ठूलो आन्द्राको क्यान्सरबारे जान्नैपर्ने महत्वपूर्ण कुरा

    • डाक्टर अरूण शाही/ओन्कोलोजिस्ट

  • १७ फाल्गुन २०७८, मंगलवार

ठूलो आन्द्राको क्यान्सर भन्नाले ठूलो आन्द्राको कोषिकाहरू अनियन्त्रित भएर विभाजित हुनुलाई जनाउँछ। संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ।

नेपालमा पनि ठूलो आन्द्राको क्यान्सर भएकाहरुको संख्या दिन दिनै बढ्दो छ । विकसित देशहरुमा ठूलो आन्द्राको क्यान्सर निकै सामान्य भइसके पनि नेपालमा यसबारे जनचेतनाको अभावले र समयमा निदान तथा उपचार हुन नसक्दा ठूलो जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ ।

ठूलो आन्द्राको क्यान्सरको सुरूवात आन्द्राको भित्रपट्टिको माथिल्लो तहमा मासुको डल्लो (पोलिप) पलाउनाले हुने गर्छ।

सबै पोलिप सुरूको अवस्थामा हानिकारक हुँदैनन्, तर यि (पोलिप) हरूलाई समयमै पहिचान गरेर निकाल्न सकिएन भने, भविष्यमा यसबाट ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना रहन्छ।

जोखिमका कारण

  • मोटोपना, अल्छी
  • व्यायाम कसरत नगर्ने
  • अत्यधिक मात्रामा धुम्रपान र मध्यपान सेवन गर्ने
  • धुँवामा सेकेको खानेकुरा (सेकुवा, सुकुटी) बढी खाने
  • सागसब्जी कम खाने र रातो मासु बढी खाने
  • प्रशोधीत खानेकुराहरू

अरू केही यस्ता पनि जोखिमका कारण छन् जुन हामीले परिवर्तन गर्न सक्दैनौं। जस्तै बढ्दो उमेर इन्फलामेटी बावेल डिजीज, परिवारमा कसैलाई यस्तो रोग भएको वंशाणुगत कारण छन् भने ठूलो आन्द्रामा क्यान्सरको जोखिम हुने सक्भावना बढेर जान्छ।

यस्तो अवस्थामा होसियार हुन जरूरी छ। उमेर पुगिसकेपछि स्क्रीनिङमा जान जरूरी हुन्छ। स्क्रीनिङ जाँचले समयमै रोगको पहिचान गर्न सहयोग गर्छ। जसले गर्दा रोग समयमा निर्मुल पार्न सकिन्छ।

ययसका लागि निम्न जाँचहरू स्क्रीनिङबाट गर्न सकिन्छ।

  • दिसामा रगतको जाँच
  • दुरबिन प्रयोग बाट ठूलो आन्द्राको जाँच
  • सिटी कोलोनोग्राफी
  • कोलोगार्डद्धारा दिसामा सम्भावित क्यान्सर कोषिकाको डिएनए हेर्न सकिन्छ।

यी जाँचको संवेदनशीलता लगभग ९२ प्रतिशत हुन्छ।

हामी सबैले मान्ने नियमामक संस्था अमेरिकन क्यान्सर सोसाईटीको गाईडलाइन अनुसार ४५ वर्षको उमेरबाट सुरू गरेर सबैले प्रत्येक १० वर्षमा एकचोटि कोलोनोस्कोपी जँच गर्ने।

यसका साथै दिशामा क्यान्सर कोषिकाको डिएनए जाँच ३ वर्षमा एक चोटि गर्न सकिन्छ।

उच्च जोखिमका कारण भएको परिवारका व्यक्तिले कोलोनोस्कपी अथवा अरु स्क्रीनिङका जँच ४५ वर्षको उमेरभन्दा पछि चिकित्सकको परामर्श लिएर गर्न सकिन्छ।

लक्षणहरू

यस बिषयमा ध्यान दिन नसकेका कारण यसले भयाबह रुप लिँदै गएको छ। नेपालभर क्यान्सर परीक्षणको सुविधा नहुनु, उपचारका लागि विषेशज्ञहरुको संख्यामा कमी हुनु र यस रोगबारे अध्ययन अनुसन्धान नहुनु नै यो समस्या बढ्नुका मुख्य कारणहरु हुन्।

ठूलो आन्द्राको क्यान्सर भएमा दिशामा रगत देखिने, नाइटोमुनिको भाग दुख्ने, तौल कम हुँदै जाने, खाना खान मन नलाग्ने,  छिट्टै थकान महसुस हुने,  दिशा ठीक नहुनु  (कहिले पखाला लाग्ने कहिले कब्जीयत हुने) जस्ता लक्षणहरु देखिन्छन् ।

ठूलो आन्द्राको क्यान्सर भएको थाहा पाउन यसका विभिन्न लक्षणहरुको अध्ययनसँगै र जाँचहरु गर्नुपर्दछ ।

  • सुरूको अवस्थामा धेरैजसो मानिसमा यो रोगका केही पनि लक्षण नदेखिनाले सबैको उमेर पुगिसकेपछि स्क्रीनिङ जाँच महत्वपूर्ण मानिन्छ।
  • तर विडम्वना ढिलो अवस्थामा गएर मात्र यो रोगका लक्षण देखा पर्छन्। जस्तै पेट दुख्ने र पेट फुल्ने
  • दिसामा रगत देखिने
  • कहिले पातलो दिसा, कहिल कब्जियत हुने
  • दिसा राम्रोसँग निकास नहुनु
  • विना कारण शरीरको तौल घटनु र अनावश्यक थकान महशुस हुनु।

उपचार

नेपालमा ठूलो आन्द्राको क्यान्सरको जाँच र परीक्षण गर्ने बिषयमा जनचेतना बढाउन र यसवाट बच्ने उपाय अनि यसको उपचारको बारेमा थाहा पाउनु अति नै जरुरी छ। ठूलो आन्द्राको क्यान्सर हुनुअगावै पत्ता लगाउन सकियो भने धेरैको जीवन जोगाउन सकिन्छ।

  • शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापी नै उपचारका मुख्य प्रविधि हुन्।
  • ठूलो आन्द्रको क्यान्सरको स्टेज अनुसारको उपचारका प्रविधि फरक-फरक हुन्छन्।

जोखिमका कारण न्यून गर्ने उपाय
खुशाीको खबर यो छ कि, यदि हामीले हाम्रो जीवनशैलीलाई अनुसाशित र स्वस्थ्य बनाउन सकियो भने धेरै हदसम्म यो रोग लाग्नबाट आफूलाई बचाउन सकिन्छ जसका लागि हामीले निम्न कुरामा ध्यान दिन जरूरी छ।

  • बोसोयुक्त खानेकुरा, रातो मासु, प्रशोधित खाना कम गर्ने
  • फलफूल र सागसब्जी तथा रेसायुक्त खानेकुरा आफ्नो दैनिक खानामा राख्ने।
  • दैनिक शारीरिक कसरत जस्तै योगा, व्यायाम गरी आफ्नो तौल नियन्त्रण गर्ने।
  • मध्यापन र धुम्रपानबाट टाढा बस्ने

अन्त्यमा ठूलो आन्द्राको क्यान्सरलाई यदि हामीले समयमा पहिचान गरी उपचार गर्‍यौं भने यसको निदान शतप्रतिशत सम्भव छ।

त्यसैले आजैदेखि स्वस्थ्य जीवनशैली अपनाएर उमेर पुगिसकेपछि चिकित्सकसँग परामर्श गरि नियमित स्क्रीनिङ जाँच गरौं।

यसो गर्दा हामीले आफू र हाम्रो समाज तथा देशलाई ठूलो आन्द्राको क्यान्सरमुक्त बनाउन सहयोग पुग्छ।

  • १७ फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech