नेपालगन्जः आँखाको पर्दा (रेटिना) आँखाको भित्री भागमा रहेको स्नायु तन्तुले बनेको अत्यन्त संवेदनशील भाग हो । कुनै वस्तुबाट आएको बाहिरी प्रकाशलाई मस्तिष्कसम्म पुर्याई वस्तुको पहिचान गर्ने काममा यसको महत्वपूर्ण भूमिका हुन्छ । रेटिनासम्बन्धी रोग संसारभर नै अन्धोपनको एक प्रमुख कारण हो ।
नेपालमा रेटिनासम्बन्धी रोग मोतीबिन्दु पछिको दोस्रो कारणको रूपमा रहेको छ । बढ्दो उमेरसँगै रेटिनाको रोग पनि बढ्दै जान्छ । हालै नेपालमा जनसमुदायमा गरिएको एक सर्वेक्षणमा ६० वर्षमाथिका अधिकांशमा कुनै न कुनै प्रकारको रेटिनाको समस्या देखिएको उल्लेख छ ।
उमेरअनुसार रेटिनामा लाग्ने केही रोगहरु भने फरक–फरक हुन्छन् । रेटिनाका रोगहरुमा धेरै अवस्थामा लक्षणहरु नदेखिन पनि सक्छन् ।
मुख्य लक्षणहरुमा आँखामा दुखाइ नआएर एक्कासी आँखाको दृष्टि गुम्नेसम्म हुने भिजन आँखा अस्पतालका रेटिना रोग विशेषज्ञ डा. विश्वराज तिमिल्सिना बताउँछन् । यस्तै आँखाअगाडि छाया देखापर्ने, आँखा बिस्तारै धमिलो हुने, अँध्यारोमा आँखामा उज्यालो झिल्का देखापर्ने यसका प्रारम्भिक लक्षण चिन्ह हुन् ।
भिजन आँखा अस्पतालले रेटिना रोगसम्बन्धी बिरामीहरुको शल्यक्रियामार्फत सेवा समेत दिन थालेको छ । पर्दा च्यातिएको, रगत बग्ने, सुगर प्रेसरबाट भएको रेटिनोप्याथी लगायतको सेवा पनि भिजनबाट प्रवाह भइरहेको उनी बताउँछन् ।
नेपालमा मोतियाविन्दुलाई मात्रै आँखाको समस्याका रुपमा हेर्ने चलन बढी रहेको उनी बताउँछन् । रेटिनाका कारण हुने समस्याबारे बिरामीलाई जानकारी छैन । गम्भीर भएपछि मात्रै आउने चलन छ । जसले गर्दा उपचारमा समस्या पर्छ ।
रेटिना बिना आँखाले देख्नै सक्दैन। त्यसैले आँखामा समस्या देखिएमा ढिला नगरी विशेषज्ञ चिकित्सकसँग देखाउनुको विकल्प नभएको उनी सुनाउँछन् ।
रेटिना बिग्रिनुका कारण
-मधुमेह (Diabetes)
-उच्च रक्तचाप
-उमेर बढ्नु
-आँखामा चोट
-लामो समयसम्म चस्मा नलगाउनु वा आँखामा अत्यधिक तनाव
रेटिना रोगबाट दृष्टि बचाउने उपाय
-आँखामा चोटपटक लाग्न नदिने र लागिहालेमा तुरुन्त जाँच गराउने ।
-मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिले रोग पत्ता लाग्नासाथ र वर्षमा कम्तीमा एकपटक आँखा परीक्षण गराउने ।
-मधुमेह, उच्च रक्तचाप र रगतको चिल्लो पदार्थ नियन्त्रणमा राख्ने ।
-आँखाअगाडि छाया देखिनु, राति उज्यालो झिल्का देखिनु, दृष्टि कमजोर हुनु वा सीधा वस्तु बाङ्गो देखिएमा तुरुन्त आँखा परीक्षण गराउने ।
-हरिया सागपात र फलफूल नियमित सेवन गर्ने ।
– धूम्रपान नगर्ने ।
-जुनसुकै उमेरमा पनि नियमित आँखा परीक्षण गरे रेटिनासहित दृष्टि जोगाउन सहयोग पुग्छ ।








