भेरी अस्पतालका बिरामीलाई करिव ८ हजार पिन्ट रगत सहयोग

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०८१, शुक्रबार

नेपालगन्जः गत आर्थिक वर्ष २०८०–८१ मा भेरी अस्पताल नेपालगन्जमा भर्ना भई उपचार गराउन आएका बिरामीलाई करिव ८ हजार पिन्ट रगत निःशुल्क सहयोग गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले गत आर्थिक वर्षमा विभिन्न कारणले भेरी अस्पतालमा उपचारका लागि आइ भर्ना भएका बिरामीका लागि सात हजार ७३३ पिन्ट रगत निःशुल्क वितरण गरिएको बताए ।

भेरी अस्पताल परिसरभित्र रहेको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जमार्फत भेरी अस्पतालमा भर्ना भई उपचाररत बिरामीलाई रगतको आवश्यकता परेमा निःशुल्क रगतको व्यवस्थापन भइरहेको प्रमुख रेग्मीले बताए ।

रेग्मीका अनुसार २०७९ भदौ १९ गतेदेखि भेरी अस्पतालमा भर्ना भएर उपचाररत बिरामीका लागि लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निःशुल्क रगत उपलब्ध गराउन थालिएको हो । भेरीमा दैनिक सरदर २० देखि २५ पिन्ट रगत खपत हुने गर्दछ ।

रेडक्रस बाँकेले गत आर्थिक वर्षमा १३ हजार ४९० पिन्ट रगत सङ्कलन गरेको थियो । १९ हजार ९९३ पिन्ट रगत वितरण गरिएको थियो । जसमध्ये भेरी अस्पतालमा भर्ना भएका बिरामीका लागि ७ हजार ७३३ पिन्ट रगत खपत भएको थियो ।

  • १८ श्रावण २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech