दैलेखका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

    • स्वास्थ्य पेज

  • १८ आश्विन २०७७, आईतवार

तस्विरः फाइल

समिरमान श्रेष्ठ

नेपालगन्ज १८, असोज ।
प्रादेशिक अस्पताल सुर्खेतको गम्भीर लापरवाही कारण दैलेख नारायण नगरपालिका ८ का ५१ बर्षीय कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु भएको छ । प्रादेशिक अस्पतालले समन्वय र सहकार्य नगरेरै ती संक्रमितलाई हचुँवाको भरमा त्यहाँबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाएको थियो । नीजि स्कारपियोमा शनिवार राती साढे ११ बजे कोहलपुर पुर्याइएका उनको पौने एक बजेमात्र मेडिकल कलेज कोहलपुरको कोभिड वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।

आन्द्रामा प्वाल परेका उनको आइतवार शल्यक्रियाको दौडान दिउँसो १ः ३५ बजे मृत्यु भएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले जानकारी दिनुभयो । योसँगै बाहिरी जिल्लाबाट आइ भर्ना भएर उपचारका क्रममा मृत्यु हुनेको संख्या १० पुगेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । त्यही उपचार सम्भव हुने केसलाई प्रादेशिक अस्पतालले भेन्टिलेटर नभएको भन्दै भर्ना नगरेर रिफर गर्ने गरेको छ । यो केसमा त झन अस्पतालले रिफरको न्यूनतम मापदण्ड समेत पालना गरेको छैन् ।

कोभिडका विरामी रिफर गर्दा कम्तिमा पनि रिफर गरिएको अस्पतालसँग समन्वय गर्नुपर्ने, विरामीको अवस्था, कोरोना पुष्टि भएको मितीसहितको विवरण खुलाएर पठाउनु पर्ने थियो । त्यो केही नदिएर हचुँवाको भरमा विरामी पठाउँदा अस्पताललाई विरामीको व्यवस्थापन गर्न अप्ठ्यारोमात्र परेको छैन् उपचार अभावमै ज्यान गुमाउनु पर्ने अवस्था आएको छ । दैलेखका ती पुरुष राती करिव २ घण्टा अस्पतालको गेटमा छटउटाउन बाध्य भएका थिए ।

विरामी आउन लागेको बारे अस्पताललाई कुनै जानकारी नै थिएन् । जानकारी नहुँदा अस्पतालले तयारी गर्न पाएन् । र, तत्काल उनको उपचार पनि हुन सकेन् । जनशक्ति व्यवस्थापन र तयारी गर्न नै डेढ दुई घण्टा समय लाग्ने अस्पतालले जनाएको छ । ती पुरुष कहिले संक्रमित भएका थिए ? उनलाई अरु समस्या थियो की थिएन् ? थप हिष्ट्री पत्ता लगाउन नसकिएको अस्पतालले जनाएको छ ।

प्रादेशिक अस्पतालका मेसु डा डम्वर खड्काले भने ती विरामीलाई प्रादेशिक अस्पतालले रिफर नगरेको बताउनुभयो । दैलेखको विरामीलाई प्रदेश अस्पतालले रिफर गरेको होइन् उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘दैलेखबाट उनलाई सिधै कोहलपुर लगिएको होला ।’

प्रादेशिक अस्पतालबाट शनिवार रिफर गरिएका दुईवटा विरामीलाई आफैले समन्वय गरेर पठाएको उहाँले बताउनुभयो । त्यही उपचार सम्भव हुने विरामीलाई किन रिफर गरिएको हो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो–‘भेन्टिलेटर सन्चालनको लागि जनशक्तिको अभाव छ । क्रिटिकल केसहरु मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जले हेर्ने भएकाले त्यतै पठाउँदै आएका छौं ।’कोभिड विशेष यो अस्पतालमा ८ वटा भेन्टिलेटर, १५ वटा आईसीयूसहित दुई सय वेड छन् ।

 

  • १८ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech