किन खाने क्वाँटी ?

    • स्वास्थ्य पेज

  • ६ भाद्र २०७८, आईतवार

आज जनैपूर्णिमा अर्थात क्वाँटी खाने दिन। बिहान ब्राह्मणले जपेको डोरो हातमा बाँध्ने, जनै फेर्ने, दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई राखी बाँध्ने र नौ प्रकारका गेडागुडी मिश्रित क्वाँटी खाने गरिन्छ। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । क्वाँटी नेपालीहरूको भान्सामा पाक्ने झोलिलो खानेकुरा हो ।

“क्वाँटि” शब्द नेपाल भाषा अर्थात् नेवा: भाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले “क्वाति” वा “क्वाँटि” को अर्थ तातो सुप भन्ने बुझिन्छ । जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । क्वाँटी पौष्टिक तत्वको खानी मानिन्छ। यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ।

जुन शरीरका लागि आवश्यक तत्व हुन्। केराउ, सिमी, मटर, चना, राजमा, बोडी, भटमास, मुगी, मासलगायत विभिन्न गेडागुडी भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि खान योग्य मानिन्छ। यसरी तयार पारिएको गेडगुडीलाई क्वाँटी भनिन्छ। क्वाँटीबारे सामाजिक, सांस्कृतिक र वैज्ञानिक तथ्य रहेको पाइन्छ। क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ ।

यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ । यसको नियमित सेवनबाट रोग प्रतिरोधात्मक शक्ति बढ्न जान्छ। यसले एसिडिटी तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट छुटकरा गराउँछ। शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गर्छ।

यो खानेकुरा बच्चादेखि वृद्धसम्मका लागि उपयोगी हुन्छ। बच्चाहरूको जाउलोमा पनि मसिनो गरेर क्वाँटी पिसेर खुवाउँदा निकै फाइदा पुग्छ । यसले कुपोषणबाट जोगाउँछ। शरीरमा आवश्यक पौष्टिक तत्वको पूर्ति गराउँछ। वृद्धवृद्धालाई पनि यो खुवाउँदा यसले शरीरमा शक्ति दिन्छ ।

क्वाँटी खानाले वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।

क्वाँटीको सेवनले हुने फाइदाहरु

– कब्जियतको समस्या हटाउँछ
-मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ
-यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ
-रोग प्रतिरोधात्मक शक्ति बढाउछ
-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ
-पाचनशक्तिमा सुधार ल्याउँछ
-पेटमा अनावश्यक वायु बनाउँदैन र शरीरलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ
-सजिलै पाच्य हुन्छ र शरीरलाई मजबुत र तन्दुरुस्ती पनि प्रदान गर्दछ
-रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा गर्छ
-सौन्दर्यमा निखार ल्याउँछ
-तुरुन्तै शक्ति दिन्छ

क्वाँटीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइने भएपनि सबै व्यक्तिका लागि फाइदाजनक नहुन पनि सक्छ । क्वाँटी बढी खाँदा बेफाइदा पनि हुन्छ । शरीरमा प्रोटिनको मात्रा धेरै नै बढेर जाने हुनाले युरिक एसिड बढ्ने सम्भावना रहन्छ ।

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech