जोर्नी के कारणले बिग्रन्छ ? कतिको महंगो छ जोर्नी प्रत्यारोपण ?

नेपालगन्जमा जोर्नी प्रत्यारोपण सेवा


    • डा तिर्थेन्द्र खड्का/ बरिष्ठ हाड जोर्नी, अर्थ्रोस्कोपी तथा जोर्नी प्रत्यारोपण बिशेषज्ञ

  • १४ असार २०७९, मंगलवार

जीवन भनेकै गतिशिल हुनु हो । घुडा र नितम्ब ( हिप ) जोर्नी ठीक अवस्थामा भए मात्र गतिशिल हुन सम्भब छ । घुँडा र हिपको जोर्नी खिइएमा हिँडडुल गर्न, बस्न, दैनिक कामहरु गर्न असहज हुन्छ।

जोर्नी केके कारणले बिग्रन्छ ?

१. उमेर अनुसार हड्डीमा परिवर्तन, खिइने, कमजोर हुने प्रकृया

२. बाथ वा बाथ जन्य रोगहरु

३. चोटपटक

४. सङ्क्रमण

५. सिकलसेल रोगी

माथीको अवस्थामा सिधै जोर्नी प्रत्यारोपण गर्ने हो ?

होईन । पहिला जोर्नीको अवस्थाको मुल्याङ्कन गरिन्छ । शुरुमा तौल घटाउने, फिजिओथेरापी गर्ने, औषधी सेवन गर्ने तथा बिभिन्न थरीका सुइहरुको प्रयोग गरिन्छ । सम्पूर्ण उपचार पद्दति अपनाएर अन्तिम अवस्थामा गरिने जटिल प्रकृतीको शल्यकृया हो जोर्नी प्रत्यारोपण ।

जोर्नी प्रत्यारोपण  (Total hip replacement / Total knee replacement )भनेको के हो ?

कमजोर भएका, बिग्रेर जटिल अवस्थाका जोर्नीलाई परिवर्तन गरि कृत्रिम जोर्नी राख्नुलाई जोर्नीको प्रत्यारोपण भनिन्छ । जोर्नीको अन्तिम भागलाई काटेर फाल्ने वा सफा गरेर त्यसको बाहिर कृत्रिम जोर्नीको इमप्लान्ट राखिन्छ ।

शल्यक्रियापछि कत्तिको सहज हुन्छ ?

सफल शल्यकृयापछि घुडा वा हिपको दुखाइ नियन्त्रणमा आउछ । हिडडुल गर्न सहज हुन्छ । तर , प्रत्यारोपण गरिएको जोर्नी बाहेकको भागको समस्यामा परिवर्तन आउदैन ।

कतिको महंगो जोर्नी प्रत्यारोपण ?

जोर्नी प्रत्यारोपण विशिष्टकृत एवम जटिल शल्यकृया हो । बिशेष प्रकारको पश्चात कोठाको खाचो तथा शल्यकृया पूर्व र पश्चात सही मुल्याङ्कन र नियमनको जरुरत हुन्छ । कस्तो र कुन देशमा निर्मित जोर्नी हो भन्ने कुराले पनि मुल्य निर्धारण गर्छ । हामी जोर्नी प्रत्यारोपण सहज र सर्बसुलभ बनाउन दत्त चित्त छौ ।

जोर्नी प्रत्यारोपण नेपालमा कहाँकहाँ उपलब्ध ?

काठमाडौं स्थित केन्द्रिय अस्पतालहरु र नीजि अस्पतालहरुमा यो सेवा उपलब्ध छ । पश्चिम नेपालको हकमा भेरी अस्पताल नेपालगन्जमा यो सेवा नियमित रुपमा सुरु गरिएको छ । छिट्टै नै नीजि अस्पतालहरुमा पनि यो सेवा सुरु गर्दैछौ ।

जोर्नी प्रत्यारोपणको केके जटिलता ?

जोर्नी प्रत्यारोपणको क्रममा केहि जटिलता हुन सक्छन । सङ्क्रमणको जोखिम सबभन्दा ध्यान दिनुपर्ने कुरा हो । करिब २- ५% शल्यकृयामा जटिलता देखिन सक्ने अनुसन्धानहरुले देखाएको छ । जिवनको गुणस्तर राम्रो बनाउन तथा बुवा आमाहरुको मुहारमा हासो ल्याउनको लागी पनि पश्चिम नेपालमा जोर्नी प्रत्यारोपणको बिकास हुन जरुरी छ ।

(बरिष्ठ हाड जोर्नी, अर्थ्रोस्कोपी तथा जोर्नी प्रत्यारोपण बिशेषज्ञ डा खड्का भेरी अस्पताल अर्थोपेडिक विभागका प्रमुख हुनुहुन्छ)

 

  • १४ असार २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech