बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलेको १२ वर्ष पूरा भइसकेको छ । हात्तीपाइले रोगको उच्च जोखिममा रहेको बाँकेमा सबैले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगरेकै कारण अहिलेसम्म यो अभियान चलिरहेको हो । बाँकेमा गतवर्ष ६८ प्रतिशतले औषधि सेवन गरेका थिए ।
जिल्लामा २०६६ सालदेखि २०७७ सालसम्म ११ बर्ष २ प्रकारका औषधिहरु डिईसि र अबलेन्डाजोल प्रयोग गरिएकोमा २०७८ बाट भने ३ प्रकारका औषधिहरु डिईसि, अबलेन्डाजोल र इभरमेट्रिन आमऔषधि खुवाउन सुरु गरिएको छ । २ प्रकारका औषधिलगातार ५ वर्षसम्म र ३ थरिका औषधि निरन्तर २ वर्षसम्म कम्तिमा ८० प्रतिशत लक्षित जनसंख्याले खाएमा मात्र हात्तिपाईले रोग निवारण गर्न सकिन्छ । तर त्यो अवस्था विगतमा नरहेका कारण अहिले १३ औं पटक औषधि खुवाउने अभियान सुरु गरिँदै छ ।
बाँकेका ८ वटा पालिकाका ८१ वटै वडामा यही फागुन ११ गते बाट २८ दिन सम्म यो अभियान चल्नेछ । स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेबिकाहरु मार्फत २ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई औषधि प्रयोग गर्न नहुने क्लिनिकल अवस्थाका ब्यक्ती बाहेकका लक्षित जनसंख्या ६ लाख १६ हजार ६९५ जनालाई औषधि खुवाउने लक्ष्य छ ।
हात्तीपाइले (फाइलेरिया) रोग के हो र यो कसरी लाग्दछ ?
हात्तीपाईले (फाईलेरिया) रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा असक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविबाट संक्रमण भए पछि लाग्छ । क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजीविहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्दछ ।
संक्रमण गराउने यस्ता परजीबिहरु तीन प्रकारका हुन्छन् ।
क. उचेरेरिया बाँन्क्रोटी (Wuchereriabancrofti)
ख. ब्रुजियामलायी (Brugiamalayi)
ग. ब्रुजिया टिमोरी (Brugiatimori)
नेपालमा हात्तीपाईले (फाईलेरिया) रोग उचेरेरिया बाँन्क्रोटी नामको परजीविद्वारा मात्र लाग्ने गरेको पाइएको छ ।
हात्तिपाईले रोग सर्ने तरिका
क्यूलेक्स जातको संक्रमित पोथी लामखुट्टे (फाईलेरिया परजीविबाट संक्रमित भएका) ले मान्छेलाई टोक्दा यसको मुख र सुँढ (प्रोबोसिस) मा रहेको संक्रामक स्टेजको (तेश्रो अवस्थाको) लार्भा परजीवि मानिसको छाला भित्रप्रवेश गरि शरीरको लिम्फनलीहरूमा पुग्दछ । यी लार्भा परजीवि लिम्फनलीमा विस्तारै बयस्क अवस्थामा विकसित हुन थाल्दछन् । र, यिनीहरूको उपस्थितिले गर्दा लिम्फनलीहरूमा लिम्फबग्ने कार्यमा अबरोध उत्पन्न हुने गर्दछ । यसैको कारणले सो ठाउँ वरीपरी सुन्निने हुन्छ । यस्तो अवस्था शरीरका विभिन्न भागहरूमा हुन सक्ने भएतापनि खुट्टामा र यौनाङ्गमा बढी हुने गरेको देखिएको छ । समय बित्दै जाँदा खुट्टा हात्तीको पाइला जस्तै भएर जाने भएको कारणले यस लाई हात्तीपाईले समेत भनिन्छ ।
संक्रमण भए देखि रोग देखा पर्न लाग्ने समय
पहिलो संक्रमण (लामखुट्टेको टोकाईबाट) भएदेखि शरिरमा परजीविवयस्क भै भाले परजीविसंग संसर्ग पछि उत्पादन भएका बच्चाहरु (माइक्रोफाइलेरीया) ब्यक्तीको रगतमा देखिन कम्तिमा नौ महिना लाग्दछ । परजीविको आयु औसतमा ४–६ वर्षको हुन्छ तर यिनीहरू १५–२० वर्ष सम्म पनिबाँच्न सक्छन ।
रोग सर्ने तरिका समय
नेपालमा क्युलेक्स लामखुट्टेले निरोगीमा माईक्रोफाईलेरिया लार्भा सार्दछ । यसको परजिबि लामखुट्टेमा १४ दिन सम्म रहन सक्छ भने मानिसमा यसको लार्भा १ बर्ष सम्म बाँच्न सक्छ । संक्रमित लामखुट्टेले टोक्दा आफूमा भएको परजीविबाट स्वस्थ मानिसलाई रोग सार्दछ । लार्भा परजीवि मानिसको लिम्फनलीभित्र रही वयस्क अवस्थामा विकसित हुन्छ । स्वस्थ लामखुट्टेले मानिसलाई टोक्दा मानिसको रगतमा रहेका परजीविकाबच्चाहरु (माइक्रोफाइलेरीया) बाट लामखुट्टे संक्रमितहुन पुग्छ । वयस्कवस्थाका पोथी परजीविले बच्चाहरु (माइक्रोफाइलेरीया) उत्पादन गर्दछन् र रगतको संचार संगै शरीरका अन्यभागमा पुग्छन ।
चिन्ह लक्षणहरु
सबै जसो संक्रमित मानिसहरुमा कुनै पनि किसिमको लक्षण देखिदैन ।
संक्रमित मानिसको रातिको रक्तनमुना
लक्षण नदेखिने अवस्था
सबैजसो संक्रमित मानिसहरूमा कुनै पनि किसिमको लक्षण देखिदैन ।
संक्रमित मानिसको रातीको रक्तनमुना संकलनगरि जाँच गरिएमा रगतमा परजीवि देखिन सक्छ
भिडियो एक्स–रे गरेर हेर्दा lymph vessel फैलिएको र बयस्कजुकाहरूको झुप्पाहरू देखिन सक्छ ।
हात्तीपाइले (फाईलेररया) रोगको लक्षण तथा चिन्हहरू
१) ज्वरो आउनु, जाडो लाग्नु र शरीरमा कम्पन हुनु,
२) लिम्फनलीहरू सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्साहरू देखिनु,
३) गिर्खाहरूको आकार बढ्नु, दुख्नु
४) पुरुषमा अण्डकोष वरपरका नसाहरू सुन्निनु-दुख्नु,
५) अण्डकोष ठूलो हुनु÷दुख्नु, गिर्खाहरू भेटिनु, पछि हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर
ठूलो हुनु),
६) महिलामा योनी र स्तन सुन्निनु-दुख्नु, स्तनमा गिर्खा आउनु, छ
७) खुट्टा सुनिएर ठूलो आकारको वा हात्तीपाईले हुनु,
९) हात सुन्निनु, पिसाब सेतो वा रातो आउनु
१०) लामो समयसम्म सुख्खा खोकी लागिरहनु, दम बढ्नु, रगतमा इसिनोफिलको मात्रा बढ्नु,
नोट:– यो रोग एक रोगीबाट अर्काेमा सर्ने माध्यमलामखुट्टेको टोकाई नै हो
बयस्क जुका अथवा परजिबी हाम्रो लासिकानली (lymphatic vessels) लाइ क्षति गर्दा यसको कारणले बिरामी तथा चिन्ह लक्षण देखिन्छ ।
यसमा धेरै संक्रमण लक्षण बिनाको हुन्छ, पछि गएर अंग सुन्निने गर्छ ।
केहिमा अन्डकोष, केहीमा खुट्टा, केहीमा हात, केहीमा स्तन र केहीमा अन्य अंगहरु सुन्निने गर्छ ।
हात्तिपाईले रोग निवारण नहुनाका कारणहरु
१)विभिन्न कारणहरु मध्ये एउटा प्रमुख कारण औषधि नखानु
२) खानेले खाइरहने र नखानेले कहिले नखाने
३) आमऔषधि (DA) लागु हुने कुनै पनि जिल्लाको sentinel site र spot check site मा ५
पटक औषधि खानेको प्रतिशत ५०% भन्दा तल रहेको
४) पास हुनको लागि ५ पटक सम्म कम्तिमा ६५% जनसंख्याले खानु पर्दछ (दुइथरिको औषधि सम्बन्धमा)
५) पास हुनको लागि २ पटक सम्मकम्तिमा ८०% जनसंख्याले खानु पर्दछ (तिनथरिको औषधि सम्बन्धमा)
हाल कसले किन औषधि खादैन ?
औषधि खान को–को छुटेका छन् ? किन छुटेका छन् ?
-पुरुष, दैनिकज्यालादारी र मौसमी कामदारहरू
-दीर्घ रोगी र ज्येष्ठ नागरिक
– केहीजातीय समुदाय (विशेषगरी– महिला)
– निरक्षर दलितजनसङ्ख्या
– शिक्षितबर्गका व्यक्तिहरु, शहरी जनसंख्या
– सामाजिक–आर्थिक रूपमाउच्चवर्गका केहीजातीय समुदायहरू, सरकारी कर्मचारीहरू
– प्रति असरको डर
-अभियानको बेला उपस्थित नहुनु, अभियानका बारेमा थाहा नभएको
-औषधि लिनको लागि आफू धेरै वृद्ध वा बिरामी रहेको धारणा
– महिलाहरुको बाहिरी आवतजावतमा सिमितता र निर्णय शक्ति को कमी
-आफुलाई जोखिम छैन भन्ने धारणा
– अवान्छित घटना हुन्छ भन्ने विश्वासका कारण र
– उनीहरुलाई परिवारको व्यक्ति÷ स्वास्थ्यकर्मीले औषधि खान नभनेको कारण
खानुपर्ने तीन प्रकारका औषधिहरु
१) डाइई थाइलकार्बामाजिन चक्की १०० मि.ग्रा. १ टयाब्लेट
२) अल्बेन्डाजोल चक्की ४०० मि.ग्रा.को १ चक्की
३) आईभरमेक्टिन ३ मि.ग्रा.
खान नहुने समुह
१) दुई बर्ष उमेर नपुगेका केटाकेटीहरु
२) गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरु
३) सिकिस्त बिरामीहरु जस्तैः ओछ्यानबाट उठ्न कठिनन वा कमजोर बनाउने शीघ्र वा दीर्घ रोग भएका बिरामीहरू, अस्पतालमा भर्ना भएका, डायलाइसिस जस्ता चिकित्सा बिधिहरुमा जीवननिर्भर हुने बिरामीहरू, मृगी (छारे रोग) भएकावा न्युरोसिस्टाईसर्कोशिसका बिरामी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ बर्ष मुनिका बालबालिकाहरु ।
हात्तिपाईले रोगको निवारणमा ३ प्रकार औषधि किन खानु पर्दछ ?
हात्तिपाईले (फाईलेरिया) रोगको उपचार तथा रोग बाट बच्न र बचाउनकालागि प्रयोग गरिने Ivermectin (गतबर्ष बाट खुवाउन लागीएको चक्कि) DEC (सानो चक्की) र Albendazole (ठुलो चक्की) तिनै प्रकारको चक्की औषधिहरु परजिबी बिरुद्ध काम गर्ने औषधीहरु हुन । एक प्रकारको औषधीमात्र प्रयोग गर्दा त्यसले परजिबि निस्क्रिय नहुन वा नमर्न सक्छ । तर तिनै थरीको औष्धि प्रयोग गर्दा शरिरमा रहेको सबै परजिबिहरुलाई प्रभाबकारी रुपमा नष्ट गरि दिन्छ । यि तीन थरि औषधि लगातार २–३ वर्षसम्म औषधि सेवन गर्ने समुदायमा स्थायी रुपमा परजिबि नष्ट भई रोग निवारण हुन्छ ।
(पुन नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य मशाखामा कार्यरत हुनुहुन्छ)