रेबिजको उपस्थिति गाउँघरतिर बढ्दै ? कहाँ चुक्दै छौँ ?

    • डा.शेरबहादुर पुन

  • १४ फाल्गुन २०७९, आईतवार

विगतमा रेबिजको खोप सहज थिएन । उपलब्ध खोप नाइटो वरिपरि लगाउने गरिन्थ्यो । त्यस खोपको साइड इफेक्ट बढी हुन्थ्यो । निश्चित ठाउँमा मात्र लगाउनुपर्ने बाध्यताले गर्दा धेरै सङ्क्रमितले रेबिजबाट मृत्युवरण गर्नुपर्ने बाध्यता थियो ।

झन्डै दुई दशकअगाडिको तथ्याङ्क हेर्ने हो भने औसतमा टेकु अस्पतालमा रेबिजले मर्नेको सङ्ख्या १६–१८ देखिन्थ्यो । हाल रेबिजविरुद्धको खोप सर्वसुलभ छ । तर पनि रेबिज लागेर मृत्यु हुनेको सङ्ख्या घट्नुको सट्टामा सङ्ख्यात्मक रूपले बढ्दो नै देखिन्छ । यो बढ्दो सङ्ख्या÷क्रम अधिकांश सहरबाहिरका गाउँघरतिर नै देखिन्छ । रेबिजविरुद्धको खोप हाल देशभरि उपलब्ध र सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क हुँदाहुँदै पनि रेबिजबाट मृत्युवरण गर्नुपर्नेको सङ्ख्या गाउँघरतिर बढ्दो किन ? कहाँ चुक्दै छौँ ?

लेखकले आफ्नो अनुभवबाट रेबिज किन बढिरहेको छ भन्ने विश्लेषणसहितको लेखहरू विगतदेखि नै प्रकाशित गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि गर्नेछ । यी लेखहरू प्रत्यक्ष रेबिज लागेका बिरामी वा बिरामीका आफन्तबाट जानकारी लिँदै केस रिपोर्टका रूपमा विश्लेषण गर्दै लेखिएका छन् । यी लेखहरूमा लेखकले समाजमा रेबिजप्रतिको वास्तविक बुझाइ र भ्रम कस्ता छन् भनेर वर्णन र उजागर गरेका छन् ।

वास्तवमा रेबिज उन्मूलनको लक्ष्य प्राप्त गर्न समुदायमा रेबिजलाई हेर्ने दृष्टिकोणको राम्रो विश्लेषण र जानकारी हुनु अति जरुरी हुन्छ । तिनै विश्लेषणबाट प्राप्त समस्या र नतिजाको आधारमा समाधान खोज्नुपर्दछ ।  केही दिनअगाडि प्युठानबाट एक जना ३४ वर्षीय युवक रेबिज लागेर टेकु अस्पताल आइपुगेका थिए । सडक कुकुरले टाउकोमा टोक्दा डेढ महिनामा नै (औसतभन्दा छोटो समयमा) रेबिज देखियो । थप उपचारका लागि काठमाडौँ आइपुगेका थिए ।
रेबिज बिरामीलाई परिवारका सदस्य तथा आफन्तहरूले तुरुन्त अस्पताल गई खोप लगाउन सुझाएका र अझ दबाबसमेत दिएका थिए । काठमाडौँ जाने यातायातको प्रबन्धसमेत मिलाएका थिए । तर बिरामीले मानेनन्, बेवास्ता गरे । बरु गाउँघरमा उपलब्ध जडीबुटीप्रति बढी भरोसार विश्वास गरेको एक आफन्तले लेखकलाई बताएका थिए ।
तर रेबिज रोक्न हालसम्म रेबिजविरुद्धको खोप मात्र निर्विकल्प उपाय मानिन्छ । यो घटनाले पनि सहरबाहिर रेबिजप्रतिको धारणको प्रतिविम्ब गर्दछ । यो एउटा प्रतिनिधि घटना मात्र हो । तर लेखकसँग दर्जनौँ केश अनुभवहरू छन् । माथि उल्लेखित बिरामीले खोप लगाउन किन मानेन वा नलगाउने वातावरण कसरी बन्यो (खोप नपाएर, गलत परामर्श आदि) भन्ने प्रश्नहरू एकदमै सघन र सोचनीय देखिन्छ । यस्ता अनुत्तरित प्रश्नहरूको सम्बोधन गर्नु अति जरुरी छ ।
रेबिज सहरमा शून्य छ भन्न खोजिएको भने होइन । केही महिनाअगाडि काठमाडौँमा एक व्यक्तिको खुट्टामा कुकुरले सानो घाउ बनाइदिँदा नजिकै औषधि पसलमा खोपको आवश्यक नरहेको भनी टिटानसको मात्र खोप लगाई दिँदा सो व्यक्तिले रेबिजको कारणले मृत्युवरण गर्नुपरेको थियो । टिटानस खोप लगाएपछि रेबिजबाट बचिन्छ भन्ने धेरैको धारणा रहेको पाइन्छ, जुन एकदमै गलत छ ।
पशु चिकित्सकहरूको अनुभवहरूलाई आधार मान्ने हो भने सहरमा पनि रेबिजको भाइरस व्याप्त छ । तर सहरमा अधिकांशलाई जनावरले टोक्ने बित्तिकै नजिकैको औषधि पसलमा पुग्ने, पहिलो खोप लगाउने र बाँकी खोप लगाउन अस्पताल आइपुग्ने (अस्पताल जान सल्लाह दिने) गर्दा रेबिज उल्लेखनीय सङ्ख्यामा कमी देखिएको लेखकको निष्कर्ष छ ।
रेबिज भाइरस एक प्राणघातक तर सजिलै खोपको सहायताले रोक्न सकिने जनावरबाट सर्ने सरुवा रोग हो । नेपालमा अधिकांश रेबिज रोग रेबिज सङ्क्रमित कुकुरको टोकाइबाट हुने गरेको देखिन्छ । तर स्याल तथा बिरालोको टोकाइबाट पनि रेबिज लागेको लेखकले देखेको छ । विकसित विदेशहरूमा भने चमेरो तथा र्‍याकुन जस्ता जनावरहरूबाट रेबिज सर्ने गरेको पाइन्छ । नेपालमा चमेरोको टोकाइले रेबिज लागेको आधिकारिक पुष्टि भएको भने देखिँदैन ।
सङ्क्रमण भएको औसतमा २–३ महिनामा रेबिजको लक्षण देखिने भए पनि टोकिएको ठाउँ, गहिराइ, भाइरसको प्रजाति (स्ट्रेन) र भाइरसको भार (कति छिटो वा ढिलो देखिने भन्ने)मा निर्भर गर्दछ । लेखकको अनुभवमा भने सामान्यतः ६–८ महिनामा रेबिज देखिने गरेको छ । रेबिजका लक्षणहरू देखा परिसकेपछि बिरामीको मृत्यु निश्चित प्रायः हुन्छ । तसर्थ खोप जतिसक्दो चाँडो लगाउन सुझाउने गरिन्छ । तर यति घण्टाभित्र नै लगाउनुपर्छ भनेर कुनै समयावधि भने तोकेको हुँदैन र एउटा मात्र खोप लगाउने भन्ने पनि हुँदैन । छालामुनि दुई पाखुरामा लगाउँदा तीन पटक (तीन दिन) र मासुमुनि लगाउँदा चार पटक (चार दिन) खोप लगाउनुपर्दछ । एक पटक लगाइसकेको हो भने बुस्टर (दुई पटक) मात्र लगाए पुग्छ ।

अन्त्यमा खोप विगतमा भन्दा सहज र सर्वसुलभ हुँदै जाँदा पनि रेबिज बिरामीको सङ्ख्या घट्नुको सट्टा झन् झन् बढ्दै जानु आफैँमा चिन्ताको विषय मान्नुपर्दछ । खोप किन, कुन बेला लगाउने भन्ने राम्रो जानकारी नहुँदा र रेबिजसँग जोडिएका अनगन्ती भ्रमहरूलाई नचिरेसम्म रेबिजविरुद्ध पूर्ण विजय पाउन अझै कठिन हुनेछ । विशेष गरेर यस्ता समस्याहरू गाउँघरतिर बढी देखिन्छ । माथि उल्लेखित प्रश्नहरूको सम्बोधन गर्ने जागर अझै पनि नदेखाउने हो भने रेबिज कोभिड जस्तो सतहमा नदेखिए पनि सुषुप्त तरिकाले अझै बढ्दो रूपमा आफ्नो उपस्थितिलाई निरन्तर नदेला भन्न सकिँदैन ।

  • १४ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech