पश्चिम नेपालमा अर्थोपेडिक सुपर स्पेसियालिटी सेवा 

    • डा तिर्थेन्द्र खड्का /वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन

  • २१ भाद्र २०७९, मंगलवार

भेरी अस्पतालको अर्थोपेडिक (हाड जोर्नी ) सेवा पश्चिम नेपाल मै अग्रणी बन्न सफल भएको छ  ।  अत्याधुनिक उपकरण र अनुभबी  शल्य चिकित्सकहरुको निरन्तरको प्रयास तथा योगदानले पश्चिमका जनताहरुको मन जित्न सफल भएको हो । बिक्रम सम्बत १९४७ मा स्थापना भएको भेरी अस्पतालमा २०५० को दशकमा डा विनोद कुमार थापा ( हाल सेवा निवृत्त ) ले हाडजोर्नी सेवा सुरुवात गर्नु भएको थियो । तत्कालीन अवस्थामा न्युन सुबिधाको शल्यकृया कक्षबाट सुरु भएको सेवा हाल बिस्तारित भएको छ ।

पश्चिम नेपालमा हाड जोर्नी सम्बन्धी उपचार प्रणालीमा अत्याधुनिक प्रबिधीको प्रयोग तथा जटिलतम शल्यक्रियाको प्रारम्भ भेरी अस्पतालबाट भएको छ ।

दूरविन प्रविधीबाट घुँडाको लिगामेन्ट पुनःसंरचना (Arthroscopic knee ligament reconstruction / meniscus repair ), हिप तथा घुँडाको पूर्ण जोर्नी प्रत्यारोपण  ( Total joint replacement ), मेरुदन्डको सम्पूर्ण शल्यक्रिया (spine surgery) तथा टुटेको हड्डी जोड्नका निमित्त गरिने बिशेष प्रकृतीका शल्यक्रिया (complex fracture surgery ) को सुबिधा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका जनताहरुले भेरी अस्पतालबाट उपभोग गरी रहनु भएको छ ।

मेरुदन्डको शल्यक्रिया तथा ट्रमा सर्जरी 

भेरी अस्पताल, अर्थोपेडिक बिभाग अन्तर्गत मेरुदन्ड शल्यक्रिया एवम् अन्य जटिल ट्रमा सर्जरीको नेतृत्व डा प्रकाश बहादुर थापाले गर्नुहुन्छ । यस सुपर स्पेसियालिटी सेवा अन्तर्गत निम्न सेवाहरु उपलब्ध छन

१-मेरुदन्डको चोट ( Spinal Injury )

२-घाटी तथा ढाडको नशा दबेको ( prolapsed intervertebral disc )

३-मेरुदन्डको संक्रमण, क्षयरोग

४-मेरुदन्डको आकृती पुनर्निर्माण ( scoliosis surgery )

५-सम्पूर्ण ट्रमा सम्बन्धि जटिल शल्यक्रियाहरु ( Complex fracture surgery )

माथी उल्लेखित सेवाहरुको निमित्त भेरी अस्पतालमा अत्याधुनिक C arm मेशिन तथा  endoscopic disc system उपलब्ध छ । नेपाल सरकारको नीति अनुरुप spinal injury  का बिरामीहरुले रु १ लाख सम्मको उपचार सेवा नि:शुल्क प्राप्त गर्न सक्नु हुन्छ ।

दूरविन प्रबिधी तथा जोर्नी प्रत्यारोपण ( Arthroscopy, Sport medicine and Joint Replacement )

घुडा तथा कुमको जोर्नीको लिगामेन्ट, मेनिस्कस तथा अन्य तन्तुहरुको पुनर्निर्माण दूरविन क्यामेराको प्रयोगले सानो प्वालको सहायताले गरिन्छ । घाउ नहुने तथा दूरविन  प्रयोग हुने हुँदा चाडो निको हुने , संक्रमण नहुने , अस्पतालको बसाइ छोटो हुने र शिघ्र चोट अगाडीको अवस्थामा पुग्न सकिन्छ । काठमाडौं बाहिर  यो प्रबिधी धेरै कम स्थानमा उपलब्ध छ । बिगत ५ बर्षमा करीब ३०० जना बिरामीहरुको दूरविन प्रबिधीद्धारा शल्यक्रिया सम्पन्न भइ सकेको छ । यस बिधामा भेरी अस्पतालमा बिभिन्न अनुसन्धानहरु सम्पन्न भइ प्रतिष्ठित मेडिकल जर्नलहरुमा सो अनुसन्धान प्रकाशित भै सकेको छ ।

जोर्नी प्रत्यारोपण सेवा

पश्चिम नेपालमा यो सेवा भेरी अस्पतालले सुरुवात गरेको हो । जोर्नी प्रत्यारोपन सेवा भेरी अस्पतालमा नियमित रुपमा उपलब्ध छ । कमजोर भएका, बिग्रेर जटिल अवस्थाका जोर्नीलाई परिवर्तन गरि कृत्रिम जोर्नी राख्नुलाई जोर्नीको प्रत्यारोपण भनिन्छ । जोर्नीको अन्तिम भागलाई काटेर फाल्ने वा सफा गरेर त्यसको बाहिर कृत्रिम जोर्नीको इमप्लान्ट राखिन्छ ।  सफल प्रतिष्ठित पछि घुँडा वा हिपको दुखाइ नियन्त्रणमा आउछ । हिडडुल गर्न सहज हुन्छ।

कोभिडकालमा निरन्तर तथा थकाइ विहीन सेवा

२०७६ चैत्र ११ गते नेपाल सरकारले लकडाउन  घोषणा गरे सँगै स्वास्थ प्रणाली अव्यवस्थित बन्न पुग्यो । देश भर नै त्रासको वातावरण थियो । स्वास्थ्यकर्मी तथा आम जनसमुदायमा रोगको प्रकृती बारे अज्ञानता थियो । त्यसकारण बिगतमा सेवा दिइ रहेका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुको पहुँच अबरुद्ध भयो ।

२०७६ चैत ११ गते देखी २०७८ जेष्ठ अन्तिम सम्म भेरी अस्पतालमा अस्वभाविकरुपमा चोट पटक तथा fracture का बिरामीहरुको घुईचो लाग्यो । बिभागका चिकित्सकहरुको निष्ठा, लगनशिलता तथा राष्ट्रप्रतीको कर्तब्यबोधका कारण कुनै पनि बिरामी फर्कनु परेन । सो अवधीमा हरेक दिन हाडजोर्नी शल्यक्रिया भयो र कारीब ३ महिनाको अवधीमा ५०० भन्दा बढी शल्यक्रिया सम्पन्न भए । दोस्रो लकडाउनमा पनि सोही जोश जागर अर्थोपेडिक बिभागले देखायो । Covid कालको कालखण्डमा भेरी अस्पतालले प्रदान गरेको सेवा नेपाल भरी नै स्मरण गर्ने गरिन्छ ।

(वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा तिर्थेन्द्र खड्का भेरी अस्पतालमा कार्यरत रहनुभएको छ । )

  • २१ भाद्र २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech