भेरी अस्पतालका दुई युवा सर्जनः हजारौं बिरामीको नयाँ जीवनका प्रेरक

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०८२, मंगलवार

नेपालगन्जः युवा स्पाइन तथा अर्थोपेडिक्स सर्जन डा. प्रकाश थापा र आर्थोस्कोपिक तथा अर्थोपेडिक्स सर्जन डा. तिर्थेन्द्र खड्काको जोडीले पश्चिम नेपालका हजारौं बिरामीलाई नयाँ जीवन दिएको छ । उनीहरुले केवल जीवन मात्र बचाउँदैनन्, नयाँ पुस्ताका डाक्टरलाई प्रशिक्षण दिँदै आधुनिक प्रविधि समेत भित्र्याइरहेका छन् । डा. प्रकाशले स्पाइन सर्जनमा आफूलाई अब्बल सावित गर्दै गएका छन् भने डा. तिर्थेन्द्र आर्थोस्कोपिकमा माहिर छन् ।

मेडिकल शिक्षा सँगसँगै लिएका उनीहरुले करिव १४ वर्षदेखि भेरी अस्पतालको अर्थोपेडिक विभागलाई नेपालकै अब्बल सावित गरिदिएका छन् । सम्भवतः वीर अस्पतालपछि सबैभन्दा बढी स्पाइन तथा आर्थोस्कोपिक शल्यक्रिया हुने थलो बनेको छ, भेरी अस्पताल । हप्तामा ५० देखि ६० जना जटिल खालका शल्यक्रिया उनीहरुको रुटिङमै पर्छ । अन्य माइनर सर्जरी समेत गर्दा यो संख्या अझ धेरै बढ्छ । जीवन परिवर्तन गर्ने सर्जरी मानिने अर्थो र स्पाइन सर्जरीमा रमाइरहेका डा. प्रकाश र डा. तिर्थेन्द्र निजी क्षेत्रका अन्य अस्पतालमा पनि सेवा दिन्छन् । त्यस बाहेक बाँकी समय सर्जरी र अध्ययन—अनुसन्धानमा खर्चन्छन् ।

स्पाइन सर्जरी होस् वा आर्थोस्कोपिक सर्जरी, स्पोर्ट्स होस् वा अर्थो । नयाँ सीप र प्रविधि भित्र्याउन उनीहरु अध्ययन—अनुसन्धानमा मात्रै व्यस्त हुँदैनन् । त्यस्ता तालिमहरुमा आफूलाई अभ्यस्त समेत बनाइरहेका हुन्छन् । डा. प्रकाश भन्छन्–‘सामान्यतयाः बिरामीको उपचारसँगै रिसर्च, स्वदेश—विदेशमा रिसर्च प्रिजेन्टेसनका कामहरु पनि गरिरहेको हुन्छु ।’ उपचारमार्फत अरुको अनुहारमा खुसी फर्काउने कुरा नयाँ सीप र प्रविधिको ज्ञान नभइकन कहाँ सम्भव छ र ? डा. तिर्थेन्द्रले थपिहाले । उनी भन्छन्– ‘आफूले सोचेको कुरा गर्न पाएमा यसै पनि खुसी भइँदोरहेछ ।’

डा.प्रकाश हिजोआज स्पाइनमा बढी फोकस हुँदै गएका छन्, स्पाइनमा पनि नवीनतम् कुराहरुले उनलाई बढी तानिरहेका छन् । ‘स्पाइनमा के गर्न सकिन्छ, के नवीनता ल्याउन सकिन्छ भन्नेमै बढी केन्द्रित छु’ उनी भन्छन् । पछिल्लो पटक डा. प्रकाशको पहलमा भेरी अस्पतालमा दूरविन प्रविधिबाट मेरुदण्डको नशा च्यापिएको शल्यक्रिया सफलतापूर्वक हुन थालेको छ । ‘यस्तै नयाँ—नयाँ कुराहरु नेपालमा ल्याउन पाइयो भने राम्रो हुन्थ्यो,’ उनी भन्छन्–‘नेपालमै विश्वमा आएका नयाँ—नयाँ कुराहरु ल्याएर बिरामीलाई दिन पाए हुन्थ्यो ।’ वीर, त्रिवि शिक्षण, नर्भिक, बीएण्डी, ग्राण्डी, ह्याम्स लगातयका अस्पतालमा विश्वस्तरीय अर्थोपेडिक्स र स्पाइन सर्जरीहरु हुने गरेको छ ।

भेरी अस्पतालको अर्थोपेडिक्स सर्जरी सेवा पनि अहिले ती अस्पतालको स्तर भन्दा कम नभएको उनी दावी गर्छन् । पछिल्लो दुई वर्षदेखि अर्थोपेडिक्सका कुनै पनि केशहरु रिफर नगरिएको उनको भनाई छ । ‘बिरामीलाई म बाहिर नै लग्छु भन्नेहरुको केश बाहेक अन्य केशमा कुनै पनि बिरामी हामीले रिफर गरेका छैनौं,’ डा. प्रकाश भन्छन्–‘अर्थो सेवा लिनकै लागि भारत वा काठमाडौं जानु पर्दैन । भेरी पूर्णरुपमा सक्षम छ ।’ डा. तिर्थेन्द्र आर्थोस्कोपिक प्रविधिमा माहिर छन् र घुँडा, कुम, काँध र हिप सर्जरीमा नयाँ–नयाँ तरिका अपनाउँदै आएका छन् । डा. तिर्थेन्द्र भन्छन्–‘साना चिराबाटै सर्जरी गर्दा बिरामीले कम पीडा भोग्छन् र छिट्टै सामान्य जीवनमा फर्कन्छन् । हाम्रो मुख्य लक्ष्य भनेको रोगीलाई सामान्य जीवनमा छिट्टै फर्काउनु हो ।’ पछिल्लो पुस्ता खेलकुदमा बढी रमाइरहेको छ । खेलकुद र व्यायामप्रतिको रुची बढ्दै गएसँगै स्पोट्र्स इन्जुरी (खेलकुद चोट) को समस्या पनि बढ्दै गएको छ । खेलकुदमा घुँडा, कुम, काँध, कम्मर र टाउकोमा चोट लाग्नु सामान्य हो । तर, यदि समयमै उपचार नगरिए यस्ता चोटहरूले दीर्घकालीन अपांगता निम्त्याउन सक्छ । पछिल्लो समय युवा पुस्तामा घुँडा र कुम लगायतको चोट बढी देखिएको छ ।

वाइक चलाउने अधिकांश युवा पुस्ता नै छ । दुर्घटनामा उनीहरु नै पर्ने गरेका छन् । यस्ता चोटहरु एक्सरे गरेर देखिँदैन् । पहिला यी केश मिस हुने गरेको थियो । प्रविधिको विकाससँगै यसको पहिचान र उपचार पनि सम्भव छ भन्ने सन्देश दिएका छन्् डा.तिर्थेन्द्रले । डा. तिर्थेन्द्रले दुर्घटना तथा स्पोर्ट्स इन्जुरीका सयौं बिरामीलाई नयाँ जीवन दिएका छन् । ‘यो विधा केवल खेलाडीहरूको जीवन बचाउने मात्र होइन, सामान्य नागरिकलाई पनि चोटपटकबाट छिट्टै सामान्य जीवनमा फर्किन सहयोग पु¥याउने क्षमतामा केन्द्रित छ’–उनी भन्छन् । विशेषगरी घुँडाको लिगामेन्ट च्यातिने, कार्टिलेज बिग्रिने वा कुममा बारम्बार दुखाई हुने समस्यामा आर्थेस्कोपिक शल्यक्रिया अत्यन्त प्रभावकारी देखिएको डा. तिर्थेन्द्र बताउँछन् । परम्परागत शल्यक्रियामा ठूलो चिरा पार्नुपर्ने भए पनि आर्थोस्कोपिक प्रविधिमा सानो चिराबाटै क्यामेरा र उपकरण भित्र्याएर समस्या समाधान गरिन्छ । यसले गर्दा रक्तस्राव कम हुने, संक्रमणको सम्भावना न्यून हुने र निको हुन समय पनि छोटो हुने गर्दछ ।

युवा स्पाइन तथा अर्थोपेडिक्स सर्जन डा. प्रकाश थापा र आर्थोस्कोपिक तथा अर्थोपेडिक्स सर्जन डा. तिर्थेन्द्र खड्का

कुमको जटिल खालका शल्यक्रिया समेत भेरी अस्पतालमा भइरहेका छन् । सम्भवतः यस्ता शल्यक्रिया सरकारी अस्पतालमा वीर बाहेक भेरीमा मात्रै हुन्छन् । डा. तिर्थेन्द्रका अनुसार यस प्रविधिबाट उपचार लिएका बिरामीहरूले केही दिनमै सामान्य हिँड्डुल गर्न सक्छन् । विशेष गरी खेलाडी वा श्रमप्रधान काम गर्ने मानिसका लागि यो आधुनिक शल्यक्रिया आशाको किरण बनेको छ । यसले देश बाहिर उपचार गर्न धाउनुपर्ने बाध्यता पनि घटाएको छ । उनी भन्छन्–‘सस्तो, छरितो र सुरक्षित उपचारका लागि आर्थेस्कोपिक सर्जरी भविष्यमै हाडजोर्नी उपचारको प्रमुख विकल्प बन्नेछ ।’ पछिल्लो समय नेपाल सरकारले पनि जटिल खालका केही रोगहरुको निःशुल्क सेवा दिन थालेको छ ।

बीमामार्फत पनि निःशुल्क सेवाहरु सुरुवात भएका छन् । त्यसले पनि बिरामीलाई भेरी अस्पतालमा तानिरहेको छ । सरकारी अस्पतालमा सेवा लिन लामो पालो कुर्नुपर्छ भन्ने मान्यता छ । तर, भेरी अस्पतालको अर्थोपेडिक विभागमा बिरामीले ४ दिन भन्दा बढी पालो कुर्न नपर्ने डा. प्रकाश बताउँछन् । ‘बिरामीको अवस्था हेरेर तत्काल शल्यक्रिया गर्नुपर्नेछ भने आधा घण्टामै शल्यक्रिया गर्दिहाल्छौ,’ डा.प्रकाश भन्छन्–‘नत्र ४ दिन भन्दा बढी कुर्नु पर्दैन । फ्याक्चरका बिरामीको तत्काल नै शल्यक्रिया गर्नुपर्छ भन्ने हुँदैन त्यसको अवस्था हेरेर गर्न सकिन्छ ।’ डिस्लोकेसन, ओपन फ्याक्चर, कट इन्जुरी लगायतका जटिल खालका केशहरुमा तत्काल शल्यक्रिया गर्नुपर्ने भए पनि अन्य केशहरुमा आत्तिनुपर्ने अवस्था नहुने डा. प्रकाश बताउँछन् । कोभिड महामारी होस् वा गत वर्ष जाजरकोटमा भूकम्प जाँदा होस् । भेरी अस्पतालमा आएका अर्थोका कुनै पनि बिरामीलाई फिर्ता पठाइएन । डा.प्रकाश भन्छन्–‘प्राकृतिक आपत–विपदमा त भेरी अस्पताल बिरामीको उपचारमा सतिसाल भएर उभिएको छ ।’

कसरी भयो सम्भव हाडजोर्नी विभागको असाधारण यात्रा ?

डा. प्रकाश थापा र डा. तिर्थेन्द्र सहपाठी हुन् । १४ वर्षअघि भेरी अस्पतालमा आउँदा अर्थो विभाग जीर्ण जस्तै थियो । करिव २ वर्षसम्म उनीहरुले शल्यक्रिया नै गरेनन् । बिरामी नै नआउने भएपछि शल्यक्रिया हुने कुरा पनि भएन । त्यसमाथि न पर्याप्त उपकरण न त भौतिक संरचना । सर्जनका लागि सबैभन्दा ठूलो भनेको हातको सफाई हो अर्थात जति शल्यक्रियाका केशहरु गर्न सकियो त्यति नै हातहरु क्लिन हुँदै जान्छन् । डा. प्रकाश सम्झन्छन्–‘भेरीमा अर्थोका केशहरु नहुँदा बाहिरबाट बिरामी लगेर पनि शल्यक्रिया गथ्र्यौं ।’ यी दुवै तन्नेरीहरुले हार मानेन् । आफ्नो सीप र दक्षतालाई उपयोग गर्न निरन्तर संघर्ष गर्दै गए । क्रमशः उपकरणहरु थप्दै गए । सिया मेसिन नै थिएन । संयोगले डा. प्रकाश अस्पतालको प्रशासनिक नेतृत्वमा पुगे । आफू प्रशासनिक नेतृत्वमा पुगेपछि उनले अर्थो विभागलाई थप बलियो बनाउँदै लगे । अहिले अस्पतालसँग सुपरस्पेशियालिटी सेवाका लागि कुनै पनि उपकरणको अभाव छैन ।

‘अधिकांश उपकरण अन्तर्राष्ट्रियस्तरकै छन्, सम्भवतः नेपालका अन्य अस्पतालहरुसँग छैनन्’–डा.तिर्थेन्द्र सुनाउँछन् । जी–को सिया मेसिन, लुकिङ ग्लास, आर्थोस्कोपिक सिस्टम र स्पाइन सिस्टम भएको भेरी अस्पताल मात्रै रहेको उनी बताउँछन् । जनशक्तिका हिसावले पनि अर्थो विभाग पूर्णरुपमा बलियो छ । शान्ति मन्त्रालय हुँदा द्वन्दका घाइतेहरुको उपचार र पुनःस्थापनाका लागि भनेर एउटा परियोजना भेरीमा पनि सञ्चालन भयो । त्यसले पनि स्तरीय उपकरण खरिदमा ठूलो मद्दत पुगेको डा. प्रकाशको भनाई छ । भेरी अस्पतालको हाडजोर्नी विभाग केवल उपकरणले मात्र बलियो भएको होइन । यसको पछाडि टिमवर्कको संस्कृति पनि उत्तिकै महत्वपूर्ण छ । डा. प्रकाश भन्छन्–‘यस विभागको सफलताको पछाडि टिमवर्क नै हो ।

सबै मिलेर अघि बढ्दा मात्र यस्तो सम्भव भएको हो ।’ भदौ महिनादेखि हप्तामा तीन दिन मंगलवार, बुधवार र शुक्रबार शल्यक्रिया हुने गरेको छ । अर्थोका लागि ५० वेड छ । इन्डोर विभाग छुट्टै छ । इन्डोरमा पनि आफ्नै पोष्टअप छ । स्पाइनल र स्पोर्ट्स इन्जुरी वार्ड छ । ‘सम्भवतः यस्तो सिस्टम नेपालका अन्य अस्पतालमा छैन ।’ डा. प्रकाश र डा. तिर्थेन्द्र दावी गर्छन् । भेरी मात्र यस्तो हाडजोर्नी विभाग हो जहाँ जनरल वार्डमा पनि एसी जडान गरिएको छ । सेप्टेम्वर महिनालाई मेरुदण्डको चोट सम्वन्धि जनचेतनामूलक कार्यक्रम गरी मनाइन्छ । यही अवसर पारेर अब प्रत्येक साताको विहीबार छुट्टै स्पाइन ओपीडी सेवा दिन सुरु गरिएको छ । नेपालमा कुमको अपरेशन खासै हुँदैन । तर, भेरी अस्पतालमा आर्थोस्कोपिक अर्थात दूरविनबाट कुमको अपरेसन भइरहेको छ ।

पछिल्लो समय शैक्षिक गतिविधि समेत बढ्न थालेको डा. प्रकाश सुनाउँछन् । न्याम्सको एमडीएमस कार्यक्रम सुरु भएपछि २ जना रेजिडेन्सहरु अध्ययनका लागि भेरी अस्पतालमा आएका छन् । डा. प्रकाश र डा. तिर्थेन्द्रको नेतृत्वमा उनीहरु अध्ययनरत छन् । अर्को वर्षदेखि सुपर–स्पेसलाइज्ड पढाईको योजना पनि बनाइएको छ । एमएस–एमडीपछि स्पाइन फेलासिप र स्पोर्ट्स मेडिसिनको फेलोसिप अध्यापन गराउन सकिने गरी तयारी थालिएको उनीहरु बताउँछन् । शल्यक्रिया मात्र नभएर भेरी अस्पतालमा शैक्षिक गतिविधिहरु पनि सञ्चालन भएकाले सेवामा स्तरीयता थपिएको छ । जसका कारण बिरामीलाई पनि सहज भएको छ । रेजिडेन्स चिकित्सक आवासीय हुने भएकाले उनीहरु चौविसै घण्टा खटिएका हुन्छन् ।

अर्थोसँग सम्वन्धित बिरामीले तत्काल उपचार पाइहाल्छन् । जटिल केशहरुमा रेस्पोन्स गर्न आफूहरुलाई पनि सहज भएको डा. तिर्थेन्द्रको अनुभव छ । भेरी अस्पतालको अर्थोपेडिक्स विभाग अब केवल शल्यक्रिया गर्ने ठाउँ मात्र छैन, यो सेवा, शिक्षा र अनुसन्धान तीनै पाटोमा सुपर–स्पेसलाइज्ड केन्द्रको रूपमा विकसित हुँदै गएको छ ।

  • १६ मंसिर २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech