केयूमा मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाउने गरी कार्यविधि बनाएको भन्दै डाक्टरहरू गए सर्वोच्च

    • स्वास्थ्य पेज

  • २६ पुष २०८१, शुक्रबार

काठमाडौं: काठमाडौं विश्वविद्यालय (केयू) मा मेडिकलबाट उपकुलपतिमा आवेदन दिन नपाउने गरी कार्यविधि बनाएको भन्दै डाक्टरहरू सर्वोच्च अदालत गएका छन् ।

उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा असहमति जनाउँदै डाक्टरहरू अदालत गएका हुन् । ‘छनोट समितिलाई बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अदालत गएका हौँ,’ केयू स्कूल अफ मेडिकल साइन्स फ्याकल्टी काउन्सिलका अध्यक्ष प्राडा सुवीन्द्र कार्कीले भने ।

उनका अनुसार सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको छ । कार्यविधिका मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको छ । यो व्यवस्थामा मेडिकल क्षेत्र नसमेटिने डाक्टरहरूको तर्क छ ।

योग्यताको विषयमा थप प्रष्ट पार्न छनोट समितिका संयोजक केयूका पूर्वउपकुलपति सुरेशराज शर्मालाई आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो डाक्टरहरूको छ ।

‘मेडिकललाई प्रतिस्पर्धामा आउनै वञ्चित गरियो । केयूको अभिभावकबाट नि सम्बोधन भएन । गलत नजिर बस्छ । त्यसैले अदालतबाट न्याय मिल्छ भनेर गएका हौँ,’ कार्कीले भने ।मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस हो ।

तर, यो योग्यता भएकाले भीसीका लागि आवेदन दिन नपाउने भएपछि अदालत जानुपरेको बताउँछन् कार्की ।छनोट समितिले गत १८ पुसमा १० दिनको समय दिएर उपकुलपतिका लागि खुला आह्वान गरेको थियो । आवेदन दिने समय अब दुई दिन बाँकी छ ।

तर, डाक्टरहरू अदालत गएपछि उपकुलपति छनोट अन्योल भएको छ । ६ माघदेखि उपकुलपति प्राडा भोला थापाको चार वर्षे कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति छनोट गर्न लागिएको हो । छनोट समितिमा प्राडा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

  • २६ पुष २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech