एसइइ परीक्षाको तयारीमा रहेका बिद्यार्थीलाई शशी स्वाँरको टिप्सः तनावमुक्त र स्वस्थ बन्नुहोस् !

    • स्वास्थ्य पेज

  • ३० चैत्र २०७८, बुधबार

अहिले परीक्षाको मौसम छ । बिद्यार्थीको ध्यान पढाइमा केन्द्रित छ । कसरी राम्रो नतिजा हासिल गर्ने ? अक्सर बिद्यार्थीको ध्याउन्न यहिं हुने गर्छ । एक हिसावले यो सहि पनि हो । तर, नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको बेला प्रत्युत्पादक हुन सक्छ ।

अझ भन्ने हो भने दुई वर्षदेखि विद्यार्थी परीक्षा नदिएरै कक्षा बढुवा भए । खासगरी एसइइ परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरु मानसिक दवावमा देखिन्छन् । त्यो स्वभाविक पनि हो ।

कोरोना महामारीका कारण कक्षा आठ र कक्षा नौमा परीक्षा नदिएरै उनीहरु कक्षा १० मा पुगे । कक्षा १० मा पनि परीक्षा दिनु पर्दैन्की भन्ने एक किसिमको मनोभावना विद्यार्थीमा रह्यो ।

यही बैशाख ९ गतेबाट एसइइ परीक्षा सुरु हुँदैछ । एसइइ दिने विद्यार्थीहरु मानसिक दवावमा पनि देखिन्छन् । त्यो स्वभाविक पनि हो । किनभने एसइइ भनेको १३ वर्षको अग्नी परीक्षा हो । कोरोना महामारीका कारण विद्यार्थीहरुले सबै कोर्ष अध्ययन गर्न पनि पाएका छैनन् । विद्यार्थीमा एक किसिमको डर, त्रास र भय देखिन्छ । तर यसो भन्दैमा परीक्षालाई हाउगुजीनै सम्झीहाल्नु भने हुँदैन् ।

परीक्षाको बेला तनावमुक्त हुनुपर्छ । पढेको कुरा पुनःस्मरण गर्नुपर्छ । तर, ‘टुप्पि कसेर’, ‘घुँडा धसेर’ किताब घोक्नु सहि बिधी होइन । त्यसैले मानसिकरुपमा आफुलाई बलियो र स्वस्थ राख्नु पर्छ ।

तनावमुक्त हुनुपर्छ

परीक्षाको बेला रातदिन किताव घोक्ने परिपाटी विद्यमान छ । राति अबेरसम्म पढ्ने, बिहान चाडै उठेर फेरी किताव हेर्ने । अभिभावकले पनि यस्तै अपेक्षा गर्छन्, जो बिद्यार्थीको निम्ति बोझिलो बन्न सक्छ । त्यसैले पढेको बखत बेला–बेला बिश्राम लिनुपर्छ । एकछिन बाहिर टहल्ने, खेल्ने वा हल्का मनोरञ्जन लिने गर्नुपर्छ । अझ योग वा प्रणायम गर्न सके सर्बोत्तम हो, यसले मस्तिष्कलाई स्वास्थ्य र चुस्त राख्छ । ध्यान एकाग्र गर्न सहयोग गर्छ ।

स्वास्थ्यको ख्याल गर्ने

परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । त्यसैले परीक्षामा पनि आफ्नो दिनचर्यालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सहि समयमा सुत्ने, उठ्ने खाने तालिका अनुसरण गर्नुपर्छ ।

साथसाथै, ताजा खानेकुरा खाने, पर्याप्त पानी पिउने गर्नुपर्छ । किनभने शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य भइयो भने नै, पढेको कुरा मस्तिष्कले ग्रहण गर्छ । र, त्यसलाई आफुले सरल ढंगमा प्रस्तुत गर्न सकिन्छ ।

तालिका मिलाउने

रातदिन किताव घोक्नु भन्दा एउटा तालिका तयार गरौं । बिहान कति समय पढ्ने वा बेलुकी कति समय पढ्ने रु त्यसको निर्धारण गरौं । त्यही अनुसार पढ्ने तालिका बनाउन सकिन्छ । यसले समय–व्यवस्थापन त राम्ररी हुन्छ नै, पढाईको चाप पनि अनुभव हुँदैन । पढाइको चाप कम हुँदा पढेको कुराहरु स्मरण गर्न सहज हुन्छ ।

लेखेर अध्ययन गर्ने

बालबालिकाहरुमा पाठनै कण्ठस्त पार्ने चलन छ । यो शैली अत्यन्तै बोझिलो हो । त्यसैले सकेसम्म आफुले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने बिधी नै उपयुक्त मानिन्छ र त्यो उपयुक्त पनि हो ।

लेखेको कुरालाई स्मरण गर्न सजिलो हुन्छ । त्यसैले परीक्षाकै शैलीमा प्रश्नोत्तर लेख्ने बिधी अपनाउनु सकिन्छ । यसले गर्दा परीक्षामा लेख्ने अभ्यास पनि हुन्छ र आत्मविश्वास पनि बढ्छ ।

अभिभावकले उत्प्रेरणा दिने

परीक्षाको बेला अभिभावकले सहयोगी भूमिका खेल्नुपर्छ । आफ्ना छोराछोरीमाथि बढी अपेक्षा लाद्ने होइन । उनीहरुलाई नतिजामा केन्द्रित गरेर धेरै अंक ल्याउनुपर्छ भनेर दवाव दिनु हुँदैन । बरु, सहज वातावरण तय गरिदिनुपर्छ, जसले उनीहरुलाई कुनै बोझ महसुष नहोस् । छोराछोरीलाई अरुसँग तुलना गरेर मनोबल गिराउने काम गर्नु हुन्न । बरु, पढ्नका लागि प्रेरित गर्नुपर्छ । छोराछोरीको स्वास्थ्यमा बढी ख्याल राख्नुपर्छ । उनीहरुलाई सुत्ने, उठ्ने तालिका नियमित गराइदिनुपर्छ । खानपानमा पनि सर्तक हुनुपर्छ । परीक्षामा छोराछोरीलाई भरपुर आइरन र प्रोटिनयुक्त खानाको आवश्यक हुन्छ । पानी एवं झोल पदार्थ पनि पुग्दो मात्रामा दिनुपर्छ । छोराछोरीलाई आफुले विना सर्त प्रेम गरिरहेको अनुभूति दिलाउनुपर्छ ।

(स्वाँर, एविसि रेसिडेन्टल, नेपालगन्जकी प्रिन्सिपल हुनुहुन्छ)

  • ३० चैत्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech