कोहलपुरः कोहलपुर नगरपालिकाले थप दुई दिन जाडो विदा दिएको छ । अत्यधिक चिसोका कारण बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरेर भोलि र पर्सि पनि सबै विद्यालयमा विदा दिइएको कोहलपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविलाल मिजारले जानकारी दिए । यसअघि कोहलपुर नगरपालिकाले बुधवारदेखि शुक्रबारसम्म जाडो विदा दिएको थियो ।
मौसम चिसिँदै गएसँगै बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । केयर सिटी अस्पतालका बालरोग विशेषज्ञ डा.विष्णु थापाका अनुसार चिसो मौसममा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले श्वासप्रश्वाससम्बन्धी रोग, भाइरल ज्वरो तथा पेटसम्बन्धी समस्या बढ्ने गरेको छ।
विशेषगरी रुघाखोकी, ज्वरो, फ्लु, ब्रोंकाइटिस र निमोनियाका बिरामी बालबालिकाको संख्या बढ्दै गएको उनको भनाइ छ । चिसो हावाको प्रत्यक्ष प्रभाव र भाइरस छिटो फैलिने वातावरणका कारण यस्ता समस्या बढी देखिने गरेको हो। दम भएका बालबालिकामा चिसो मौसमले समस्या झनै जटिल बनाउने चिकित्सकको भनाइ छ।
यस्तै चिसो मौसममा नाक, कान र घाँटीसम्बन्धी संक्रमण पनि बढ्ने गरेको छ। घाँटी दुख्ने, टन्सिल बढ्ने, कान पाक्ने तथा साइनसको समस्या बालबालिकामा देखिन थालेको छ। चिसोमा सरसफाइमा लापरबाही हुँदा झाडापखाला, बान्ता र पेट दुख्ने जस्ता समस्या पनि देखिने गरेको चिकित्सकहरु बताउँछन्।
चिकित्सकहरुले बालबालिकालाई न्यानो कपडा लगाइदिन, तातो तथा पोषणयुक्त खाना खुवाउन, सफा पानी प्रयोग गर्न र भीडभाडबाट जोगाउन अभिभावकलाई आग्रह गरेका छन्। ज्वरो, खोकी वा सास फेर्न गाह्रो हुने समस्या लामो समयसम्म देखिएमा तत्काल स्वास्थ्य संस्थामा लैजान चिकित्सकहरुको सुझाव छ।








