नेपालगन्जः विशिष्टिकृत सेवा प्रवाह गर्दै आएको भेरी अस्पतालमा मेरुदण्डको नसा च्यापिएका बिरामीको पहिलोपटक अत्याधुनिक दूरविन प्रविधिको प्रयोग गरी सफलतापूर्वक शल्यक्रिया गरिएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारको बजेटबाट उपकरण खरिद गरिएको थियो ।
जाजरकोटका २३ वर्षीय युवकलाई विहीबार करिब तीन घण्टा लामो शल्यक्रिया गरी सफलतापूर्वक शल्यक्रिया गरिएको हो । स्पाइन सर्जन डा. प्रकाश थापाको नेतृत्वमा रहेको चिकित्सक टोलीले उक्त शल्यक्रिया गरेको हो ।
‘स्पाइन सर्जरीको क्षेत्रमा भेरी अस्पतालको यो ऐतिहासिक उपलब्धि हो उनले स्वास्थ्यपेजलाई भने–‘अस्पतालमा पहिलोपटक अत्याधुनिक UBE (Unilateral Biportal Endoscopy) प्रविधिबाट L4/L5 डिस्क हर्निएसनको सफल शल्यक्रिया भएको छ ।’

शल्यक्रियादेखि सम्पन्न हुँदासम्मको बिरामीको अवस्था ।
यस प्रविधिबाट गरिएको शल्यक्रियामा रक्तस्राव न्यून हुने, संक्रमणको जोखिम कम हुने, शल्यक्रियापछिको पीडा घट्ने तथा बिरामी छिटो सामान्य जीवनमा फर्किन सक्ने स्पाइन सर्जन डा.थापा बताउँछन् । उनी भन्छन्–‘UBE इन्डोस्कोपिक स्पाइन सर्जरी न्यून चिरफार (minimally invasive) प्रविधि हो । मेरुदण्डमा अत्यन्तै सानो चिरा दिएर डिस्कसम्बन्धी समस्या सुरक्षित र प्रभावकारी रूपमा उपचार गरिन्छ ।’
डा. थापाका अनुसार मेरुदण्डको नसा च्यापिने समस्या समयमै उपचार नहुँदा बिरामी पक्षघातसम्मको जोखिममा पर्न सक्छन् । उनले भने–‘यो प्रविधिको प्रयोगले नसा वरिपरिको संरचना स्पष्ट देखिने भएकाले शल्यक्रिया अझ सुरक्षित र कम जोखिमपूर्ण हुन्छ ।’ यसअघि दूरविन प्रविधिबाट यस्ता शल्यक्रिया गर्न चाहने बिरामीहरु काठमाडौँ वा भारतका महँगा अस्पताल धाउन बाध्य थिए । भेरी अस्पतालमा अब नियमित रुपमा UBE इन्डोस्कोपिक स्पाइन सर्जरी सेवा सुरु गरिने पनि उनले बताए ।
उनले भने–‘यो सेवाबाट बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका हजारौं बिरामीहरुलाई काठमाडौं वा भारत जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।’ उनले सीमित स्रोतसाधनका बाबजुद पनि भेरी अस्पतालले शिविष्टिकृत सेवा प्रवाह गर्दै आएको बताए । उनले भने–‘सीमित स्रोतसाधनका बाबजुद पनि भेरी अस्पतालमा आधुनिक स्पाइन सर्जरी सेवा सुरु गर्न सफल हुनु हामी सबैका लागि गर्वको विषय हो ।
आगामी दिनमा मेरुदण्डसम्बन्धी रोगहरुको उपचार अझ सुरक्षित, सुलभ र गुणस्तरीय बनाउने हाम्रो लक्ष्य छ ।’ भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले भेरी अस्पतालमा विशेषज्ञ सेवाको दायरा विस्तारतर्फको महत्वपूर्ण कदमका रुपमा लिएको बताए । आगामी दिनमा स्पाइन सर्जरीसँगै पुनःस्थापना (rehabilitation) सेवाहरुलाई समेत सुदृढ बनाउँदै लैजाने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ ।








