खुट्टा झमझमाउँछ ? कतै मधुमेह त भएन ?

    • स्वास्थ्य पेज

  • २ भाद्र २०७८, बुधबार

शरीरमा चिनीको मात्रा आवश्यकता भन्दा बढी छ भने त्यस्तो अवस्थालाई मधुमेह अथवा डाइबेटिज भनिन्छ। यो रोग जो कोहीलाई पनि लाग्न सक्छ भने ४० भन्दा माथिल्लो उमेर समूहमा धेरै देखिने गर्दछ।

यो रोग एक वशांणुगत र अर्को खानपानका कारण लाग्ने गर्दछ। घरपरिवारमा आमाबुवा अथवा कसैलाई मधुमेह छ भने बच्चालाई पनि सर्न सक्छ।

इन्डोक्राइनोलोजिस्ट डाक्टर सुमन बरालकाअनुसार घरपरिवारमा मधुमेह भएका बालबालिकाहरुमा ३० वर्ष पछाडि मधुमेह हुने सम्भावना रहन्छ। त्यसैले बेलाबेलामा मधुमेह जाँच गराउन जरुरी हुन्छ।

त्यस्तै मानिसहरुको दैनिकी, खानपानका कारण पनि यो रोग लाग्न सक्छ। विशेषगरी यो रोग मोटोपना भएका व्यक्तिहरुलाई लाग्छ। शरीरमा बोसोको मात्रा बढ्न थालेपछि रगतमा चिनीको मात्रा बढ्न थाल्छ।

कसरी थाहा पाउने मधुमेह भएको ?

हाल मधुमेहका बिरामीहरु बढ्न थालेका छन्। सहरमा बसोवास गर्ने धनी मानिसलाई लाग्ने रोग भनेर चिनिने यस रोगले न त धनी भन्छ न त गरिब। खानपानमा ध्यान नदिने र व्यायाम नगर्ने हो भने यो रोग जोसुकैलाई लाग्न सक्छ।

धेरैजसो सहरमा बस्ने मानिसहरुमा यो रोग देखिएको छ भने गाउँमा बस्नेलाई कम देखिने गर्छ। यसको कारण खानपान तथा शरीरिक व्यायाम नै हो।

नेपाल मधुमेह संघको तथ्याङ्कअनुसार १४.६ प्रतिशत सहरमा बस्ने २० वर्ष भन्दामाथि उमेरका मानिसमा मधुमेह देखिएको छ, भने गाउँमा २.५ प्रतिशतमा यो रोग देखिएको छ।

हाल देशभरि ८ देखि १० प्रतिशत नयाँ बिरामीहरु चिकित्सकको सल्लाह लिन आउने गरेका छन्।

मधुमेहले हृदयघात गराउने, आँखामा समस्या ल्याउने, कलेजो तथा मृगौला बिगार्ने गर्दछ। यी सबै मधुमेह भएपछि हुने दीर्घरोग हुन्। तर, मधुमेह हुनुभन्दा अगाडि शरीरमा विभिन्न किसिमका लक्षणहरु देखिने बताउँछन् चिकित्सक बराल।

कस्ता लक्षण देखिन्छन् ?

डा बरालकाअनुसार हाल विभिन्न समस्याहरु लिएर बिरामीहरुले सुगर जाँच गराउँदा मधुमेह देखिने गरेको छ। जसका केहि लक्षण निम्न छन्

तौल बढ्ने,

आँखा सुन्निने वा धमिलो हुने,

लामो समयसम्म घाउ– खटिरा निको नहुने

शरीरमा पिलो आउने

खुट्टा झमझमाउने

काखीमा घाउ देखिने

महिलाहरुको पाठेघरको समस्या तथा पाठेघरको मुखको संक्रमण हुने

पुरुषहरुमा पिसाब फेर्ने ठाउँमा घाउ हुने

दाँत सुन्निने वा घाउ हुने

गुप्ताङगमा घाउ हुने

पिसाब बढी लाग्ने

पिडौंला दुख्ने

आँखामा रगत जम्ने

शरीरमा खटिराहरु आउने

यस्ता लक्षणहरु देखिँदा मधुमेह हुनसक्ने भएका कारण बेलैमा जाँच गराउनु पर्दछ। सामान्य लक्षणहरुलाई बेवास्ता गर्दा शरीरमा चिनीको मात्रा बढ्दै जान सक्छ। त्यसैले पनि बेलाबेलामा शरीरमा चिनीको मात्रा जाँच गराउन आवश्यक छ।

  • २ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech