आत्महत्या आवेगमा हुन्छ कि योजनाबद्ध ?

    • स्वास्थ्य पेज

  • २६ कार्तिक २०७९, शनिबार

कुनै पनि मान्छेले आत्महत्या आवेगमा गर्छ वा योजनाबद्ध ? अकस्मात बदलिने मनस्थितिले मान्छेलाई आत्महत्या गर्न उक्साउँछ वा लामो चरणसम्म गुज्रिएका नैराश्यताले ?वास्तवमा यसको ठ्याक्कै जवाफ छैन ।

आत्महत्याको बहुआयामिक पक्ष हुन्छ । सबै आत्महत्या योजनाबद्ध मात्र वा आवेगमा मात्र हुँदैन । केही योजनाबद्ध हुन्छन् भने केही आवेगमा । आत्महत्याको जैविक र मनोसामाजिक प्रभाव हुन्छ ।

कसैको परिवारमा मानसिक रोगको पृष्ठभूमि छ । परिवारको कुनै सदस्यले आत्महत्या गरेको छ भने पनि त्यसको असर पर्न सक्छ । ‘एनटीसोसल पर्सनालिटी’ भएका व्यक्ति र लागुपदार्थ तथा रक्सीजन्य पदार्थको दुव्र्यसन बढी छ भने त्यस्ता व्यक्तिमा आत्महत्याको जैविक प्रभाव बढी हुन्छ ।

मनोसामाजिक प्रभावमा चाहिं अलि सन्की स्वभावको मान्छे जो कुनै कुरा गर्छु भन्यो भने गरेरै छाड्ने खालको । सानो सानो कुरामा रिसाउने, झर्किने किसिमका मनस्थिति भएका व्यक्तिले पनि आत्महत्या गर्ने सम्भावना बढी हुन्छ । विभिन्न किसिमका आर्थिक अवस्था र प्राकृतिक विपद्लाई बहन गर्न नसकेर मर्नुबाहेक अरू विकल्प छैन भनेर आत्महत्या गर्छन् ।

 

प्रायजसो डिप्रेसनमा हुने आत्महत्या योजनाबद्ध हिसाबमा हुन्छन् । म बितेपछि परिवारको बिचल्ली हुन्छ भनेर सम्पत्ति अरूको नाम गरिदिने, आफ्नो छोराछोरीलाई कसैको जिम्मा लगाइदिने, सुसाइड नोट लेखेर छोड्नेले योजनाबद्ध रूपमा आत्महत्या गर्छन् । व्यक्तित्वको समस्या, लागुपदार्थ दुव्र्यसन र ठूलो विपद् आयो भने चाहिं आवेगमा आएर गरेको आत्महत्या हुन सक्छ ।

जब परिस्थिति उसको अनुकूल हुन छोड्छ, उसलाई विभिन्न किसिमका मानसिक रोगका लक्षणहरू देखा पर्न थाल्छन् । जीवन अर्थहीन ठान्न पुग्दा र निराशाको चरम अवस्थामा पुगेपछि आफूलाई हानि गर्ने सोच्न थाल्छ ।

जब मान्छेले बाँच्ने कारण र मर्ने कारण तौलन थाल्छ

आत्महत्याको सोच मान्छेलाई कुनै अप्ठ्यारो परिस्थितिमा आउन सक्छ । सोच आउँदैमा  त्यसलाई ठूलो समस्याको रूपमा लिइँदैन । प्रायः स्वस्थ मान्छेलाई जीवन हानि गर्ने सोच आउँदैन । तर कहिलेकाहीं स्वस्थ मानिसलाई पनि ‘यस्तो जीवन जिउनुभन्दा मर्न पाए हुन्थ्यो’, ‘यस्तो बोझ जिन्दगी जिउनुभन्दा मलाई गाडीले हान्दिए हुन्थ्यो’ जस्ता सोच आउन सक्छ ।

जब मान्छेलाई आत्महत्याको सोच दैनिकजसो आउन थाल्छ, तब उसको मनोसामाजिक अवस्था बिग्रँदै जान्छ । मानसिक रोगको उपचार पनि हुँदैन त्यो बेला आत्महत्याको सोच आउँदै जान्छ । सुरुमा विचारको रूपमा आउँछ, त्यो विचार नियमित आउन थालेपछि उसले त्यो कुरा नजिकको साथीलाई भन्न थाल्यो । रक्सी खाएको बेला म मर्दिन्छु भन्न थाल्यो भने उसले कुनै तरिकाले आत्महत्याको योजना बनाउन थाल्छ ।

डा. सगुनबल्लभ पन्त

एकदमै कडा खालको मानसिक रोगमा त आत्महत्या गर भन्ने किसिमका आवाज पनि उसले सुन्न थाल्छ । मेरो जिन्दगीको कुनै योजना छैन भन्ने भावना मनमा आउँदा उसले आफ्नो जीवनलाई मूल्यहीन ठान्न पुग्छ र उसको मस्तिष्कमा मरुँ कि नमरूँ भनेर चलिरहन्छ । बाँच्ने कारण र मर्ने कारणलाई उसले तौलिन थाल्छ । तब मान्छेले आत्महत्याको लागि महिनौं योजना पनि बनाउन सक्छ ।

हीनताबोधले आफैंलाई हानि

आत्महत्याको सोच पनि अरू सोच जस्तै सामान्य तरिकाले आउँछ । स्वस्थ र सामान्य मान्छे जो आफ्नो जीवनमा खुसी छ, परिवार र कामबाट खुसी छ भने उसमा यस्तो सोच खासै आउँदैन ।

तर जब परिस्थिति उसको अनुकूल हुन छोड्छ, उसलाई विभिन्न किसिमका मानसिक रोगका लक्षणहरू देखा पर्न थाल्छन् । जीवन अर्थहीन ठान्न पुग्दा र निराशाको चरम अवस्थामा पुगेपछि आफूलाई हानि गर्ने सोच्न थाल्छ ।

आफूलाई केही कुरा पनि राम्रो लाग्दैन, निद्रा पनि लाग्दैन, खाना पनि मीठो लाग्दैन, साथीहरूसँग रमाइलो पनि गर्न सक्दैन र अब यस्तो जीवनको केही सार नै छैन भन्ने सोच मनमा आउन थाल्दा उसले आत्महत्या गर्न सक्छ ।

आत्महत्या गर्नुअघि बदलिन्छ मान्छे

आत्महत्याको सोच आएको मान्छे आफैं पनि असामान्य मानसिक अवस्थाबाट गुज्रिरहेको हुन्छ । उसलाई मर्नु मात्र विकल्प हैन नि भन्ने सोच पनि आएको हुन्छ, तर उसले बाटो भने देखिरहेको हुँदैन । यस्तो सोच आएका व्यक्ति अरुसँग घुलमिल नगर्ने, एक्लै बस्न खोज्ने, आफ्नो परिवार र साथीबाट पनि टाढिंदै जान खोज्ने, आफूलाई मन पर्ने कुरामा पनि घुलमिल हुन नचाहने जस्ता व्यवहार देखाउन थाल्छन् ।

आत्महत्याको सोच आएका मानिसले कहिलेकाहीं यस्तो सोच हटाउन लागुपदार्थ तथा मदिराको सेवन गरेको देखिन्छ । आत्महत्याको सोच आएको मान्छेले कुनै न कुनै तरिकाले आफ्नो नजिकको मान्छेसँग सहयोग लिन पनि खोजिरहेको हुन्छ ।

जब सबैबाट टाढिन खोज्छ

आत्महत्याको सोच आइको व्यक्तिको हाउभाउमा परिवर्तन पाउन सकिन्छ । अरु मानिससँग घुलमिल नगर्ने, एक्लै बस्न खोज्ने, आफ्नो परिवार र साथीहरूबाट पनि टाढिंदै जान खोज्ने र आफूलाई मन पर्ने कुरामा पनि रमाउन नसक्ने लक्षण यस्ता व्यक्तिमा देखिन्छ ।

आफ्नो मिल्ने साथीलाई भेटेर ‘ल तिमीलाई धन्यवाद तिमीले मलाई सधैं सहयोग ग¥यौं’ भनेर असामान्य किसिमको धन्यवाद दिने गरेको केस पनि भेटिन्छ ।

महिनौंदेखि पनि बनाउँछन् योजना

आवेगमा हुने आत्महत्या मिनेट, घण्टादेखि एक दिनभित्रमा हुन सक्छ । कम उमेर भएको जवान मान्छे, लागुपदार्थको प्रयोग र व्यक्तित्वको समस्या भएको व्यक्तिमा यस्तो बढी हुन्छ ।

योजनाबद्ध आत्महत्या भने दिन, हप्ता र महिनौंसम्म योजना बनाएर हुन्छ । आत्महत्याको सोचको अवधि यति नै हुन्छ भन्ने छैन, व्यक्तिको व्यक्तित्व, जीवनशैली र उसको मनोसामाजिक अवस्थाले अवधि निर्धारण गर्छ ।

नजिकका साथीसँग गर्न सक्छन् आत्महत्याका कुरा

आफूले आत्महत्या गर्दैछु भनेर उनीहरूले आफ्नो मन मिल्ने साथीसँग मात्र व्यक्त गरेका हुन्छन् । आफ्नो श्रीमान्, श्रीमती, परिवारको नजिकको मान्छे र मिल्ने साथीसँग उनीहरूले यस्तो कुरा व्यक्त गरेका हुन सक्छन् ।

आजभोलि सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढी छ, त्यसैले कतिपयले सामाजिक सञ्जालमा हीनताबोध र निराशाका पोस्ट लेख्ने वा सेयर गर्ने गरेको पनि भेटिन्छ ।

जनचेतना जरुरी

आत्महत्याको सोच आएको मान्छे आफैं भ्रमित हुन्छ । मलाई किन यस्तो सोच आयो ? यो मानसिक रोगको लक्षण हो कि भन्ने उसले बुझेको हुँदैन । सामान्य मान्छेलाई मर्ने सोच आउँदैन । कसैलाई मर्ने सोच आउँछ भने त्यो मानसिक रोगको संकेत हुनसक्छ भन्ने जनचेतना भयो भने आत्महत्या गर्ने सोच आएको व्यक्तिले आफ्नो नजिकको व्यक्तिलाई व्यक्त गर्छ ।

यदि तपाईंसँग आएर कसैले आत्महत्याको बारेमा कुरा ग¥यो भने उसको कुरा पूर्वाग्रह नराखी सुनिदिनुपर्छ । धेरै जनाले उसको कुरालाई राम्ररी नसुनी के सोचेको यस्तो तिमीले मर्नु पर्ने कारण के छ र ? भनेर बेवास्ता गरिदिन्छन् । जसकारण उसले आफ्नो कुरा खुलेर गर्न पाउँदैन । त्यसैले कसैले आएर तपाईंसँग आत्महत्याको कुरा गर्छ भने त्यो कुरालाई गम्भीरतापूर्वक र गोपनीयता राखेर सुनिदिनुपर्छ । तपाईंले उसको कुरा राम्ररी सुनिदिनुभयो मात्र भने पनि उसले केही राहत महसुस गर्छ । त्यसपछि  त्यो साथीलाई सही सहयोग दिन सक्ने व्यक्ति मनोचिकित्सक, मानसिक स्वास्थ्यमा तालिमप्राप्त व्यक्ति वा स्वास्थ्यकर्मीको सम्पर्कमा पु¥याउनुपर्छ । जसले उसलाई सहयोग गरेर उसको सोच बदल्न मद्दत गरोस् ।

बिना कारण जब कुनै सामग्री जोहो गर्न थाल्छन्

आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले बिनाकारण कीटनाशक विषादी, डोरी, हातहतियारको जोहो गर्न सक्छन् । उनीहरू बिनाकारण भीर र पुलहरुमा टहलिरहेको पनि देख्न सकिन्छ ।

अहिले कतिपय युवायुवतीले डाक्टरको सल्लाह बिना औषधिहरुको जोहो गरेर आत्महत्या गर्ने गरेको पनि देखिएको छ ।

रातको समयमा बढी आत्महत्या

आत्महत्याको प्रयास प्रायः कुन समयमा भएको छ भनेर नेपालमा कुनै अध्ययन त भएको छैन, अन्य मुलुकमा गरिएको अध्ययनअनुसार रातको समयमा आत्महत्याका घटना बढी हुने देखिएको छ ।

आत्महत्या गर्ने व्यक्तिले राति रोज्नुको कारण कसैले उद्धार नगरोस् भन्ने सोच राख्नु हो ।  आवेगमा आएर आत्महत्याको कोसिस गर्नेले जुनसुकै समयमा पनि गर्न सक्ने भए, तर योजनाबद्ध रूपमा आत्महत्या गर्नेले चाहिं कसैबाट पनि उद्धार नहुने समय खोजेर आत्महत्या गर्छन् ।

आत्महत्याको सोच आए के गर्ने ?

आत्महत्याको सोच आयो भने मानसिक रोग विशेषज्ञको सम्पर्कमा जानुपर्छ । विशेषज्ञको सल्लाहअनुसार औषधि सेवन तथा परामर्श लिनुपर्छ, जसले आत्महत्याको सोच रहिरहँदैन ।

आत्महत्याको समाचार लेख्दा पनि ध्यान दिनुपर्छ

आत्महत्याको समाचार लेख्दा पनि ख्याल गनुपर्छ । यसमा व्यक्तिको गोपनीयता कायम गर्नुपर्छ, व्यक्तिले कसरी कुन परिस्थितिमा आत्महत्या गरेको भन्ने कुरा खुलाउनु हुँदैन । आत्महत्या गर्ने व्यक्तिको तस्वीर पनि सार्वजनिक रूपमा राख्नु हुँदैन ।

आत्महत्याको समाचार प्रकाशन/प्रसारण गर्नै परे पनि आत्महत्या निवारणको सामग्री पनि प्रकाशित गर्नुपर्छ । आत्महत्या निवारणको लागि हेल्पलाइन ११६६ लाई पनि प्रचार गर्नुपर्छ । आत्महत्याको बहुआयामिक कारण हुन्छ । एउटा मात्र कारण मान्छेले आत्महत्या गर्दैन । त्यसैले आत्महत्याको रिपोर्टिङ पनि जिम्मेवार ढंगले गर्नुपर्छ । यसले पनि आत्महत्याको निवारण गर्न सकिन्छ ।

 

  • २६ कार्तिक २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech