घोराही: दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्ना एजेण्डामा स्वास्थ्य क्षेत्रलाई प्रमुखताका साथ समेट्दै “निरोगी दाङ: हाम्रो संकल्प” भन्दै स्पष्ट प्राथमिकता सार्वजनिक गरेका छन् ।
पोखरेलले घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवको केन्द्र र विशिष्टकृत स्वास्थ्य सेवा केन्द्र बनाउने संकल्प व्यक्त गर्दै सिकलसेलको अन्त्य, पूर्वाधार सुधार, स्तरवृद्धि र उपचारमा सहजतालाई आफ्नो प्रमुख एजेण्डामा राखेका छन् ।
उनले थारुसमुदाय लगायत दाङबासीलाई सताईरहेको एनिमियाको निशुल्क परीक्षण, अनुसन्धान र प्रभावकारी उपचारको व्यवस्था गरिने बताए । त्यस्तै प्रतिष्ठानलाई सुविधासम्पन्न बनाइ विशेषज्ञ चिकित्सकहरूको पूर्ण दरबन्दी सुनिश्चित गरिने र सामान्यदेखि गम्भीर रोगको उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता अन्त्य गरिने संकल्प समेत पोखरेलको छ ।









