अर्थोपेडिक सर्जन डा. सद्दामको नेतृत्वमा नेपालगन्जमा डेडिकेटेड अर्थोपेडिक हस्पिटल !

नेपालगन्जमै अर्थोको डेडिकेटेड अस्पताल संचालन भएपछि बिरामीहरुलाई ठूलो राहात मिल्नेछ । भारतको लखनउ भन्दा राम्रो उपचार, त्यहाँको भन्दा सस्तो र गुणस्तरीय रुपमा दिइने पनि डा.सद्दामको भनाइ छ ।


    • प्रियास्मृति ढकाल

  • २८ जेष्ठ २०८१, सोमबार

नेपालगन्जः नेपालगन्जमा सुविधा सम्पन्न नेशनल अर्थोपेडिक हस्पिटलले सेवा दिन थालेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० सुर्खेतरोडस्थित वन कार्यालय नजिकै अर्थोपेडिक सर्जन डा.सैयद सद्दामले अर्थोपेडिक डेडिकेटेड अस्पताल संचालनमा ल्याउनु भएको हो । १५ वेड क्षमताको उक्त अस्पताल औपचारिकरुपमा असार दोस्रो सातादेखि संचालनमा ल्याउने तयारी गरेपनि बिरामीको उपचार भने अहिलेदेखि नै सुरु भइसकेको डा.सद्दामले बताउनुभयो । ‘असारको दोस्रो सातादेखि औपचारिकरुपमा अस्पताल संचालन गर्ने तयारीमा छौं डा.सद्दामले भन्नुभयो–‘हाललाई १५ शैयामा संचालन हुनेछ ।’

नेशनल अर्थोपेडिक हस्पिटल

अर्थोपेडिक डेडिकेटेड अस्पताल बुटवलपछिको पहिलो हो । लुम्विनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका अर्थोका बिरामीहरुलाई सहज, सर्वसुलभ र गुणस्तरीय सेवा दिने उद्देश्यका साथ अस्पताल संचालनमा ल्याइएको यो अस्पतालले बिरामीहरुलाई भारत वा काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास गरिएको छ । करिव ८ करोडको लागतमा संचालनमा ल्याइएको नेशनल अर्थोपेडिक हस्पिटल अर्थो केन्द्रीत भएपनि अन्य विशिष्टिकृत सेवा समेत विस्तारको योजना लिएको छ ।

‘स्वभाविकरुपमा यो अर्थोका बिरामीको उपचार गर्ने डेडिकेटेड अस्पताल त हो नै तर यहाँ आइसकेपछि अन्य रोगका बिरामीहरु अन्यन्त्र जान नपरोस् भन्ने उद्देश्यले न्यूरो, फिजिसियनलगायतका सेवा पनि प्रवाह गर्दै लैजाउने योजनामा छौं’ उहाँले भन्नुभयो । भेरी अस्पतालमा अर्थो विभागमा समेत कार्यरत ३४ वर्षीय अर्थोपेडिक सर्जन डा. सद्दामले किन आफै अस्पताल संचालनको योजना बनाउनुभयो ?

डा.सद्दामले कम्तिमा बिरामीले अस्पतालमा आइसकेपछि छिटो छरितो, सहज, सर्लसुलभ र गुणस्तरीय सेवा प्राप्त गरोस् भन्ने उद्देश्यले अर्थोको छुट्टै डेडिकेटेड अस्पताल संचालनमा ल्याइएको स्वास्थ्य पेजलाई प्रष्ट्याउनुभयो ।

उहाँले यसक्षेत्रका बिरामीलाई मात्र नभएर भारतीय बिरामीलाई समेत उपचार दिन सकिने बताउनुभयो । दुर्घटनामा परेर फ्याक्चर भएका, हातखुट्टा झमझमाउने, नसा च्यापिएका, पैतला पोल्ने लगायतका समस्या भएका लिएर अहिलेपनि उपचारका लागि भारत गइरहेका छन् । तर नेपालगन्जमै अर्थोको डेडिकेटेड अस्पताल संचालन भएपछि बिरामीहरुलाई ठूलो राहात मिल्नेछ । भारतको लखनउ भन्दा राम्रो उपचार, त्यहाँको भन्दा सस्तो र गुणस्तरीय रुपमा दिइने पनि डा.सद्दामको भनाइ छ ।

को हुनुहुन्छ डा. सैयद सद्दाम ?


नेपालगन्ज उपमहानगरपालिका–२ न्यूरोडमा विस २०४७ सालमा जन्मनुभएका डा .सैयद सद्दाम ३४ वर्षको हुनुभयो । उहाँले ३२ वर्षको उमेरमै एम.एस गर्नुभयो ।

कक्षा चारसम्म राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययन गर्नुभएका उहाँले एसएलसी भने विस २०६३ सालमा एविसि रेसिडेन्टल वोर्डिङ स्कुलबाट गर्नुभयो । विस २०६६ सालमा काठमाडौं लैनचउरबाट आइएस्सी गरेपछि उहाँले नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट विस २०७२ सालमा एमबीबीएस पूरा गर्नुभयो । त्यसपछि उहाँले करिव एक वर्ष मेडिकल कलेजकै इमरजेन्सीमा काम गर्नुभयो । ६–७ महिना खजुरा पोलिक्लिनिकमा गर्नुभयो ।

योबीचमा केही दातृ निकायका स्वास्थ्य कार्यक्रममा पनि उहाँले सेवा दिनुभयो । विस २०७९ सालमा भने उहाँले के.युबाट एम.एस गर्नुभयो । हाडजोर्नी तथा नशा रोग विशेषज्ञता हासिल गरेपछि उहाँको भेरी अस्पतालमा पोष्टिङ भयो । उहाँको चाहना पाइलट बन्ने थियो । तर डाक्टर बनेर अहिले आफैले अस्पताल संचालन गरेर यसक्षेत्रका बिरामीलाई सेवा दिदै आउनुभएको छ । ‘मेरो रुचि खास पाइलट बन्ने थियो तर बुवाको प्रेरणाले गर्दा म डाक्टर भए’–उहाँले भन्नुभयो । उहाँका बुवाको निधन भइसकेको छ । आमा हुनुहुन्छ । ६ जना दाजुभाइ । एक जना दिदी । एकजना दिदीको निधन भयो ।

‘हाम्रो ठूलो र संयुक्त परिवार हो उहाँ भन्नुहुन्छ–‘अहेव भएपनि बुवा सदाउद्दिनलाई डाक्टरकै रुपमा यहाँका धेरैले चिन्नुहुन्छ, पाइलट बन्ने रुचि बुवाको प्रेरणाले डाक्टरमा रुपान्तरण भयो ।’ अहिलेपनि उहाँलाई आकाशमा हेलिकप्टरहरु उडेको देख्दा पाइलटको चाहनाले उथलपुथल बनाउँछ । टेबुलटेनिस र भलिबल खेलप्रतिको रुचिले पनि उहाँलाई पछ्याइरहयो । तर यी सबै रुचि र चाहनालाई पन्छ्याएर अहिले बिरामीको उपचारमा खटिनुभएको छ ।

३२ वर्षीय युवा चिकित्सकले आफ्नै बलबुदामा यति ठूलो डेडिकेटेड अस्पताल संचालनमा ल्याउने उहाँ नेपालगन्जकै पहिलो चिकित्सक हुनुहुन्छ । मुस्लिम समुदायमा अझैपनि छोराछोरीलाई पढाउनु हुदैन भन्ने एक किसीमको मनोवृत्ति छ । तर त्यहीँ समुदायमा जन्मिनु भएका सद्दाम यसक्षेत्रकै मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने अर्थोपेडिकका सम्भवतः पहिलो विशेषज्ञ चिकित्सक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘हेर्नुस् जवसम्म हामीले आफ्ना बालबालिकालाई शिक्षा दिन सक्दैनौ तवसम्म उसको भविष्य त वर्वाद हुन्छ नै त्यसले परिवार, समाज र राष्ट्रलाई समेत ठूलो नोक्सानी पुराइरहेको हुन्छ ।’ डा.सद्दामको सबै परिवार शिक्षित छ ।

  • २८ जेष्ठ २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech