रक्तकोषिकामा पाइने एक प्रकारको प्रोटिनलाई हेमोग्लोबिन भनिन्छ । यसको काम सासमार्फत लिएको अक्सिजनलाई शरीरको सबै भागमा पुर्याउनु हो । तर स्वास्थ्यको ख्याल नराख्दा शरीरमा आवश्यक पर्ने प्रोटिन, भिटामिन र खनिजको मात्रा कम हुन्छ, जसले रगतमा हेमोग्लोबिनको मात्रा पनि कम हुँदै जान्छ । यी तत्व कमी हुँदा मानिसलाई विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ ।
हेमोग्लोबिनको मात्रा कम हुने कारण
हेमोग्लोबिनको मात्रा कम हुनुलाई रक्तअल्पता पनि भनिन्छ । यो आफैंमा कुनै रोग त होइन, तर रोगको संकेत भने हो । हेमोग्लोबिनको कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्छन् ।
आइरन, भिटामिन बी-१२ र फोलिक एसिडको कमी, कुनै दुर्घटनाले रक्तश्राव बढी हुनु, महिलामा महिनावारीको समयमा अत्यधिक रक्तश्राव हुनु, दिसामा रगत जानु, शरीरले पर्याप्त मात्रामा रातो रक्तकोषिका निर्माण गर्न नसक्नु हेमोग्लोबिन कमी भएको लक्षण हो । यस्तै वंशाणुगत कारण पनि हेमोग्लोबिनको कमी हुन सक्छ ।
गर्भ रहेको चार महिनापछि गर्भवतीमा रगतको कमी हुन्छ । यसबेला रक्तअल्पताको पनि समस्या हुने गर्छ । त्यस्तै, बोनम्यारोमा समस्या, शरीरमा रगत फुटाउने रोग, जन्मजात हेमोग्लोबिन कम हुन सक्छ । विशेषगरी वृद्धवृद्धामा आइरन कमी भएको व्यक्तिमा हेमोग्लोबिनको कमी हुने जोखिम हुन्छ ।
यो धेरै अवस्थामा घातक पनि हुन सक्छ । हेमोग्लोबिनको मात्रा कम हुँदा शरीरका विभिन्न भागमा अक्सिजनयुक्त रगत पुर्याउने क्षमतामा ह्रास आउँछ । फलस्वरूप शरीरलाई आवश्यक अक्सिजनको कमी हुन गई श्वासप्रश्वासमा समेत समस्या देखिन सक्छ ।
यसबाहेक अटोइम्युन, कलेजोसम्बन्धी रोग, थाइराइड जस्ता दीर्घकालीन स्वास्थ्य अवस्थाबाट पीडित व्यक्तिमा पनि हेमोग्लोबिनको कमी हुन्छ ।
कति हुनुपर्छ हेमोग्लोबिन ?
मानिस अनुसार हेमोग्लोबिनको स्तर फरक-फरक हुन्छ । यदि परीक्षणमा हेमोग्लोबिनको मात्रा पुरुषमा १३.५ जी/डीएल र महिलाहरूमा १२ जी/डीएल भन्दा कम छ भने यो अवस्था हेमोग्लोबिन कम भएको मानिन्छ । यसको कमीले शरीरमा रगतको मात्रा घट्छ । जसलाई रक्तअल्पता भनिन्छ ।
लक्षण के के हुन्छन् ?
हेमोग्लोबिनको कमी हुँदा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता घट्छ । त्यस्तै कमजोरी महसुस हुने, थकाइ लाग्ने र भर्याङ चढ्दा वा हिंड्दा स्वाँ-स्वाँ हुनेजस्ता समस्या देखिन्छन् । श्वास फुल्ने, महिनावारी हुँदा अत्यधिक रक्तश्राव हुने, रगत नपुगेर अनुहार सेतो भएको जस्तो देखिने समस्या हेमोग्लोबिनको कमी हुँदा हुन्छ ।
पहिचान र उपचार
हेमोग्लोबिनको कमी भएको लक्षण देखिएमा कम्प्लिट ब्लड काउन्ट (सीबीसी) परीक्षण गराएर हेमोग्लोबिनको स्तर थाहा पाउन सकिन्छ । यो आफैंमा रोग नभएकाले कुन रोग लागेर संकेतको रुपमा देखा परेको हो, त्यस रोगको उपचार गरेपछि रक्तअल्पता कम हुँदै आउँछ । जस्तै, पोषणको कमी छ भने त्यसलाई परिपूर्ति गर्ने खानेकुरा खाने, शरीरबाट रगत बगिरहेको छ भने त्यसलाई रोक्ने सम्भावित उपचार गर्ने, बोनम्यारोमा समस्या भएको कारण हो भने सोही अनुसारको उपचार गर्नुपर्ने हुन्छ ।
कसरी बच्ने ?
शरीरमा हेमोग्लोबिनको कमी हुँदा आइरनयुक्त खानेकुरा जस्तै, मासु, हरियो सागसब्जी, ड्राइ फ्रुट्स आहारमा समावेश गर्नुपर्छ । मासु र दूधजन्य पदार्थ भिटामिन बी-१२ को राम्रो स्रोत हुन् । जबकि फलफूल र अन्नमा फोलिक एसिड पाइन्छ । यी सबैको सेवन आवश्यक मात्रा शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोगी मानिन्छ ।
त्यस्तै, महिनावारीको क्रममा अत्यधिक रक्तश्राव हुँदा पनि आइरनको कमी हुन सक्छ । त्यसैले त्यसो समस्या भए रगत परीक्षण गराएर रक्तअल्पता भएको छ कि छैन भनेर थाहा पाउन सकिन्छ ।