काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्माले पशुपति चौलागाईं अस्पताल चरिकोटको स्थलगत अनुगमन र निरीक्षण गरेकी छन् । अनुगमनका क्रममा मन्त्री शर्माले अस्पतालको भौतिक पूर्वाधार, उपलब्ध जनशक्ति र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएकी थिईन् ।
सो अवसरमा अस्पताल प्रशासनले संस्थाको वर्तमान अवस्था, बिरामीहरूको बढ्दो चाप तथा कार्यसम्पादनका क्रममा देखिएका प्रशासनिक र प्राविधिक चुनौतीबारे जानकारी गराएको थियो । साथै उपस्थित सरोकारवालाहरूले जिल्लाको समग्र स्वास्थ्य सेवाको अवस्थाबारे पनि विवरण प्रस्तुत गरेका थिए ।

अनुगमनका क्रममा मन्त्री शर्मा
मन्त्री शर्माले स्वास्थ्य सेवा प्रवाहमा संलग्न प्रदेश सरकार र स्थानीय सरकारका स्वास्थ्य संस्थाहरूको प्रयासको प्रशंसा गर्दै तीनै तहबीचको समन्वय अझ प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याएको बताईएको छ ।
कार्यक्रममा स्थानीय, प्रदेश र संघीय तहबीचको समन्वय, आधारभूत स्वास्थ्य सेवा सञ्चालन, स्वास्थ्य बीमा कार्यक्रमका समस्या, डायलाइसिस सेवा तथा चिकित्सक र स्वास्थ्यकर्मीको टिकाउ व्यवस्थापनसम्बन्धी विषयमा पनि छलफल भएको थियो ।

पशुपति चौलागाईं अस्पताल चरिकोटको स्थलगत अनुगमन र निरीक्षणमा मन्त्री शर्मा लगायत
सो अवसरमा स्थानीय तहका प्रमुख, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, मेडिकल सुपरिन्टेन्डेन्ट र अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।








