नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले बजार अनुगमन थालेको छ । बजारमा खाद्य स्वच्छता र गुणस्तरको अवस्था मापन गर्दै खाद्य सुरक्षा प्रबद्र्धन गर्न बजार अनुमगन थालिएको हो ।
नेपालगन्जउपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिको अगुवाईमा अनुमगन गरिएको हो । पहिलो दिन बिहिबार नेपालगञ्ज १२ सुर्खेतरोडस्थित अन्सारी ट्रेडर्स र वडा नम्बर १२ कै सञ्जीवनी कलेज एण्ड मेडिकल साइन्सेसको उत्तरतर्फ अवस्थित अर्याल ओम तन्दुरी होटल एण्ड लजमा अनुगमन गरिएको उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव एवम् निरीक्षण टोली संयोजक प्रबिण कुमार रानाले जानकारी दिए ।
रानाका अनुसार अन्सारीमा म्याद गुज्रेका खाद्य सामग्री भेटिएको छ भने तन्दुरी होटलमा सरसफाई र स्वच्छताको अवस्था नाजुक देखिएको छ । अन्सारी ट्रेडर्समा अन्दाजी ८ हजार मूल्य बराबरका म्याद गुज्रेका खाद्य सामग्री नष्ट गरिएको छ ।उसलाई म्याद गुज्रेका सामान ‘डिष्पोज’ गर्न निर्देशन दिइएको छ । त्यहाँ ठूलो संख्यामा म्याद गुज्रेको सामान भेटिएको छ ।
अर्याल ओम तन्दुरी होटल एण्ड लजले रंग लगाइएको मासको दाल समेत प्रयोग गरेको पाइएको छ । ओम तन्दुरीलाई सरसफाई र खाद्य स्वच्छताका लागि विशेष निर्देशन दिँदै ‘शील’ गर्ने चेतावनी समेत दिइएको रानाले बताउनुभयो । यस्तै दुबैले नेपालगन्ज उपमहानगरपालिकामा ब्यवसाय दर्ता गरेका छैनन् । ब्यवसाय दर्ताका लागि सात दिनको समय दिइएको छ ।
अनुगमनलाई अब तीब्रताका साथ अघि बढाइने र कैफियत भेटिए कारबाही गरिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । निरीक्षण टोलीमा उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव राना, आर्थिक विकास समिति संयोजक संगिता रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका प्रतिनिधि किरण फयल, राजश्व शाखाका श्याम बहादुर चौधरी, उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष प्रभात कुमार ठकुरी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नगर प्रहरी लगायतको सहभागिता थियो ।








