सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखिएको कोरोना भाइरस संक्रमण अर्थात कोभिड–१९ अहिले विश्वभरि नै महामारीका रूपमा फैलिएको छ ।
नयाँ–नयाँ म्युटेन्टकारुपमा यो झन आक्रमक गतिमा फैलिरहेको छ । यस्ता महामारी निश्चित समयका लागि हुने गर्छन् । एकदिन यो पक्कै अन्त्य हुनेछ । तर अहिले भने अन्त्य हुने छनक देखिएको छैन् ।
भाइरसको संक्रमण नफैलियोस् भनेर मानिसहरूको हिँडडुल नियन्त्रण गर्न लकडाउन, निषेधाज्ञालगायतका विधि अपनाइएका छन् । अहिलेपनि नेपालका कैयौं जिल्लामा निषेधाज्ञा कायमै छ । भीडभाड हुने सबै क्षेत्र बन्द गर्ने क्रममा शिक्षण संस्था पनि बन्द छन् । जसका कारण शिक्षा क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ ।
२०७६ साल चैतदेखि बन्द भएका शिक्षण संस्था करिव ९ महिनापछि मंसिर महिनादेखि बल्लतल्ल संचालनमा आउँदै थिए । फेरि दोस्रो लहरको महामारीले चैतदेखि शिक्षण गतिविधि ठप्प पारिदिएको छ । भाइरस महामारीको करिव डेढ वर्ष पुग्नै लाग्दा समेत सरकारले वैकल्पिक कक्षा सञ्चालनको ठोस र प्रभावकारी योजना तथा खाका ल्याएर त्यसलाई कार्यान्वयन गराउन सकेको छैन् ।
सरकारले २०७७ जेठको अन्तिमतिर वैकल्पिक विधिबाट पढाउने गरी सिकाइ सहजीकरण निर्देशिका ल्याएर विद्यालयको पठनपाठन सञ्चालन गर्ने नीति अख्तियारी गरेको छ । त्यसपछि पनि विभिन्न निर्देशिका जारी गरेर वैकल्पिक पठनपाठनलाई निरन्तरता दिन निर्देशन भएका छन । त्यसैगरी, स्थानीय सरकारलाई स्थिति विश्लेषण गरी विद्यालय सञ्चालन गर्ने अधिकार पनि दिइएको थियो ।
यद्यपि, केही निजी विद्यालयले बन्दाबन्दीकै अवधिमा अनलाइन कक्षा सञ्चालन गरेर सिकाइ प्रणालीलाई निरन्तरता दिइरहेका छन् । तर सबै विद्यालय अनलाइनको पहुँचमा छन् त ? विद्यार्थीहरु अनलाइनको दायरामा कति छन् ? ग्रामीण क्षेत्रमा इमेल इन्टरनेटको अवस्था के छ ? भौतिक उपस्थितिमा जस्तै अनलाइन कक्षा प्रभावकारी छ त ? यि यस्ता थुप्रै प्रश्नहरु छन् ।
कोरोना भाइरस महामारीको अहिलेपनि जोखिम कायमै छ । यस्तो अवस्थामा विद्यालय खोल्नु पर्छ भनेर अडान लिनु तर्कसम्मत हुँदैन् । तर अहिले बजार पूर्णरुपमा खुल्ला छ । फनपार्कहरुमा समेत मानिसहरुको चहलपहल सुरु भइसकेको छ । भौतिक दूरी, मास्कको प्रयोगलगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना भएको देखिएको छैन् ।
यस्तो अवस्थामा विद्यालयमात्रै बन्द गरिनु उपयुक्त होइन की झैं लाग्छ । बरु यसका विकल्प खोजिनु पर्छ । जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरेर सिफ्ट–सिफ्टमा कक्षा संचालन गर्नु अहिलेको उपयुक्त विकल्प हो झै पनि लाग्छ । निजी विद्यालयहरुले यसो भन्दा शिक्षा माफियाको कुरा उठ्ने गर्छ ।
स्वास्थ्य भन्दा पढाई कुनैपनि हालतमा ठूलो होइन । तर यसक्षेत्र (नेपालगन्ज) को अवस्था हेर्दा विद्यालयमात्रै कोरोना भाइरस संक्रमण उत्पादन गर्ने थलो हुन् भन्ने बुझाइ चीर्न जरुरी छ ।
विद्यालयको मूल्यांकनलाई सम्मान गरौं
एसइइको नतिजा सार्वजनिक भएको छ । कोरोना भाइरस महामारीका कारण परीक्षा दिएनन् । तर विद्यालयले गरेको मूल्यांकनका आधारमा उनीहरुले प्राप्तअंक प्राप्त गरे । यो शिलशिला दुई वर्षदेखि जारी छ ।
ए ग्रेड लिएका विद्यार्थीले परीक्षा दिएको भए, म त ए पसल ल्याउथे भन्ने सोच आउँछ होला । कसैले म त, ए ग्रेड पनि ल्याउन सक्थेन होला भन्ने पनि लागिरहेको होला । परीक्षाका आ–आफ्नै मूल्यांकन हुने गर्छन् ।
तीन घण्टाको परीक्षाले एक वर्षभरि उसको मूल्यांकन कति सम्भव छ ? त्यो तपाई हामी एकछिन घोत्लिएर सोच्यौं भने स्प्ष्ट हुन्छ । तर हाम्रो मूल्यांकन प्रणाली नै यही बनेको छ । कोरोना भाइरस महामारीका कारण दुई वर्षदेखि विद्यालयले नै विद्यार्थीको मूल्यांकन गर्ने गरेका छन् ।
यो भाइरस संक्रमणले निम्त्याएको विद्यालयको बाध्यात्मक परिस्थिति हो । एसइइको नजिता प्रकाशनपछि सामाजिक संजालमा अहिले विभिन्न खाले प्रतिक्रिया आइरहेका छन् । उहाँहरुको प्रतिक्रिया एकहद सम्म ठिकै हो । तर शिक्षक तथा विद्यालयले गरेको मूल्यांकनप्रति शंका गर्नु आवश्यक छैन् ।
विद्यार्थीको सिकाइको अवस्था हेरेर विद्यालयले नम्वर दिने हो । परीक्षै नदिएर उर्तिण भएका विद्यार्थीका सवालमा जसरी टिप्पणी र प्रतिक्रिया आइरहेका छन् । त्यसले उनीहरुको मनोभावनालाई कमजोर बनाउँछ ।
यस्ता कुरामा अभिभावकहरुले गम्भीर भएर सोच्न जरुरी छ । विपदपूर्ण परिस्थितिमा विद्यार्थीहरुलाई प्रेरित गर्ने हो । उनीहरुलाई उत्साहित बनाउने हो । अहिलेको परिस्थितिमा यस्तो वातावरण अभिभावकहरुबाटै हुुनुपर्छ ।
त्यसैले विद्यार्थीका सवालमा लेख्दै गर्दा उसलाई पार्ने प्रभावबारे पनि सोच्नु पर्छ । अन्तमा, एसइइ उर्तिण सम्पूर्ण विद्यार्थीलाई बधाइ तथा उज्ज्वल भविष्यको शुभकामना ।
(स्वाँर, एविसि रेसिडेन्टल, नेपालगन्जकी प्रिन्सिपल हुनुहुन्छ)