कुनै पनि व्यक्तिलाई हरेक समय चिन्ता लाग्ने, छटपटी हुने र सानो कुरामा पनि डर लाग्ने हुन्छ भने त्यो एन्जाइटी हुन सक्छ । अस्थायी डर र चिन्ता त सबैमा देख्न सकिन्छ । तर यो लक्षण लगातार देखियो वा बढ्दै गयो भने त्यो एन्जाइटी डिसअर्डर भएको हुनसक्छ । यसले दैनिक जीवन र कार्य गर्ने क्षमतामा प्रभाव पार्छ ।
कसरी हुन्छ एन्जाइटी ?
जीवनमा घटेका कतिपय अप्रत्यासित पीडादायक घटनाले मानिसलाई एन्जाइटीको अवस्थामा पुर्याउन सक्छ । त्यसैगरी वंशाणुगत कारणले पनि एन्जाइटी हुने सम्भावना अत्यधिक हुन्छ । कतिपयलाई विभिन्न शारीरिक रोगले एन्जाइटी बढाउँछ ।
कुनै व्यक्तिलाई लामो समयदेखि मानसिक तनाव तथा चिन्ताले पिरोलिरहेको छ । त्यसको समाधान खोज्न सकेन भने त्यस्ता व्यक्तिलाई पनि एन्जाइटी हुनसक्छ ।
एन्जाइटीको लक्षण मुटुको धड्कन तेज हुनु, निद्रामा समस्या हुनु यसका मुख्य लक्षण हुन् । साथै अनायासै मनमा भय पैदा हुने, छटपटी हुने, कमजोर महसुस हुने, नकारात्मक विचारहरू आउने, टाउको भारी हुने र मुटु दुखेको जस्तो हुने एन्जाइटीका लक्षण हुन् ।
केही व्यक्तिमा हातखुट्टा झमझमाउने, मुटु हल्लिने, निद्रा बिथोलिने, पसिना आउने लक्षण पनि देखा पर्छन् । त्यो उनीहरूमा देखिएको लक्षण पनि एन्जाइटीको नै हो ।
कुन उमेरमा बढी हुन्छ एन्जाइटी ?
२० देखि ३० वर्षको उमेर समूहमा यो समस्या बढी देखिन्छ । बालबच्चामा पनि यस्तो समस्या देखा पर्न सक्छ । ठूला व्यक्तिहरूले त आफ्नो समस्या बताउन सक्छन् । तर बालबालिकाले आफ्नो समस्या खुलेर बताउन सक्दैनन् । त्यसैले बच्चाहरु धेरै डराउँछन्, सानो सानो कुरामा पनि आत्तिन्छन् भने अभिभावकले त्यो कुराको ख्याल गर्नुपर्छ ।
एन्जाइटीले निम्त्याउने जटिलता
लामो समयसम्म एन्जाइटी भयो भने कालान्तरमा डिप्रेसनको समस्या पनि देखिन सक्छ । साथै मधुमेह, उच्च रक्तचापजस्ता रोगका बिरामीमा एन्जाइटी भयो भने त्यो समस्या अरु बढ्न सक्छ । एन्जाइटीले निम्त्याउने अर्को जटिलता दैनिकीमा प्रभाव पार्नु पनि हो । यो समस्या भएका व्यक्तिले कुनै पनि काम राम्ररी ध्यानपूर्वक गर्न सक्दैनन् ।
मूल कारण
एन्जाइटी हुनुको मुख्य कारण तनाव र चिन्ता हो । खानपानको कारणले पनि यस्तो समस्या बढ्न सक्छ । कफी चियाको धेरै सेवन, धुम्रपान, मद्यपान, लागुऔषधको सेवन र धेरै मसला प्रयोग भएका जंक तथा प्याकेट फुडको सेवनले पनि यस्तो समस्या निम्त्याउन भूमिका खेल्छ ।
नेपालमा एन्जाइटीको समस्या बढ्दो क्रममा नै छ । कति प्रतिशतले बढेको छ भनेर कुनै अध्ययन अनुसन्धान त भएको छैन, तर मानसिक अस्पतालमा बिरामीहरूको चाप बढेको आधारमा हेर्ने हो भने एन्जाइटीको समस्या हुनेको संख्या बढ्दो छ ।
महंगी बेरोजगारीजस्ता कारणले गर्दा मान्छेमा तनाव बढ्दो छ । कोरोना र डेंगुजस्ता महामारीको कारणले पनि मानिसहरू त्रासमा छन् । जसले एन्जाइटी हुनेको संख्या पनि बढ्दो छ ।
उपचार
एन्जाइटीको उपचार दुई तरिकाबाट हुन्छ, मनोपरामर्श र औषधिको सेवन । सामान्य एन्जाइटीको बिरामीलाई मनोपरामर्शमार्फत उपचार गर्न सकिन्छ । जटिल खालको एन्जाइटीमा भने औषधि र मनोपरामर्श दुवै प्रकारको उपचार आवश्यक हुन्छ । केहीमा औषधि र केहीमा मनोपरामर्शको विधिबाट यसको उपचार हुन्छ ।
सबै बिरामीहरूमा एन्जाइटीको उपचार एकै प्रकारको भने हुँदैन । केहीमा औषधि र केहीमा मनोपरामर्शबाट पनि उपचार हुन्छ । तर कसैलाई भने मनोपरामर्श र औषधि दुवै उपचार जरुरी हुन्छ ।
एन्जाइटीबाट बच्न के गर्ने ?
खराब जीवनशैली पनि एन्जाइटीको एक मुख्य कारण भएकाले जीवनशैली सुधार्नुपर्छ । पोषिलो र सन्तुलित खानपान, पर्याप्त निद्रा, नियमित व्यायाम, सकारात्मक चिन्तन जरुरी हुन्छ । खासगरी कामको बोझ धेरै हुने व्यक्तिमा एन्जाइटी बढेर जाने जोखिम हुन्छ, त्यस्तो अवस्थामा कामको बोझ घटाउँदै लानुपर्छ ।
एन्जाइटी भएमा मनोपरामर्शदातासँग नियमित परामर्श लिनुपर्छ । यस्तो समस्यालाई कहिल्यै पनि सामान्य ठानेर बस्नु हुँदैन । नत्र यसले गम्भीर समस्या निम्त्याउन सक्छ ।