प्रतिभा भण्डारी विरामी भइरहन्थिन्, पछि आफैँ डाक्टर बनिन्

बर्दियाको बढैयाताल–६ मैनापोखर निवासी हुन् डा.प्रतिभा भण्डारी ।


    • प्रियास्मृति ढकाल

  • ५ बैशाख २०८३, शनिबार

नेपालगन्जः बर्दियाको बढैयाताल–६ मैनापोखरमा २०५० सालमा जन्मिएकी हुन् डा. प्रतिभा भण्डारी । उनको परिवार स्वास्थ्य क्षेत्र भन्दा फरक पृष्ठभूमिको थियो । बुवा यदुनन्द भण्डारी बैंकिङ क्षेत्रमा र आमा तारा पराजुली शिक्षण पेशामा । हाम्रो समाजमा प्राय छोराछोरीले बुवाआमाकै पथ पछ्याउने गरेको पाइन्छ । तर प्रतिभाले भने बुवाआमाको पथलाई पन्छ्याइदिन र रोजिन सेतो एप्रोन । शिक्षित र अनुशासित पारिवारिक वातावरणमा हुर्किएकी प्रतिभाको बाल्यकालदेखि नै पढाइप्रतिको लगाव अत्यन्तै लोभलाग्दो थियो । एक जना बहिनी र एक जना भाइसँगै हुर्किदा पनि उनी सधैं कक्षामा उत्कृष्ट विद्यार्थीको रुपमा चिनिन्थिन् । सरकारी विद्यालयमै अध्ययन गरे पनि उनको लगनशीलता र मिहिनतले उनलाई कहिल्यै पछाडि पर्न दिएन ।

श्री शारदा उच्च माध्यामिक विद्यालयबाट २०६४ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्दा उनले आफ्नो शैक्षिक यात्रामा पहिलो ठोस पाइला चालिसकेकी थिइन् । त्यसपछि नेपालगन्ज मोडेल पब्लिक स्कुलबाट २०६६ सालमा प्लस टु पूरा गर्दै उनले आफ्नो लक्ष्य अझ स्पष्ट बनाइन्—डाक्टर बन्ने । उनको यो चाहना केवल पेशागत आकर्षण मात्र थिएन । सानैदेखि बारम्बार बिरामी परिरहने उनको अनुभवले उनलाई अस्पतालसम्म पुर्‍याउँथ्यो जहाँ डाक्टरहरूले दिने हेरचाह, संवेदनशीलता र सेवा भावले उनको मनमा गहिरो प्रभाव पाथ्र्यो । बिरामीको पीडा बुझ्ने र उपचारमार्फत राहत दिने त्यो मानवीय पक्षले उनलाई चिकित्सा पेशाप्रति आकर्षित गर्‍यो ।

बिरामी चेकजाँच गर्दै कन्सल्टेन्ट फिजिसियन डा प्रतिभा भण्डारी ।

‘यही अनुभवले पछि गएर ‘म पनि डाक्टर बनेर सेवा गर्छु’ भन्ने अठोटमा परिणत भएको थियो’–उनले स्वास्थ्यपेजलाई भनिन् । प्लस टु पछि उनले एक वर्षसम्म एमबीबीएस प्रवेश परीक्षाको तयारी गरिन् । निरन्तरको मिहिनत र दृढ इच्छाशक्तिको फलस्वरूप उनले चितवन मेडिकल कलेजमा छात्रवृत्तिमा नाम निकाल्न सफल भइन् । यो उपलब्धि उनको जीवनको महत्वपूर्ण मोड थियो । २०७५ सालमा एमबीबीएस पूरा गरेपछि उनले एक वर्ष त्यहीँ इन्टर्नसीप गरिन् जहाँ उनले सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्ने अवसर पाइन् । त्यसपछि दुई वर्षीय करार छात्रवृत्तिको लागि उनी आफ्नै जिल्ला फर्किइन् ।

नेपालमा महिला चिकित्सकहरु प्रायः प्रसूति तथा स्त्रीरोगतर्फ आकर्षित हुने प्रवृत्ति छ । बाँके र बर्दियामा त झन इन्टर्नल मेडिसिन गरेका महिला चिकित्सक शुन्य प्राय छन् ।

