मेडिकल काउन्सिलले तोक्यो फेलोसिप गर्ने चिकित्सकलाई न्यूनतम पारिश्रमिक

    • स्वास्थ्य पेज

  • १६ फाल्गुन २०८२, शनिबार

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रम सञ्चालन गरिरहेका विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अस्पतालहरूमा कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।

फेलोसिप कार्यक्रममा पूर्णकालीन रूपमा कार्यरत चिकित्सकहरूको मनोबल उच्च राख्न तथा उनीहरूको सेवाको उचित कदर सुनिश्चित गर्न न्यूनतम ९औं तह बराबरको पारिश्रमिक अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो ।

सरकारको नीति तथा चिकित्सा शिक्षा सम्बन्धी विद्यमान व्यवस्थाअनुसार यो निर्णय गरिएको काउन्सिलका रजिस्ट्रार डा. सतीश कुमार देवले जानकारी दिए । काउन्सिलको २३ र २४ पुसमा बसेको पूर्णबैठकले यो निर्णय गरेको हो ।

स्वीकृति प्राप्त गरी फेलोसिप कार्यक्रम सञ्चालन गरिरहेका सबै सम्बन्धित संस्थालाई आवश्यक कार्यान्वयनका लागि काउन्सिलले निर्देशन दिएको छ ।

गत पुसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सञ्चालित फेलोसिप कार्यक्रममा चर्को शुल्क लिएको र निर्वाह भत्ता सुनिश्चित नभएको भन्दै चिकित्सकले विरोध समेत गरेका थिए । जसका कारण न्याम्सको फेलोसिप भर्नाको कार्यतालिका नै बिथोलिएको थियो ।

  • १६ फाल्गुन २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech