कोरोना संक्रमणबाट वडाअध्यक्ष सुर्यबहादुर थारुको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ आश्विन २०७७, बुधबार

नेपालगन्ज ७, असोज ।
बारबर्दिया नगरपालिका-३ का वडाअध्यक्ष सुर्यबहादुर थारुको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । एकसाता अघि भाइरस संक्रमण पुुष्टि भएका ३९ बर्षीय थारुको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जको कोभिड आइसोलेसन वार्डमा आज विहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि थारु २९ गते अस्पताल भर्ना हुनुभएको थियो । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँको त्यसैदिन अस्पतालले स्वाब लिएको थियो । र, ३० गते रिपोर्ट पोजेटिभ आएको थियो । उहाँको दुबै फोक्सोमा निमोनियाको संक्रमण देखिएको उपचारमा संलग्न भेरी अस्पतालका फिजिसियन डा खगेन्द्र जंग शाहले बताउनुभयो ।

थारुलाई अहिले केहीबेरमा बर्दिया लगिदै छ । वडाअध्यक्ष थारुको मृत्यु भएपछि बारबर्दियाका मेयर दुर्गाबहादुर थारुसहितको जनप्रतिनिधिको टोली अस्पताल आइपुगेको छ । मेयर थारुले पिकअप भ्यानमार्फत शव लैजाने तयारी भइरहेको स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । उहाँको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।

भाइरस संक्रमणबाट मृत्यु भएका थारु तत्कालिन सशस्त्र युद्धमा माओवादीका बटालियन कमाण्डर हुनुहुन्थ्यो । सेना समायोजनपछि भने उहाँ त्यहाँबाट बाहिरिएर राजनीतिमा आउनुभएको थियो । वडाअध्यक्ष थारुसँगै बर्दियामा कोराना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

  • ७ आश्विन २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech