स्याङ्जा: स्याङ्जाको वालिङ नगरपालिका–९ स्थित गह्रौं प्राथमिक अस्पतालमा मृतदेह सुरक्षित राख्न मिल्ने आधुनिक मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उपयुक्त व्यवस्था नहुँदा समस्या झेल्दै आएको अस्पतालमा अब नयाँ सुविधा थपिएको हो ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पहल तथा स्पेन, पोर्चुगल, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, बेलायत र नर्वेमा रहेका नेपालीहरूको आर्थिक सहयोगमा करिब ४ लाख ५० हजार रुपैयाँ लागतको दुई शव अट्ने क्षमता भएको फ्रिज उपलब्ध गराइएको समितिले जनाएको छ ।
अस्पताल व्यवस्थापनका अनुसार यो उपकरण जडानसँगै पोस्टमार्टम तत्काल गर्न नसकिने अवस्था वा आफन्त आउन समय लाग्ने परिस्थितिमा शव सुरक्षित राख्न सहज हुनेछ । नयाँ सुविधाले अस्पतालको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।








