडिन्छ।

मुखको स्वास्थ्यमा समयको निकै महत्त्व हुन्छ। यदि तपाईंको दाँत किराले खाएको छ र समयमै उपचार भएनन् भने किराले खाएको ठाउँमा पिप जम्मा हुँदा च्यापु सुन्निएर, सास फेर्न नसक्ने, खान नसक्नेसम्मको अवस्था आउन सक्छ। गिजासम्बन्धी समस्या छ भने हड्डी कमजोर हुने,श्वासप्रश्वास सम्बन्धी रोग, मुटुसम्बन्धी रोग, मधुमेह जस्तो रोगहरू समेत देखिने गरेको छ। प्राकृतिक या कृत्रिम दाँत धारिलो छ र समयमै उपचार गरिएन भने, मद्यपान धूम्रपान गर्ने बानी छ भने त्यसले मुखको क्यान्सर निम्त्याउन सक्छ। त्यसकारण समयमै मुख स्वास्थ्यको उपचार गरियो भने उक्त समस्याबाट निम्त्याउने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ।

जहाँ फोहोर त्यहाँ रोग भनिन्छ, त्यस कारण दाँत तथा मुखलाई सफा राख्नुपर्छ। दाँत तथा मुखको सरसफाइमा ध्यान दिनुपर्‍यो। जस बेला अलि बढी फोहोर गर्छौँ, जस्तो बिहानको खाना र साँझको खाना खाइसकेपछि नरम ब्रसले फ्लोराइड भएको मन्जन प्रयोग गरेर दाँतका सम्पूर्ण सतहहरू सफा गर्ने गर्नुपर्छ। दुई दाँतबीचको भागलाई डेन्टल फ्लसले सफा गर्नुपर्छ। अन्य समयमा केही खानेकुरा पिउँदा या खाने बित्तिकै सफा पानीले दाँत कुल्ला गर्ने बानी बसाल्नु पर्छ। त्यसो गर्नाले लगभग ८० देखि ८५ प्रतिशत दाँत तथा मुखमा आउने समस्याहरू र रोगहरूलाई रोक्न सकिन्छ। यसको साथसाथै खानेकुरामा पनि नियन्त्रण गर्नु पर्छ। खानेकुरा मुखबाटै खाने हो भन्दैमा जिब्रोको लागि भन्दा पनि स्वास्थ्यको लागि सोचेर खानु पर्छ। त्यस कारणले धूम्रपान, मद्यपान, अति अमिलो, अति पिरो, अति गुलियो, अति साह्रो, अति टाँसिने चिजहरूबाट टाढा बस्नुपर्छ। हरियो सागसब्जी,रेसादार खानेकुरा, दूध या दूधजन्य पदार्थ, मौसमी फलफूलहरू खाने गर्नुपर्छ। गुलियोसँग भरसक टाढा रहनु पर्छ, अझै विशेष गरी टाँसिने, चप्किने र प्रशोधन गरिएको गुलियो पदार्थले दाँत तथा गिजालाई असर गर्छ।

हामीले नियमित रूपमा दाँत तथा गिजाको परीक्षण गर्ने बानी बसाल्नु पर्छ। तपाईंले सरसफाइ गरिरहनु भएको छ,खानेकुराको नियन्त्रण गरिरहनु भएको छ तर त्यी चिजहरू सही तरिकाले प्रयोग गर्नु भएको छ की छैन भन्ने कुरा पनि निकै महत्त्वपूर्ण कुरा हो। जस्तो ब्रसले दाँत सही तरिकाले माझ्नु भएको छ की छैन भन्ने कुरा समेत नियमित दाँत परीक्षणमा चिकित्सकले थाहा पाउँछन्। त्यस कारण हरेक छ/छ महिनामा नियमित दाँत परीक्षण गर्ने बानी बसाल्नु पर्छ। त्यो बानीले हामीले प्रयोग गरिरहेको तरिका ठिक की बेठिक भन्ने छुट्टिने भयो, कुनै अर्को रोग लाग्दै रहेछ भने सुरुकै अवस्थामा थाहा हुने भो। त्यस कारण नियमित रूपमा दाँत वा मुख स्वास्थ्यको परीक्षण गराउने बानी बसालौँ।

दिनमा १४४० मिनेट हुन्छ। त्यो १४४० मिनेटमा बिहान खाना खाइसकेपछि ३ मिनेट र बेलुका खाना खाएर सुत्नु अगाडी ३ मिनेट गरेर दिनमा ६ मिनेट ध्यान दिएर दाँत र जिब्रो सफा गरियो भने लगभग ९० देखि ९५ प्रतिशत दाँत तथा मुखका रोगहरू रोक्न सकिन्छ। यदि टाँसिने गुलियो खानु भयो भने पनि तुरुन्तै ब्रस गर्ने या कुल्ला गर्ने हो भने त्यसले दाँतलाई असर गर्दैन। हरेक दिन कम्तीमा ६ मिनेट दाँत तथा मुखको स्वास्थ्यमा ध्यान दिनुभयो भने कम्तीमा ९५ प्रतिशत समस्या र रोगको जोखिम कम हुन्छ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech