नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकाका सवै वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएका छन् । सोमवार वडा नं.८ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएसँगै पालिकाका सबै ९ वटै वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामचन्द्र वलीले जानकारी दिए ।
वडा नं.८ मा खोप लगाउने उमेर समूहका ० देखि १५ महिना उमेर समूहका एक सय जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ७८ जना बालबालिकालाई खोप लगाइएपछि वडालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको उनले बताए । वडा अध्यक्ष शालिकराम डाँगीले बालबालिकालाई विभिन्न रोगबाट जोगाउनका निमित्त खोप महत्वपूर्ण हुने बताए । उनले नवजात शिशु मृत्युदर रोक्न र भविष्यमा हुने विभिन्न रोगहरुको संक्रमणबाट जोगाउन बालबालिकालाई समयमै खोप लगाउनुको विकल्प नभएको धारणा राखेका थिए ।
पालिकामा १ हजार ३९९ जना ० देखि १५ महिना उमेर समूहका बालबालिका रहेका छन् । त्यसैगरी ७९० जना बालबालिका १६ महिनादेखि २३ महिना उमेर समूहका छन् । उनीहरु सबैले पाउनु पर्ने खोप पाइसकेको जनस्वास्थ्य निरीक्षक वली बताउँछन् । ‘खासगरी शिशु जन्मेको १५ महिनाभित्र सबै खोप लगाइसक्नु पर्ने हो वली भन्छन्–‘कारणवश खोप लगाउन छुटेका २३ महिनाभित्रका बालबालिकालाई खोजपडताल गरेर खोप लगाउने काम पूरा भएको छ ।’
उनीहरुलाई विभिन्न १५ वटा रोग विरुद्धको खोप निःशुल्क लगाइएको उनले जानकारी दिए । वडा नंं.१ मा ० देखि १५ महिना उमेर समूहका ११० जना, १६ देखि २३ महिनाभित्रका ५४ जना बालबालिकालाई खोप लगाइएको छ । वडा नंं.२ मा ० देखि १५ महिना उमेर समूहका १६८ जना, १६ देखि २३ महिनाभित्रका १२४ जना, वडा नंं.३ मा ० देखि १५ महिना उमेर समूहका १११ जना, १६ देखि २३ महिनाभित्रका ६७ जना, वडा नंं.४ मा ० देखि १५ महिना उमेर समूहका १७० जना, १६ देखि २३ महिनाभित्रका १०६ जना, वडा नंं.५ मा ० देखि १५ महिना उमेर समूहका १३८ जना, १६ देखि २३ महिनाभित्रका ९५ जना बालबालिकालाई खोप लगाइएको छ ।
त्यसैगरी वडा नंं.६ मा ० देखि १५ महिना उमेर समूहका १६० जना, १६ देखि २३ महिनाभित्रका ९८ जना, वडा नंं.७ मा ० देखि १५ महिना उमेर समूहका ३५६ जना, १६ देखि २३ महिनाभित्रका ११९ जना बालबालिका रहेका छन् । वडा नंं.९ मा भने ० देखि १५ महिना उमेर समूहका ८६ जना, १६ देखि २३ महिनाभित्रका ५० जना बालबालिकाले पूर्ण खोप लगाएको सुनिश्चितता गरिएको जनस्वास्थ्य निरीक्षक वलीले जानकारी दिए । उनका अनुसार सम्पूर्ण वडाहरु पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेकाले अव तत्काल पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिने छ ।