काठमाडौं: काठमाडौं उपत्यका र पहाडी जिल्लाहरूमा आज होली (फागु) पर्व हर्षोल्लासका साथ मनाइँदैछ । फागुण शुक्ल पूर्णिमाको अवसरमा सरकारले पहाडी जिल्लाहरूमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि पहाडी तथा हिमाली जिल्लाहरूमा होली पर्व आज मनाइन्छ भने भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा मनाउने प्रचलन छ ।
होली पर्वमा विशेषगरी रङ र रगहरूसँग खेलिने भएकाले छालामा असर पर्ने सम्भावना रहन्छ । यसैले छाला जोगाएर रंग खेल्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । छालारोग विशेषज्ञ डा. बद्री चापागाईका अनुसार रंग खेल्दा प्राकृतिक र हल्का रंगको प्रयोग गर्नु, खेलिसकेपछि छाला सफा साबुन वा हल्का फेसवाशले धुनु तथा पर्याप्त पानी पिउनु आवश्यक छ । यसरी सावधानी अपनाउँदा होलीको रमाइलो र छाला दुबै सुरक्षित रहन्छ ।

रङ्गहरुको पर्व होली को सबैमा शुभकामना ! – स्वास्थ्य पेज परिवार
शरिरको ख्याल नगरी रङ्ग खेल्दा एलर्जी, छाला पोल्ने र सुख्खापन जस्ता समस्या देखा पर्न सक्छ । डा. चापागाईका अनुसार रङ्गमा मिसिएका रसायनले छालाको भित्री सतहमा नोक्सान पुर्याउन सक्छ । त्यसैले सम्भव भएसम्म मिसावट नभएका अर्गानिक कलर प्रयोग गर्नुपर्छ ।
डा. चापागाईले सुझाए अनुसार होली खेल्नुअघि सनस्क्रिन र मोइस्चराइजर लगाउनुपर्छ जसले रंग छालाभित्र जानबाट रोक्छ । कपालमा तेल लगाउनुले पनि नोक्सानीबाट बचाउँछ । होली खेलिसकेपछि छालामा जलन वा सुख्खापन महसुस भएमा शरीर सफासँग धोईपखाली गरेर मोइस्चराइजर लगाउनुपर्छ । यसरी गर्दा छाला नर्म सुरक्षित र स्वस्थ रहन्छ । केहि समस्या भएको महशुस भए चिकित्सकलाई भेट्न पनि उनि सल्लाह दिन्छन् ।
नेत्ररोग विशेषज्ञहरूले पनि आँखालाई सुरक्षित राख्न आग्रह गरेका छन् । साथै, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र स्वास्थ्यका साथ पर्व मनाउन सबैमा आग्रह गरिएको छ। रंगको रमाइलो मनाउँदै गर्दा पनि स्वास्थ्य र सुरक्षा प्राथमिकता राख्नु जरुरी छ ।








