डा हरि सापकोटालाई शहिद घोषणा गर्न माग

    • स्वास्थ्य पेज

  • १६ आश्विन २०७७, शुक्रबार

नेपालगन्ज १६, असोज ।
कोरोना भाइरसबाट निधन हुनुभएका  बरिष्ठ चिकित्सक डा हरि सापकोटालाई शहिद घोषणा गर्न चिकित्सकहरुले माग गरेका छन् । आफ्नो सम्पूर्ण उर्जाशील जीवन विरामीको सेवामा खर्चिएका डा सापकोटाको भाइरस संक्रमणबाट विहीबार भेरी अस्पतालमा ५९ बर्षको उमेरमा निधन भएको थियो ।

भेरी अस्पतालले डा सापकोटाको निधनमा शुक्रबार श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । उक्त सभामा बोल्दै बरिष्ठ चिकित्सक श्यामसुन्दर यादवले राज्यले शहिद घोषणा नगरे सापकोटामाथि अन्याय हुने बताउनुभयो । भेरी अस्पतालमा छदा सापकोटासँगै काम गरेका डा यादवले विरामीकै सेवामा खटिएका बेला सापकोटा भाइरस संक्रमणमा परेको र उपचारकै क्रममा निधन भएको भन्दै राज्यले उहाँलाई शहिद घोषणा गर्नुपर्ने बताउनुभयो ।

डा सापकोटालाई शहिद घोषणा गरेर समग्र चिकित्सक र स्वास्थ्यकर्मीहरुको सम्मान गर्न पनि उहाँले माग गर्नुभएको छ । भेरी अस्पतालका सिनियर स्वास्थ्यकर्मी होमनाथ सुवेदीले पनि डा सापकोटालाई शहिद घोषणा गर्न माग गर्नुभयो । स्वास्थ्य सेवामा डा सापकोटाले पुरयाएको योगदान अतुलनिय भएको  उहाँको भनाइ छ ।

श्रद्धाञ्जलीसभामा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, मेसु प्रकाश थापा, बरिष्ठ चिकित्सक संकेत रिसाललगायत भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलगायतको सहभागीता थियो । उनीहरुले डा सापकोटाको तस्विरमा फुल अविर चढाएका थिए । बाँके खजुरा गाउँपालिका ३ निवासी डा सापकोटाको भेरी अस्पतालमा दरवन्दी थियो ।

उहाँ लामो समयदेखि काजमा प्रादेशीक अस्पताल सुर्खेतमा काम गर्दै आउनुभएको थियो । उहाँ ११ औं तहका सरकारी चिकित्सक हुनुहुन्छ । चिफ अर्थोपेडिक सर्जन डा सापकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षती पुगेको छ । उहाँको विहीबार राती अन्त्यष्टि गरिएको छ ।

 

  • १६ आश्विन २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech