नेपालगन्जः चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयको नेपाल चिकित्सक संघले स्वागत गरेको छ ।संघले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अन्य सरकारी कर्मचारीसरह हप्ताको दुई दिन शनिबार र आइतबार सरकारी बिदा दिने निर्णयको स्वागत गरेको हो ।
नेपाल चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ , ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आराम गर्नको लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहिआएको छ।’
विज्ञप्तीमा अझै भनिएको छ, ‘दैनिक २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको अवस्थामा शारीरिक तथा मानसिक तनाव व्यवस्थापन गर्नका लागि अन्य पेशाकर्मीहरुलाई जस्तै पर्याप्त आरामको आवश्यकता रहेकोले सातामा दुई दिन बिदा अपरिहार्य छ।’ उक्त निर्णय हरेक स्वास्थ्य संस्थामा कार्यान्वयन गराउन नेपाल चिकित्सक संघले नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।