प्राथमिक स्वास्थ्य चौकी सोरहवामा करिब डेढ वर्ष काम गर्दा उनले ग्रामीण स्वास्थ्य सेवाको यथार्थ नजिकबाट अनुभूति गरिन् । सीमित स्रोत साधान र अभावका बीच पनि तल्लो तहका स्वास्थ्य संस्थाले बिरामीको भरोसालाई भरथेग गरेको अनुभव डा.भण्डारीलाई छ । यही बीचमा कोरोना महामारीले देशलाई आक्रान्त बनायो । यस्तो कठिन समयमा उनले काठमाडौंको टेकुस्थित अस्पतालमा सेवा दिन पुगेकी थिइन् । महामारीको त्रास, बिरामीको चाप र अनिश्चितताबीच काम गर्नु उनका लागि चुनौतीपूर्ण भए पनि, यही समयले उनको पेशागत क्षमता र मानसिक दृढता झनै मजबुत बनायो । टेकुमा कार्यरत रहँदै गर्दा २०७८ सालमा उनको नाम एमडी अध्ययनका लागि निस्कियो ।

नेशनल मेडिकल कलेज, वीरगञ्जबाट उनले २०८२ सालमा एमडी पूरा गरिन् । यहाँबाट सुरु हुन्छ उनको चिकित्सा यात्राको अर्को महत्वपूर्ण अध्याय-‘मेडिसिन’ । नेपालमा महिला चिकित्सकहरु प्रायः प्रसूति तथा स्त्रीरोगतर्फ आकर्षित हुने प्रवृत्ति छ । बाँके र बर्दियामा त झन इन्टर्नल मेडिसिन गरेका महिला चिकित्सक शुन्य प्राय छन् । इन्टर्नल मेडिसिन भनेको व्यापक, गहिरो र चुनौतीपूर्ण अध्ययन क्षेत्र मानिन्छ, जहाँ शरीरका विभिन्न अंग प्रणाली, दीर्घकालीन रोग, जटिल अवस्थाहरुको समग्र मूल्यांकन र उपचार गर्नुपर्ने हुन्छ ।

उनी भन्छिन्–‘काठमाडौंमा म लामो समय बस्ने भनेर आएको होइन । आफ्नै गाउँघरमा फर्किएर सेवा गर्ने हो । यहाँ त आफ्नो क्षमता र सीप बढाउन मात्रै आएकी हुँ ।’

‘मेडिसिन तर्फको डाक्टरले प्रायः सबै किसिमका बिरामीलाई हेर्ने अवसर पाउँछ । यो विषयले केवल रोग उपचार मात्र होइन, रोगको जडसम्म पुगेर बुझ्ने, विश्लेषण गर्ने र दीर्घकालीन समाधान खोज्ने क्षमता विकास गराउँछ ।’ उनले मेडिसिन रोज्नुको मुख्य कारण यही ‘समग्रता’ हो । मेडिसिन अध्ययनले शरीरलाई एउटा पूर्ण प्रणालीका रुपमा बुझ्न सिकाउँछ—मुटु, फोक्सो, मिर्गौला, कलेजो, हर्मोन, संक्रमण, सबै एकअर्कासँग कसरी सम्बन्धित छन् भन्ने कुरा गहिराइमा अध्ययन गर्न पाइन्छ । यसले चिकित्सकलाई कुनै एउटा अंग मात्र होइन, सम्पूर्ण बिरामीलाई हेर्ने दृष्टिकोण दिन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको अनुसन्धान र निरन्तर अध्ययनको अवसर हो ।

‘मेडिसिन क्षेत्रमा नयाँ–नयाँ रोग, उपचार विधि र प्रविधिहरू निरन्तर विकास भइरहेका हुन्छन् । यसले चिकित्सकलाई सधैं सिकिरहने, अपडेट भइरहने र ज्ञान विस्तार गर्ने वातावरण दिन्छ ।’ डा. भण्डारीले भनिन् । एमडी पूरा गरेपछि उनले कोहलपुर नगर अस्पतालमा करिब सात महिना मेडिकल सुपरिन्टेन्डेन्टको रुपमा काम गरिन् । प्रशासनिक जिम्मेवारीसँगै चिकित्सकीय सेवा सन्तुलनमा राख्दै उनले आफ्नो नेतृत्व क्षमता पनि प्रमाणित गरिन् । हाल उनी काठमाडौंस्थित केएमसी अस्पतालमा कार्यरत छिन् । तर उनको लक्ष्य राजधानीमै सीमित छैन । उनी भन्छिन्–‘काठमाडौंमा म लामो समय बस्ने भनेर आएको होइन । आफ्नै गाउँघरमा फर्किएर सेवा गर्ने हो । यहाँ त आफ्नो क्षमता र सीप बढाउन मात्रै आएकी हुँ ।’

  • ५ बैशाख २०८३, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech