हात्तीपाइले रोगविरुद्धको अभियानः बाँकेमा व्यक्तिको उचाइँ अनुसार औषधि खुवाइने, आइभरमेक्टिन औषधि थपियो

    • दुर्गा गौतम

  • २३ फाल्गुन २०७८, सोमबार

नेपालगन्जः बाँकेमा आगामी फागुन २८ गतेदेखि सुरु हुने हात्तीपाइले रोग विरुद्ध तीन वटा औषधि खुवाइने भएको छ । यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोलसँगै यसपटक आइभरमेक्टिन नामक औषधि पनि खुवाउन लागिएको हो ।

यसअघिका औषधिबाट रोग निवारण हुन नसकेनपछि यसपटक आइभरमेक्टिन औषधि थप गरिएको हो । आइभरमेक्टिन औषधि लुतोको उपचारमा पनि प्रयोग गरिन्छ ।

बाँकेमा जिल्लामा ५ लाख ६८ हजार मानिसलाई औषधि दिइने लक्ष्य छ । औषधि खानेले खाइरहने र नखानेले नखाइरहने गरेका कारण ६ वर्ष अघिनै सकिनु पर्ने हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान १२ औं पटक पनि जारी राख्नु पर्ने अवस्था आएको हो ।

यो पटक उचाइको आधारमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम छ । बाँके अझैपनि हात्तिपाइले रोगको जोखिममा रहेकाले बाँकेलाई हात्तीपाइले रोग निवारणमा सहयोग गर्न  आग्रह छ ।

के हो हात्तीपाइले रोग ?

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ। संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ।

हात्तीपाइले रोगको परजीवी मुक्त हुन के गर्ने ?

नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने। तर बाँकेमा अझैपनि औषधि खानेको संख्या कम भएकाले हामी चुनौतिमा नै छौं । त्यसैले १२ औ पटक यो अभियान गर्नु परेको हो ।

हात्तीपाइले रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?

हात्तीपाईले रोगबाट बच्न तीन थरि औषधिहरु प्रयोग गरिन्छ। जुन पूर्णरुपमा सुरक्षित मानिन्छ। यी औषधि दसौं बर्षदेखि विश्वभरी प्रयोग हुँदै आइरहेका छन्। हालसम्म विश्वभर अरबौं मात्रामा र नेपालमा पटकपटक गरी १० करोडभन्दा बढी मात्रामा यी औषधि खाइसकिएको छ। यी औषधिले हातीपाइले रोग लागिसकेकाहरुको उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ।

हातीपाइले रोग विरुद्धको औषधि कस कसले सेवन गर्नु हुँदैन ?

दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन।

हात्तीपाइले रोग विरुद्धको औषधि क–कसले सेवन गर्नु पर्छ ?

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने बाँके जिल्लामा बसोबास गर्ने औषधि सेवन गर्न मिल्ने सबै व्यक्तिले औषधि सेवन गर्नुपर्दछ ।

हात्तीपाइले रोग विरुद्धको औषधि कसले दिन्छ र सेवन गर्नु कहाँ जानुपर्छ ?

आम औषधि सेवन कार्यक्रम लागु भएको बाँके जिल्लामा  तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुले तपाईंको घर नजिकैको बुथमा औषधि खुवाँउछन्। बुथमा छुटेकालाई घरदैलो गरेर पनि खुवाइने छ । त्यसैगरी नजिकको स्वास्थ्य संस्थामा गएरपनि खुवाउन सकिन्छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान दिनुपर्ने केही कुराहरु छन् की ?

यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुको हातीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्छ। ती लक्षणहरु केही घण्टाभित्रमा आफैं हराएर जाने हुन्छ। केहीगरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ।

(गौतम स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकलपर्सन हुनुहुन्छ)

  • २३ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech