फैलँदो ‘मंकीपक्स’ भाइरस नेपालसम्म आइपुग्ला ?

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७९, शुक्रबार

हालसम्म पश्चिम तथा मध्य अफ्रिकामा देखिँदै आइरहेको ‘मंकीपक्स’ भाइरस बेलायत, युरोप हुँदै अमेरिकामा पुगिसकेको छ। बेलायतको युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार ‘मंकीपक्स” को पहिलो बिरामी नाइजेरिया देश (अफ्रिकी) भ्रमण गरेको इतिहास थियो। जुन स्वाभाविक पनि मानिन्छ। तर एक पछि अर्को ‘मंकीपक्स’ पुष्टि भएका व्यक्तिको सम्पर्क नत पहिलो ‘मंकीपक्स’ संक्रमितसँग थियो, नत पश्चिम वा मध्य अफ्रिकी मुलुकको भ्रमण गरेको इतिहास नै थियो।

अरु युरोपेली देशहरुमा पनि ‘मंकीपक्स’ संक्रमितहरु देखिने क्रम बढ्दै गइरहेको छ, भने हालै अमेरिकामा पहिलो ‘मंकीपक्स’ संक्रमित पुष्टि भएको छ। सो संक्रमित क्यानाडाबाट फर्किएको थियो। तर त्यहाँ ‘मंकीपक्स’ संक्रमितसँग सम्पर्क थियो/थिएन यकिन भने भइसकेको देखिँदैन। तर क्यानाडामा पनि शंकास्पद ‘मंकीपक्स’ का (तर पुष्टि हुन् बाँकी) बिरामीहरु देखिएको भनिएको छ।

एशियामा भने पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आइपुगेका एक व्यक्तिमा देखिएको थियो। बेलायत तथा अमेरिकामा देखिएका कतिपय संक्रमितहरुको स्रोत थाहा भएको देखिँदैन जुन वैज्ञानिक तथा नीति निर्माताको लागि चाखलाग्दो तर चिन्ताको/ टाउको दुखाईको बिषय बनेको छ।

‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो। यसै कारणले पनि यसको नाम ‘मंकीपक्स’ राखिएको हो। तर मानिसमा भने सन् १९७० मा कंगो देशमा देखिएको थियो। हाल यो भाइरस पश्चिम र मध्य अफ्रिकामा नियमित जस्तो देखिँदै आइरहेको छ। अफ्रिका महादेश बाहिर भने आयातित व्यक्ति अथवा जनावरबाट पुगेको देखिन्छ।

संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’को लक्षणहरु देखिने गर्दछ। शुरुको अवस्थामा भने लक्षणहरु अरु संक्रामक रोगहरुसँग मिल्दोजुल्दो देखिने गर्दछ। ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थिहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन्। यी लक्षणहरु देखिएको १ देखि ३ दिनमा अनुहार तथा शरीरमा बिबिराहरु देखिन थाल्दछ जुन पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै र झर्ने गर्दछन्। बिबिराहरु अनुहार तथा हात-खुट्टा तिर बढी देखिने गर्दछन्। ‘मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ। तर झन्डै दश संक्रमित मध्य एकको भने जटिलताको कारणले मृत्यु हुने गर्दछ। निमोनिया, एनकेफलाईटिस, अन्धोपन यसका जटिलताहरु अन्तर्गत पर्दछन्।

‘मंकीपक्स’ भाइरस मानिसमा संक्रमित जनावरको शरीरबाट निकल्ने तरल पदार्थ अथवा रगतबाट सर्न सक्नेछ।विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो संक्रमण सर्न सक्ने भनिएको छ। मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला वा नाक, मुख, आँखामा भाइरस परे सर्न/संक्रमण गर्न सक्दछ। हाल बेलायतमा देखिएका ‘मंकीपक्स’ संक्रमितहरु मध्य कतिपय गे, बाई सेक्सुअलहरु पनि छन्, जुन सामान्य भने होइन। वैज्ञानिकहरु पनि त्यसकारण अचम्मित भएका छन्। यसले वैज्ञानिक जगतमा तातो बहसलाई जन्माई दिएको छ। यसको विशेष औषधि त छैन तर उपलब्ध एन्टीभाइरल औषधी भने प्रयोग गर्न सकिन्छ। स्मलपक्स विरुद्ध प्रयोग भएको खोपले यो संक्रमण विरुद्ध पनि प्रभावकारी काम गर्न सक्दछ भनिएको छ।

‘मंकीपक्स’ एशिया महादेशको लागि दुर्लब नाम/रोग हो। तर पछिल्लो समय हवाई यातायातको सहज पहुँचले गर्दा अफ्रिकी महादेशमा सिमित जस्तो देखिएको ‘मंकीपक्स’ आगामी दिनहरुमा नआउला/नबढ्ला भन्न सकिदैन।पछिल्लो समय नेपालीहरु पनि रोजगारीको अवसर खोज्दै अफ्रिकी महादेशसम्म पुग्नेको लहर बर्षेनी बढ्दो छ। यो बढ्ने क्रमसंगै नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको जोखिम बढ्दै गइरहेको छ। तसर्थ, हालै पश्चिम तथा मध्य अफ्रिकामा पुगेको हो अथवा हाल संक्रमण फैलिरहेको देशबाट फर्किएको हो र शरीरमा बिबिराहरु देखिएको अवस्था भएमा स्वस्थकर्मीको परामर्श लिनु आवश्यक हुन्छ किनभने त्यो ‘मंकीपक्स’ भाइरसको संक्रमण पनि हुनसक्दछ।

  • ६ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech