महिला दिवसमा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविर

    • स्वास्थ्य पेज

  • २४ फाल्गुन २०८२, आईतवार

नेपालगन्जः अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपालगन्जस्थित मेडिसिटी क्लिनिकले आयोजना गरेको दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

दुई दिनसम्म चलेको उक्त शिविरमा विभिन्न ६८ जना महिलाले स्वास्थ्य जाँच तथा परामर्श सेवा प्राप्त गरेका छन् ।

महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने तथा विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको क्लिनिकले जनाएको छ ।

शिविरमा स्तन तथा पेट सम्बन्धी विभिन्न परीक्षणहरू निःशुल्क रूपमा उपलब्ध गराइएको थियो ।

त्यसअन्तर्गत स्तन अल्ट्रासाउन्ड, पेटको अल्ट्रासाउन्ड तथा गर्भावस्थामा भ्रूणको वृद्धि जाँच गरिएको थियो ।

स्वास्थ्य शिविरमा फिटल मेडिसिन विशेषज्ञ डा. ट्विंकल धानुका कानोडिया तथा इन्टरभेन्शनल रेडियोलोजिस्ट डा. रितेश कुमार कानोडियाले सहभागी महिलालाई विशेष परामर्श तथा स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

उनीहरुको विशेषज्ञता र अनुभवका कारण धेरै महिलाले समयमै आवश्यक स्वास्थ्य जाँच तथा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण परामर्श प्राप्त गरेका थिए ।

मेडिसिटी क्लिनिकका प्रबन्ध निर्देशक डा. नितेश कुमार कानोडियाका अनुसार समुदायमा गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता जनस्वास्थ्य उन्मुख कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ ।

क्लिनिकले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहभागी प्रति आभार व्यक्त गरेको छ ।

  • २४ फाल्गुन २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech