डाक्टर पत्नीको कोरोना अनुभव, उच्च मनोवलले कोरोना जित्यौं, कोरोना भ्रम होइन्

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७७, शुक्रबार

निशा पुरी थापा

नेपालगन्ज १६, असोज ।
कोरोना भाइरस संक्रमणको महामारी र लकडाउन सुरु भएदेखि नै म खासै घर बाहिर हिडडुल गरिन् । जानै परे पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर जाने गरेकी थिए ।

किनकी म आफै ब्याक्टेरिया, भाइरसकै बारेमा पढेको र बुझेको मान्छे र अरुलाई पनि तीनैको बारेमा पढाउने मान्छे । सजक नहुने त कुरै भएन । यती सजगता र सर्तकता अपनाउँदा अपनाउँदै पनि म भाइरस संक्रमित भए भदौं २७ गते । आफैलाई अलि असजिलो महसुस भयो । हल्का ज्वरो, खोकी, शरिर दुख्ने, नाकले गन्ध थाहा नपाउने, जिब्रोले स्वाद नपाए झै लाग्न थाल्यो । त्यसैदिन कोरोना परीक्षणका लागि स्वाव दिए । भोलीपल्ट भदौ २८ गते कोरोना पुष्टि भयो ।

त्यसपछि आइसोलेसन बसाइ सुरु भयो । माथी उल्लेखित समस्या विस्तारै कम भएपनि पखलाले भने केही दिन मलाई दुख दियो । म स्वयम निडर व्यक्ती हुँ । जीवनमा आउने समस्यालाई समाधानको बाटो देख्ने र खोज्ने आशातित व्यक्ती हुँ । जीवनमा जे परेपनि सहन सक्छु भन्ने मनोवल मसँग छ । त्यही मनोवललाई उच्च राखे र कोरोनासँग लड्ने अठोटका साथ आइसोलेसनमा १४ दिनको बसाई पूरा गरेर पुनः सामान्य जीवनमा फर्किएर आफ्नो नियमित कर्ममा लाग्ने अठोट लिए ।

आफ्नो आत्मबललाई उच्च राखेर आइसोलेसन बसाइ पूरा गर्दै थिए । अचानक श्रीमान प्रकाश थापा (भेरी अस्पताल नेपालगन्जका मेसु) लाई मेरो जस्तै समस्या देखिए । उच्च ज्वरो, शरीर दुख्ने र लगातार सुख्खा खोकी । उहाँले पनि भाइरस संक्रमण भए नभएको टेष्ट गर्नुभयो । रिपोर्ट पोजेटिभ आयो ।

दुईवटा साना छोराहरुमा पनि उस्तै खाले लक्षण चिन्ह देखियो । टेस्ट गराउँदा उनीहरुमा पनि भाइरस संक्रमण पुष्टि भयो । श्रीमानलाई केही दिनसम्म सुधार नै भएन् । उता छोराहरु पनि संक्रमित । त्यतिबेला अलि मन आत्तियो र डर पनि लाग्यो ।

तर आत्मबल ठूलो ओखती रहेछ । हिम्मत र साहस जुटायौं । कोरोनालाई परास्त गर्न सकिन्छ भनेर अठोट गरौं । घरपरिवार, साथीभाई र सबै शुभचिन्तकहरुको कामना, हौसला, साथ र सहयोगको बर्षा भइरह्यो । र, आज कोरोना भाइरस संक्रमणबाट हामी चारैजना मुक्त भएका छौं । कोरोना भाइरसका कारण विरामी हुनु भएका अन्य सम्पूर्णको स्वास्थ्यलाभको कामना ।

मनोबल उच्च राख्नुहोस् अवश्य कोरोनालाई परास्त गर्न सकिन्छ । तर कोरोना केही होईन, भ्रम हो भन्नेहरुलाई म यतीमात्र भन्न चाहान्छु लागेपछि यस्को पीडा थाहा हुन्छ । त्यसैले कोरोनालाई भ्रम भनेर हल्ला नफैलाउ । सजग सर्तकता अपनाउ । कोरोना भाइरस संक्रमण भइहाले उच्च मनोवलका साथ सकारात्मक सोच राखौं ।

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech