यसरी खान सकिन्छ तीजको स्वस्थकर दर

    • डा. रजनी शाह केसी

  • २३ भाद्र २०७८, बुधबार

तीजको अघिल्लो दिन महिलाहरूले खाने दरिलो वा आडिलो भोजनलाई दर भन्‍ने चलन छ । भोलिपल्ट ब्रत बस्‍नुपर्ने भएकाले अघिल्लो दिन मिठो परिकार खाने दिनलाई ‘दर खाने’ दिन भनिन्छ ।

तर, दरका नाममा शरीरले थेग्‍नै नसक्ने गरी खानेकुरा खानुहुन्‍न । त्यसले झाडापखालादेखि पेटमा अनेक स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले आफ्नो शरीरले जति पचाउन सक्छ त्यतिमात्र खानुपर्छ । दर भन्‍ने बित्तिकै मिठो मसिनो खानु पर्छ भन्ने सोच धेरैमा छ ।

त्यसमा पनि बजारिया खाने कुरालाई जोड दिने गरिन्छ । तर, दरमा बजारका खानेकुराभन्दा घरमा बनाइएका खानेकुरा खानु स्वस्थकर हुन्छ । धेरै महिलाहरू तीजमा निराहार ब्रत बस्छन् । यसरी ब्रत बस्‍नुभन्दा पहिला दुग्ध पदार्थहरू जस्तैः दूध, दही, घ्यू जस्ता खानेकुरा खानुपर्छ । यस्ता खानेकुराले शरीरलाई लामो समयसम्म शक्ति दिन्छ । त्यस्तै, आफ्नो रोजाइअनुसारको फलफूल र अन्‍नबाट बनेका विभिन्‍न परिकार पनि बनाएर खान सकिन्छ ।

खासगरी सलादलाई जोड दिनु पर्छ । दरमा धेरै चिल्लो र मरमसला हालेर बनाइएका खानेकुरा खानुहुँदैन । अघिल्लो दिन तेलमा तारेको खानेकुरा खाएर भोलिपल्ट ब्रत बस्दा त्यसले स्वास्थ्यमा असर गर्छ । त्यस्तै, धेरै नुन हालेका खानेकुरा खादा भोलिपल्ट तिर्खा लागेर निराहार ब्रत बस्‍न समस्या हुन्छ ।

विभिन्‍न स्वास्थ्य समस्या भएका र गर्भवती महिलाले भने पहिला आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । उनीहरूले निराहार ब्रत बस्‍ने गल्ती गर्नुहुँदैन । अर्को कुरा, पानी नै नपिएर अर्थात निराहर ब्रत बस्नु हुँदैन् । यसले शरिरमा पानीको मात्रा नहुँदा विभिन्न खाले समस्या निम्त्याउँछ ।

दरको रूपमा बजारिया मिठाइ र खानेकुराहरू पनि खाने चलन छ । मुखको स्वादको लागि खाने यस्ता मिठाइ र खानपानले शरीरलाई पटक्कै फाइदा गर्दैन । त्यस्ता बजारिया बासी र सडेगलेका खानेकुराबाट टाढै बस्‍नुपर्छ । दर भन्‍ने बित्तिकै धेरैको दिमागमा माछामासु आउँछ । तर, माछामासुजन्य परिकार धेरै खाँदा स्वास्थ्यमा समस्या देखिने भएकाले कति मात्रामा खाने विचार पुर्‍याउनुपर्छ ।

हामी कोभिड महामारीको जोखिममै छौं । त्यसैले रमाइलोका नाममा बढी भिडभाड गर्ने काम पनि गर्नु हुँदैन् । सामाजिक दुरी कायम गर्ने, मास्क लगाउनेलगायतका जनस्वास्थ्यका मापदण्डको पनि पालना गरौं । हो, तीज महिलाहरुको ठूलो पर्व हो । उत्साहित भएर मनाउनु पर्छ ।

तर यसो भन्दैमा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु पर्छ । बढी उत्साहित हुँदा त्यसले पार्ने नकारात्मक प्रभावका बारेमा पनि सचेत बनौं । घरमै बसौं र सुरक्षित भएर तीज पर्व मनाऔं ।
हरितालिका तीजको सबैलाई हार्दिक शुभकामना ।

(डा शाह भेरी अस्पताल नेपालगन्जका फिजिसियन हुनुहुन्छ )

  • २३ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech