नर्सिङ पेशाप्रतिको मोह, रुचि र अनुभूति

लखतरान परेको शरीर जुरुक्क उठाउँदै फेरी तिनै बिरामीको सेवामा खटाउनु हाम्रो दैनिकी हो ।


    • प्रिति खड्का

  • २६ श्रावण २०७८, मंगलवार

म त्यस्ती भाग्यमानी छोरी हुँ । जसले आफ्नो चाहना र रुचिलाई सार्थकता दिन सके । त्यसमा मेरो अभिभावकहरुको महत्वपूर्ण हात रह्यो । आफ्नो रुचि र चाहनालाई खुम्च्याएर अभिभावकको चाहनालाई पूरा गर्ने मेसोमा धेरै छोराछोरीका गन्तव्य अनिश्चयको भूमरीमा रुमलिएका कथाहरु मैले धेरै पढेकी छु । त्यही भएर भनेकी हुँ म त्यस्ती भाग्यमानी छोरी हुँ जुन चाहना र रुचिलाई मैले आत्मसाथ गर्न पाए ।

सुगम ठाउँमा जन्मिएर म दुर्गम ठाउँमा हुर्किए । बासगढी नगरपालिका २ बर्दियामा आज भन्दा २३ वर्ष अघि कान्छी छोरीको रुपमा म जन्मिए । म भन्दा माथि दुई दिदी हुनुहुन्छ । म भन्दा तल भाई छ । जागिरको शिलशिलामा बुवा रुकुममा बस्नु हुन्थ्यो । बुवा त्यहाँको एउटा विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । बुवा रुकुम भएकाले ममीले मलाई त्यही लैजानुभयो । त्यतिबेला म तीन वर्षकी थिए ।  म त्यही हुर्किए ।

त्यहाँको हावापानी, ढुंगामाटोसँग पौठेजोरी खेल्दै दिनहरु वित्दै गए । उमेरसँगै बढेको चेतनाको स्तरले त्यहाँको जनजीवनबारे बुझ्दै गए । चरम गरिवी, अशिक्षा, अन्धविश्वास, रुढिवादी परम्परा यी सबैको अनुभव गर्दै गए । दुर्गममा रोग, भोक र शोकसँग मानिसहरु कति संघर्ष गर्नु पर्छ त्यो मलाई राम्रोसँग थाहा छ । अझ भन्ने हो भने उपचार अभावमै कैयौंले अकालमा ज्यान गुमाउने गरेका छन् । न स्वास्थ्य चौकी न त स्वास्थ्यकर्मी ।

बिरामी पर्दा पनि सिटामोल नपाएर छट्पटिनु पर्दाको पीडा मलाई बाल्यकालमै बोध भएको थियो । स्वास्थ्य र स्वास्थ्यकर्मीको पहुँचदेखि टाढा भएका यी मानिसहरु बिरामी पर्दा ठूलो धनराशी खर्चिएर डोको नाम्लोबाट उद्दार गरेर शहरका महंगा अस्पताल पु¥याइएका दृष्य अझैपनि मानसपटलमा घुमिरहेका छन् । कतिपयको गन्तव्य मैै प्राण जान्थ्यो त कतिपयको अस्पताल पु¥याए लगत्तै ।

सायद यी यस्तै परिवेशले होला माध्यमिक शिक्षा अध्ययनपछि मेरो मानसपटलमा जवरजस्त नर्स पढ्ने भूत सवार भएको । सुगम ठाउँमा जन्मिएर दुर्गममा बसेर देख्नु परेको पीडा मैले राम्रोसँग महसुस गरेकी थिए । त्यही भएर मेरो रुचि र चाहनाले स्वास्थ्य क्षेत्र रोज्यो । २०६८ सालमा रुकुमबाट एसएलसी उर्तिण गरेपछि उच्च माध्यमिक शिक्षा अध्ययनको औपचारिक बाटो खुल्यो । के पढ्ने ? कहाँ पढ्ने ? मलाई कुनै अन्यौल नै थिएन ।

न त मेरो अभिभावकहरु नै अन्यौलमा हुनुहुन्थ्यो । एसएलसी उर्तिणपछि म नर्स पढ्छु भन्ने कुरा बुवाममीलाई भनिसकेकी थिए । २०६९ सालमा जनकपुर नर्सिङ क्याम्पसमा मैले छात्रवृत्तिमा नाम निकाले । सुरु भयो पिसिएल नर्सिङ कक्षा । पिसिएल सकेपछि २०७३ सालमा काठमाडौंस्थित टेकु अस्पतालमा एक वर्ष ओजिटी गरे । बिरामीको सेवा गर्र्छुु भन्ने भावना मनमा झन जागृत हुँदै गयो ।

नेपाली विषयमा फ्लोरेन्स नाइटिङगेलको जीवनी पढ्दा नर्सप्रतिको मोह अर्थात रुचि झन बढ्दै गयो । जव मैले पिसिएल नर्सिङ पढेर सके त्यसपछि जागिर र पढाईलाई सँगसँगै अगाडि बढाउने योजना बनाए । ठिक त्यतिबेला भेरी अस्पतालमा स्टाफ नर्सको रुपमा काम गर्ने अवसर प्राप्त भयो । त्यतिवेला देखिनै मैले आफ्नो पेशालाई अझ अब्बल बनाउनु पर्र्छ र सकेसम्म बिरामीको सेवा गर्नुपर्छ भन्ने भावना मेरो मनमा पैदा भयो । नर्स बनेर काम गर्ने क्रममा धेरै जटिलताहरु आउँछन्। त्यसलाई पार गर्दै काम गर्नुपर्ने बाध्यता छ नर्सहरुलाई ।

बिरामीहरुलाई हामीले गर्ने हेरचाहले उनीहरुले पाउने नयाँ जीवनले उनीहरुमा खुसिको उमङ्ग छाउनु त स्वभाविकै हो । हामी स्वास्थ्यकर्मीहरु पनि उनीहरुले नयाँ जीवन पाएको देख्दा आफुलाई निकै प्रफुल्लित भएको महसुस गछौं । आफुले उपचार तथा केयर गरेको बिरामी निको भएको हेर्ने चाहना सबै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्र्मीहरुलाई हुन्छ । कतिपय बिरामीहरुको अकल्पनिय मृत्यु हुँदा बिरामीहरुको आफन्तमा पीडा हुनु स्वभाविक हो । तर रातदिन खटेर बिरामीलाई बचाउन नसक्दा हामी स्वास्थ्यकर्मीको समेत मन अमिलो हुन्छ ।

अहिले विश्व परिवेश नै कोभिडको महामारीबाट निकै प्रभावित भएको छ । यस्तो अवस्थामा हामी स्वास्थ्यकर्मीहरुलाई झन चुनौति थपिएको छ । स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्दो छ । बिरामीको चाप बढेसँगै कामको लोड पनि अत्यधिक बढी छ । यस्तो परिवेशमा काम गर्ने हामी नर्सहरु आफ्नो ज्यानको बाजी लगाएर दिनरात भोक तिर्खा नभनी ८-८ घण्टा बिरामीहरुको सेवामा तल्लिन छौं

। पीपीइ भित्र बाफिएको शरीरबाट बगेका पसिनाको प्रवाह नगरी बिरामीको सेवामा अनवरत लागिरहेका छौं । अस्पतालका वेडहरु चर्हादा–चहार्दा खुट्टाहरु लर्वराउँछन् । तर त्यसको पनि हामीलाई कुनै प्रवाह हुँदैन् । कैंयौ दिन र रात खाली पेट र अनिन्द्रामा वितेका छन् । बेडमा पल्टिदा मृत्युसँग जुध्दै गरेका ती बिरामी आँखाभरी आउन थाल्छन् ।

लखतरान परेको शरीर जुरुक्क उठाउँदै फेरी तिनै बिरामीको सेवामा खटाउनु हाम्रो दैनिकी हो । यसरी बिरामीको सेवामा लागिरहँदा कतिपय बिरामीहरुको व्यङ्ग्यात्मतक  आलोचना पनि सुनिन्थ्यो भने कतिपय बिरामीहरुले सेवाको प्रशंसा गर्दै सामाजिक सन्जालमा समेत सकारात्मक प्रतिक्रियाका साथ ‘तपाईहरुले यस्तो महामारीको बेला देखाएको सेवाभावको जति प्रसंशा गरेपनि कम नै हुन्छ, दृश्य रुपमा भगवान नदेखेतापनि अस्पतालका वार्डमा खटिने स्वास्थ्यकर्मी नै साक्षात भगवानको रुप हुन्’ भनेको पनि पाइन्थ्यो ।

आफुले गरेको कामको सम्मान र प्रसंशा गरेको देख्दा हामी स्वास्थ्यकर्मीहरुलाई आफ्नो सेवाप्रति गौरवका साथ लाग्न थप उत्प्रेरणा र हौसला थपिन्थ्यो । कोभिड–१९ को महामारीले आक्रान्त बनाइरहेको यस बिषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा थप जटिलता थपिएको छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरु पनि थप जोखिम मोलेर अग्रभागमा रहेर आफ्नो काममा लागिरहनुपर्ने अनिवार्यता रहन्छ । अझ भन्नु पर्दा यस्तो महामारीको वेला पछि हट्ने छुट यो क्षेत्रमा रही सेवा गर्ने जो कसैलाई पनि छैन र हुनु हुँदैन पनि ।

यस्तो बिषम परिस्थितिमा मृत्युलाई जीवनमा परिणत गर्ने संकल्प लिएर अग्रभागमा खटिँदा खटिँदै पनि निकै धेरै चुनौतीहरुलाई पन्छाउँदै अगाडि बढनुको विकल्प थिएन । वार्र्डमा भर्ना भएका बिरामी निको भएर डिस्चार्ज भई घर जाँदा मिल्ने खुसीले सबै पीडा भुलाएको महसुस हुन्थ्यो र हुन्छ । यही आनन्दले पेशाप्रति थप गौरव लाग्थ्यो । कतिपय क्रिटिकल केशहरुमा आफुले सतप्रतिशत दिँदापनि बिरामीमा जीवन भर्न नसक्दा हुने दुःख हामी स्वास्थ्यकर्मीहरुको लागि सायदै अरु केही हुन सक्ला । कतिपय अवस्थामा हामी स्वास्थ्यकर्मीलाई भएको दुव्र्यवहार, गालीगलौज तथा भौतिक आक्रमणजस्ता चुनौती पनि सामना गर्नुपर्ने अवस्था सिर्जना भयो।

यस्तो बिषम परिस्थितिमा खटिएका स्वास्थ्यकर्मीमाथि भएका यसखालका घटनाले हाम्रो पेशागत जीवनमा केहीबेर तनाव सिर्जना गरायो होला तर उनीहरुको मूल्यांकन अवश्य हुनेछ । जस्तो सुकै अवस्थामा पनि चुनौतीलाई सामाना गर्दै बिरामीको शरीरमा सास भर्न खटिएका हामी नर्सहरुलाई आफ्नो पेशाबाट भाग्न कहिलै मनले मानेन । कामप्रतिको लगाब रहिरह्यो ।

अन्तमाः कोभिड–१९ को महामारीको यो बिषम परिस्थितिमा अग्रपंक्तीमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्ने र सो प्रति उत्प्रेरित गर्नुहुने सबैप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु । यो विषम परिस्थितिमा कामप्रति लाग्न, साथ, सहयोग र हौसला दिनुहुने सबैप्रति नमन छ । अझ आफै पनि सङक्रमित हुँदाहुँदै बिरामीको सेवामा लाग्नुहुने सहकर्मी तथा अस्पताल प्रशासनलगायत सबै–सबै प्रति आभार । आशा छ कोभिड–१९ को महामारीबाट सम्पूर्ण विश्व जगत मानव समुदायले छिट्टै उन्मुक्ति पाउने छन् र हाम्रो जीवन सहजताका साथ अगाडि बढ्ने छ ।

                                   (प्रिति भेरी अस्पतालकी स्टाफ नर्स हुन् )

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech