स्वास्थ्य मन्त्री डा.सुधा शर्माद्वारा भेरी अस्पताल निरीक्षण, समस्या समाधानमा आवश्यक पहल हुने

    • समिरमान श्रेष्ठ

  • २६ माघ २०८२, सोमबार

नेपालगन्ज, बाँके स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बाँकेका निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको विषयप्रति चासो व्यक्त गरेकी छन् ।

भेरी अस्पताल नेपालगन्जको निरीक्षणपश्चात आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले बेडहरु अभाव भएर बिरामीहरुलाई उपचार दिनै समस्या भएको चिकित्सकहरुको गुणासो सुनेपछि अस्पतालमा बेड संख्या वृद्धि गर्नुपर्ने विषयमा कुनै दुविधा नरहेको स्पष्ट पारिन् । यद्यपि देशको वर्तमान आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणमा केही चुनौती रहे पनि समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने उनको भनाइ थियो ।

अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री डा.गौतम

मन्त्री शर्माले कार्डियोलोजी विभागका लागि आवश्यक उपकरण उपलब्ध गराउने विषयमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै अस्पतालबाट प्रदान हुँदै आएको डायलाइसिस सेवा विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने बताइन् । सिटी स्क्यान मेसिन अभावका कारण सेवा प्रभावित भएको चिकित्सकहरूको गुनासोप्रति ध्यानाकर्षण गर्दै उनले उक्त उपकरण अत्यावश्यक रहेको र यसको व्यवस्थापनका लागि पहल गरिने जानकारी दिइन् ।

त्यसअघि मन्त्री शर्माले अस्पतालका विभिन्न वार्ड, इमर्जेन्सी लगायतका विभागहरूको निरीक्षण गरेकी थिइन् । निरीक्षणका क्रममा उनले अस्पतालको सेवा प्रवाहबारे जानकारी लिएको बताइएको छ ।

कार्यक्रममा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालको सेवा प्रवाह, समस्या तथा चुनौतीबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा अस्पतालका विभागीय प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित चिकित्सक तथा कर्मचारीहरु

भेरी अस्पतालको निरीक्षणअघि मन्त्री शर्माले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समेत निरीक्षण गरेकी थिइन् ।

  • २६ माघ २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech