राम्रो निद्राले शरीर र दिमागलाई ताजगी मात्र दिँदैन, समग्र स्वास्थ्यका लागि पनि अत्यन्तै आवश्यक हुन्छ । तर पर्याप्त निद्रा नपुग्दा दिनभरि शरीर सुस्त महसुस हुन सक्छ । त्यसैले राम्रो निद्राका लागि सुत्ने तरिका (पोजिसन) सही हुनु जरुरी छ ।
गलत तरिकाले सुत्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । वास्तवमा, सुत्ने विभिन्न पोजिसनका आफ्नै फाइदा र बेफाइदा हुन्छन् । यहाँ शरीर र स्वास्थ्य दुवैका लागि फाइदाजनक मानिने केही सुत्ने पोजिसनबारे जानकारी दिइएको छ ।

फीटल पोजिसन अर्थात् भ्रूणजस्तै पोजिसन सुत्ने सबैभन्दा राम्रो पोजिसनमध्ये एक मानिन्छ । यसमा करवट लिएर खुट्टा मोडेर सुतिन्छ, जसरी बच्चा जन्मिनुअघि आमाको गर्भमा हुन्छ । यो शरीरका लागि निकै आरामदायक पोजिसन हो । विशेषगरी कम्मरको तल्लो भाग दुख्ने व्यक्ति र गर्भवती महिलाका लागि यो निकै उपयोगी मानिन्छ । यसरी सुत्दा घुर्ने समस्या कम हुन सक्छ र निद्रा राम्रो लाग्छ ।
ध्यान दिनुहोस् : यदि यो पोजिसनमा धेरै नै खुम्चिएर सुत्नुभयो भने सास फेर्न गाह्रो हुन सक्छ । साथै, जोर्नी दुख्ने वा अकडन हुने व्यक्तिलाई बिहान उठ्दा झन् बढी दुखाइ महसुस हुन सक्छ । त्यसैले रातभरि यही पोजिसनमा मात्र सुत्ने बानी नगर्नु उपयुक्त हुन्छ ।
साइड स्लीपिङ पोजिसन

करवट लिएर सुत्ने साइड स्लीपिङ पोजिसन पनि स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यो फीटल पोजिसनसँग मिल्दोजुल्दो भए पनि यसमा खुट्टा पूर्ण रूपमा मोडिँदैन । घुर्ने समस्या छ भने यो पोजिसन उपयुक्त हुन्छ । यसले घुर्ने समस्या कम गर्न मद्दत गर्छ । साथै, पाचन समस्या र छाती पोल्ने समस्याबाट राहत दिन पनि सहयोगी हुन्छ ।
ध्यान दिनुहोस् : एकैपट्टि लगातार सुत्दा काँध अकडिने वा जबडामा जकडन हुने समस्या देखिन सक्छ । यी समस्या कम गर्न खुट्टाको बीचमा तकिया राख्न सकिन्छ । यसले कम्मर र हिप्सलाई सन्तुलनमा राखेर दुखाइ कम गर्न सहयोग गर्छ ।
ढाडको बल सुत्ने

ढाडको बल सुत्नु पनि राम्रो पोजिसन मानिन्छ । यसले मेरुदण्डलाई राम्रो सपोर्ट दिन्छ र कम्मरको तल्लो भागमा पर्ने दबाब कम गर्छ । साथै, ढाड र घुँडाको दुखाइ कम गर्न मद्दत गर्छ । अनुहारमा चाउरी पर्न नदिन चाहनुहुन्छ भने यो पोजिसन लाभदायक हुन सक्छ ।
ध्यान दिनुहोस् :घुर्ने वा स्लीप एपनिया जस्ता समस्या छन् भने यो पोजिसन हानिकारक हुन सक्छ । साथै, ढाड दुख्ने समस्या भएका व्यक्तिले ढाडको बल सुत्दा उचित सपोर्टको ख्याल गर्नुपर्छ ।
पेटको बल सुत्ने

केही मानिसहरूलाई पेटको बल सुत्दा मात्र राम्रो निद्रा लाग्छ । यसरी सुत्दा केही आराम महसुस भए पनि यो सुत्ने पोजिसनको सूचीमा सबैभन्दा कम सिफारिस गरिन्छ । पेटको बल सुत्नु घुर्ने वा स्लीप एपनियाका लागि केही हदसम्म ठीक मानिए पनि यसका अन्य खास फाइदा छैनन् । यसरी सुत्दा घाँटी र ढाड दुवै दुख्ने सम्भावना हुन्छ ।
साथै, यसले मांसपेशी र घुँडामा अतिरिक्त दबाब पार्छ । यसका कारण बिहान उठ्दा दुखाइ र थकान महसुस हुन सक्छ । ढाड दुखाइ कम गर्न सुत्दा पेटमुनि तकिया राख्न सकिन्छ ।








