गर्मी मौसम र आँखाको समस्या

    • डा आनन्दकुमार शर्मा

  • ७ बैशाख २०८०, बिहीबार

गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको पाइन्छ। प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने गरेको छ।

कन्जन्टेभाइटिस अर्थात् आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ। कन्जन्टेभाइटिसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निन्छ। यसमा आँखाबाट आँसु बग्ने चिप्प्रा लाग्ने परेलीको डिल सुन्निे हुन्छ। जसले गर्दा घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने आदि समस्या हुन्छन्। कन्जन्टेभाइटिस प्रायःजसो ब्याक्टेरिया र भाइरसको संक्रमणले गर्दा हुने गर्दछ।

ब्याक्टेरियल कन्जन्टेभाइटिस आँखा पाक्ने रोग हो। यसमा आँखा रातो भई चिप्प्राले आँखा समेत टालिने गर्दछ। ब्याक्टेरियाको संक्रमणले गर्दा हुने यो रोग प्रायः बालबालिकामा बढी देखिन्छ। यो रोग लागेमा  समयमै अस्पताल गई चिकित्सकको सल्लाह बमोजिम उपचार गराउनु उचित हुन्छ। आँखा चिकित्सकको सल्लाह बिना आँफै औषधि किनी प्रयोग गर्नाले कहिलेकाहिँ आँखामा थप संक्रमण भई अन्धोपन समेत हुने गर्दछ।

भाइरल कन्जन्टेभाइटिस गर्मीयाममा बढीमात्रामा देखिन्छ। योे रोग भाइरसको संक्रमणले गर्दा हुने गर्दछ। यसबाट बालबालिकाहरु बढी प्रभावित हुन्छन्। यसमा आँखाको सबैभन्दा बाहिरी झिल्ली  रातो भई सुन्निन्छ, बढी आँसु बग्ने, चिप्प्रा लाग्ने भई परेलीको डिल सुन्निन्छ। कहिलेकाहिँ  आँखाको नानीमा समेत संक्रमण भई  घाममा आँखा खोल्न गाह्रो हुने, आँखा दुख्ने र धमिलो देखिन्छ। यो रोग एक्कासी देखिने र एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने खालको हुन्छ। केटाकेटीमा कन्जन्टेभाइटिसको अलावा ज्वरो आउने सामान्य रुघा लाग्ने र कहिलेकाहिँ कान मुनिको ग्रन्थी  सुन्निएर दुख्ने समेत गर्छ।

उपचार
कन्जन्टेभाइटिसको उपचार चिकित्सकको सल्लाह बमोजिम गराउनु पर्दछ। ब्याक्टेरीयल कन्जन्टेभाइटिसमा चिप्प्राको जाँच गरी एन्टिबायोटिक प्रयोग गर्नु उचित हुन्छ। भाइरल कन्जन्टेभाइटिसको खास उपचार हु“दैन तर अन्य संक्रमणबाट जोगिन एन्टिबायोटिक प्रयोग गरिन्छ। शितल हुने औषधि तथा कालो चस्माको प्रयोगले पनि केही राहत पुग्छ।

रोगबाट बच्ने उपाय
कन्जन्टेभाइटिसको बिरामीले प्रयोग गरेको औषधि, आँसु पुछेकोे रुमाल र संसर्गबाट सर्ने  हुनाले सकेसम्म बिरामीले प्रयोग गरेको बस्तु प्रयोग गर्नु हु“दैन। सफा पानीले हातमुख धुनु पर्दछ। कन्जन्टेभाइटिसको भएका केटाकेटीहरुलाई स्कुल पठाउनु हु“दैन ताकि अरुलाई नसरोस्। बिरामीसँग सुत्नु पनि हुँदैन।

आँखा चिलाउने रोग
गर्मी मौसममा आँखा चिलाउने रोग पनि बढी मात्रामा देखा पर्दछ।  पहिला आँखा रातो दखिन्छ। मिच्दा झन् रातो बढ्न जान्छ र सामान्य तथा थोरै चिप्प्रा लाग्दछ।  चिप्प्रा, यसलाई एलर्जीक कन्जन्टेभाइटिस भनिन्छ। गर्मी मौसममा धुलो धुँवा बढी  हुने तथा रुखहरुमा फुल फुलेर झर्ने हुनाले पनि एलर्जींको प्रकोप बढी मात्रामा देखा पर्दछ। खासगरी छाला चिलाउने रोग र हाछ्यूँ आइरहने बिरामीलाई यसले बढी असर पार्छ।

गर्मी मौसममा स्कूले केटाकेटीहरुमा र खासगरी पुरुष वर्गमा एक प्रकारको एलर्जीक कन्जन्टेभाइटिस देखिन्छ। यो रोग लागेको बिरामीमा आँखा चिलाउने राता देखिने धागोको त्यान्द्रा जस्तो चिप्प्रा लाग्ने हुन्छ। गर्मी मौसममा धुलो, धुँवा र घामको कारणले गर्दा यो रोगले बढी असर गर्छ। अन्ततः आँखा रातो मैलो ,हेर्दा डरलाग्दो र नानीमा समेत सेतो दाग देखा पर्न थाल्छ। कहिलेकाहिँ नानीमा संक्रमण भई दृष्टीमा समेत गम्भीर असर पर्दछ।

उपचार
एलर्जीक कन्जन्टेभाइटिसको उपचार भनेको रोगबाट बच्ने उपायको अवलम्बन गर्नु नै प्रमुख हो। तथापि, चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गर्न सकिन्छ। ब्याक्टेरीयल संक्रमणमा भने एन्टिबायोटिकको प्रयोग गरिन्छ। आँखा चिलाउने तथा सुख्खा भएमा कृतिम आँसुको प्रयोग गरी शितल र ओसिलो बनाउन सकिन्छ।

सामान्यतया चिसो पानी वा बरफले रुमाल भिजाएर आँखा सेक्नु लाभदायक हुन्छ। एलर्जीक कन्जन्टेभाइटिसबाट पिडित केटाकेटीहरुलाई बढी घाम, धुलो र धुँवाबाट जोगाउनु उपयुक्त हुन्छ। यसको लागि  कालो चस्माको प्रयोग गर्न सकिन्छ। केटाकेटीहरुलाई नियमित चिसो पानीले अनुहार र आँखा धुन सिकाउनु पर्दछ।

एलर्जीक कन्जन्टेभाइटिसको उपचारको लागि फार्मेसीमा विभिन्न किसिमका औषधिहरु उपलब्ध छन्। संभव भएसम्म क्तभचयष्म भ्थभ म्चयउक को प्रयोग नगर्नु बेस हुन्छ।

सुख्खा आँखा  
स्वस्थ आँखा तथा सामान्य दृष्टिको लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्री कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्दछ। आँसुका तीन सतह हुन्छन्: लिपिड सतह, एक्वियस सतह र म्यूकिन सतह। आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न नसक्दा सुख्खा आँखाको समस्या निम्त्याउँछ। साथै गर्मी मौसममा तापक्रम वृद्धि सँगै बढी हुरिबतास चल्ने तथा वायुमण्लमा धुलो, धुँवाको मात्रा बढ्ने हुनाले आँसु चा“ढै वाफ बनेर उडेर जान्छ र आँखा रातो भई पोल्ने र चिलाउने  हुन्छ। अत्यधिक वायुप्रदुषणले गर्दा धुलोका कण तथा रसायन छिरेर नानीमा टाँसिन्छ। जसले गर्दा आँखामा अप्ठेरो महसुस हुन्छ र संक्रमण निम्त्याउँछ। पैदल यात्रु, सडकमा कार्यरत कर्मचारी मोटरसाइकल चालक आदि यो समस्याबाट बढी प्रभावित हुन्छन्।

सुख्खा आँखाका लक्षणहरु
सामान्यतया सुख्खा आँखाको समस्याबाट पिडित व्यक्तिहरुमा निम्न लिखित लक्षणहरु देखा पर्न सक्छन्। ती  हुन्:
—    आँखामा असजिलो महसुस हुनु
—    आँखा पोल्ने तथा दिउ“सोपख रातो देखिने
—    आँखा सुख्खा हुने तथा दुख्ने
—    आँखामा चिप्प्रा लाग्ने र च्यापच्याप हुने
—    आँखा चिम्लिरहन मन पर्ने
—    भान्सामा प्याज काट्दा आँसु नबग्ने
—    आँखामा केही बिजाएको जस्तो महसुस हुने, आदि।

यी लक्षणहरु गर्मी मौसममा  बढी मात्रामा देखिन्छ।
सुख्खा आँखा हुनुको कारणहरु :
—वातावरणीय  समस्या : प्रदुषण तथा तापक्रम वृद्धि
—इलेक्ट्रोनिक उपकरण जस्तै : हिटर, पंखा, एअर कण्डिसनर, कम्प्युटर आदिको लगातार प्रयोग गर्न
—परेलीमा चाया पर्ने समस्या
—गाजल तथा सौन्दर्य सामाग्रीको अत्यधिक प्रयोग
—भिटामिन ‘ए’ को कमी
—बाथको रोग, मधुमेह, थाइराइड सम्बन्धी समस्या आदि
—महिनावारी बन्द हुने, पाठेघरको अपरेशन
—लामो समय सम्म आँखामा विभिन्न औषधिहरुको प्रयोग
—कतिपय मानसिक रोग तथा मुटुको रोग सम्बन्धी औषधिहरुको प्रयोग आदि।

उपचार पद्धती
सर्वप्रथम सुख्खा आँखाको समस्याबाट पिडित बिरामीहरुले आफूले काम गर्ने वातावरणमा परिवर्तन ल्याउन जरुरी छ। टेलिभिजन हेर्दा  वा कम्प्युटरमा काम गर्दा केही समय आराम गर्नु तथा चिसो पानीले मुख धुनु उपयुक्त  हुन्छ। मोटरसाइकलमा हिँड्नेले भाइजर लगाउनु बेश हुन्छ। साथै परेलीको तथा आँसुसित सम्बन्धित ग्रन्थीको समस्याको तथा अन्य रोगको उपचार पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। मुख्यतया सुख्खा आँखाको उपचारको लागि कृतिम आँसु प्रयोग गर्नु बाहेक अर्को विकल्प छैन। साथै आवश्यक मात्रामा पानी तथा झोल पदार्थ पिउनु पर्दछ। घाममा निस्किँदा कालो चस्मा लगाउनु पर्दछ। कतिपय अवस्थामा औषधिको अलावा माइनर अपरेशनको पनि जरुरत पर्दछ। यो समस्याको लामो समय सम्म उपचार गराउनु पर्ने हुनाले चिकित्सकको निगरानीमा उपचार गराउनु उचित हुन्छ।

 

  • ७ बैशाख २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech