ज्येष्ठ नागरिकहरूलाई कस्तो अवस्था आउँदा अस्पताल जाने ?

    • स्वास्थ्य पेज

  • १९ चैत्र २०८०, सोमबार

नेपालमा ज्येष्ठ नागरिक (पाको उमेर) को जनसङ्ख्या बढेको छ । औसत आयु बढेको कारणले ज्येष्ठ नागरिकको सङ्ख्या पनि बढेको हो । बालबालिकाहरूको जस्तै ज्येष्ठ नागरिकको स्वास्थ्य पनि संवेदनशील हुन्छ । यो उमेर समूहको खानपान जीवनशैली फरक हुने भएकाले हेरचाह र स्वास्थ्योपचार फरक भएको हो । तर ज्येष्ठ नागरिकको हेरचाह र स्वास्थ्योपचारमा हाम्रो समाजमा प्रशस्त भ्रम र लापरबाही छन् । जसले ज्येष्ठ नागरिकहरूलाई सधैँ जोखिममा धकेलिरहेको हुन्छ ।

ज्येष्ठ नागरिकमा कुनै शारीरिक वा मानसिक समस्या आए सबैभन्दा पहिला बुढ्यौलीले गर्दा हो भनेर वास्ता गर्दैनौँ । जटिल लक्षण र अवस्था आएपछि मात्रै अस्पताल दौडन्छौँ । यो नै सबैभन्दा ठुलो भ्रम र लापरबाही हो । काठमाडौँ मेडिकल कलेज सिनामंगलका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा अनन्त अर्यालले धेरैजसो ज्येष्ठ नागरिक रोगले च्यापेर धेरै जोखिम अवस्थामा पुगेपछि मात्रै अस्पताल वा चिकित्सकको सम्पर्कमा आउने गरेको बताउनुभयो । मानिसलाई लाग्ने कतिपय रोग ४० वा ५० वर्ष कटेपछि मात्र देखिन्छन् । तर त्यसलाई बुढ्यौलीको सङ्केत भनेर टार्नु नहुने उहाँको सुझाव छ ।
रोगको उपचार गराउने भन्दा बुढ्यौली लाग्यो भनेर टार्नुले नै समस्या जटिल बन्ने डा.अर्यालले बताउनुभयो । नेपालीहरूको जीवनशैली बदलिए पनि खानपान बदल्न नसकेको कारणले स्वास्थ्यमा सधैँ समस्या आइरहेको विभिन्न अध्ययनले देखाएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच न्युन शुल्कमा नियमित रुपमा गर्न सकिन्छ । तर हामी समस्या बल्झाएर हजारौँ खर्च गर्न तयार हुन्छौँ । हामीले नियमित चेकजाँच गर्ने हो भने ज्येष्ठ नागरिकमा देखिने विभिन्न रोगहरू उल्लेख्य घटाउन सकिन्छ । प्रस्तुत छः ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. अनन्त अर्यालसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश ।

नेपालमा पाका उमेरका व्यक्तिहरूको जनस्वास्थ्यको अवस्था कस्तो पाउनुभएको छ ?

अहिलेको तथ्यांकअनुसार नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दो छ । अहिले १०.२ प्रतिशत ज्येष्ठ नागरिकहरू हुनुहुन्छ । ३० लाख जति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ । उहाँहरूको स्वास्थ्य अवस्थाको कुरा गर्दा मैले नेपालमा के पाएको छु भन्दा यदि बच्चालाई सानो समस्या भयो भने पनि अस्पताल दौडिइहाल्ने । तर ज्येष्ठ नागरिकमा कुनै किसिमको शारीरिक, मानसिक होस्, जस्तो समस्या आए पनि सकभर यो चाहिँ बुढ्यौलीले गर्दाखेरि हो । उमेरले गर्दाखेरि हो । यो सामान्य नै हो भनेर बसिराख्ने । रोग जटिल भएपछि मात्रै अस्पतालमा आउने परिपाटी मैले देखेको छु । जसले गर्दा कतिपटक ज्येष्ठ नागरिकहरू उपचार गराउन आउँदा खेरी रोग धेरै बढेर आइसकेको अवस्थामा आइपुग्नु हुन्छ । अहिलेको अवस्थामा आउँदा प्रेसर, सुगरजस्ता रोगहरू पनि एकदमै बढिराखेको छ । सहरका व्यक्तिलाई मात्रै नभइकन प्रेसर, सुगरका समस्या चाहिँ गाउँघरका ज्येष्ठ नागरिकहरूमा पनि उत्तिकै मात्रामा देखिएको छ । हाम्रो अस्पतालकै कुरा गर्नुहुन्छ भने पनि सहर बाहिरका व्यक्तिहरु पनि धेरै नसर्ने रोगहरू लिएर आइराख्नुभएको छ ।

हाम्रो जीवनशैली असन्तुलित, जोखिमपूर्ण छ भनिन्छ, युवा अवस्थामा हामीले जुन हिसाबले काम गर्छाैँ, जुनखालको जीवनशैली अपनाउँछौँ, ज्येष्ठ अवस्थामा त्यसको असरले गरिरहेको हो कि के कारणले त्यस्तो भइरहेको छ ?
केही रोग छन्, जुन ६०÷६५ वर्षपछि मात्रै लाग्छन् । तर केही रोगहरू ३०÷४० कै उमेरदेखि सुरु हुन्छ र ती रोगहरू ज्येष्ठ नागरिकमा थुप्रिँदै जान्छन् । मधुमेह र उच्च रक्तचाप भनेको ६० वर्षभन्दा माथि मात्रै देखिने रोग होइन । यो भनेको ४० तिरैबाटशसुरु हुन्छ । अहिले त ३० तिरैबाट मधुमेह र उच्च रक्तचापका समस्या देखिन थालेको छ । यो हाम्रो जीवनशैलीले गर्दाखेरि नै हो । हाम्रो देश कृषिप्रधान देश हो । हाम्रो जीवनशैली पहिले खेतीपाती गर्ने थियो । अहिले हामी खेतीपाती गर्न छोड्यौँ । अहिले धेरैजना सहर केन्द्रित भयौँ । खेतीपाती छोड्दै जाने, सहर केन्द्रित हुने र एकदमै व्यस्त जीवनशैली हुने, तनाव व्यवस्थापन गर्न पनि गाह्रो हुने, त्यसमाथि खाना पनि परिवर्तन भएन । हामी जुनबेला खेतीपाती गथ्र्यौं, त्यही बेलाको खाना अझै हामी खाइरहेका छौँ । हामी ब्यालेन्स डाइट खान्छौँ ।जस्तैः भात, दाल, तरकारी, अचार यो सबै हुँदाखेरी हामीले ब्यालेन्स डाइट त पाउँछौँ तर हाम्रो अहिलेको खानामा कार्बोहाइडेडको मात्रा, भात हामी धेरै खान्छौँ । हो, खेतीपाती गर्दाखेरि हामीलाई भात धेरै चाहिन्थ्यो । तर अहिले हाम्रो त्यस्तो परिश्रम छैन । त्यो अवस्थामा हामीलाई भात त्यति नै मात्रामा चाहिँदैन । खानामा कार्बोहाइडेडको मात्रा बढी हुनु, जंक फुडहरु धेरै खाने, त्यसले गर्दा मधुमेह, उच्चरक्तचाप, थाइराइडका समस्याहरू देखिराखिएका छन् । अहिले स्वास्थ्यको लागि राम्रो छ भनेर फलफूल, तरकारीहरू खान्छौँ । ती तरकारीहरू कति धेरै विषादी हालेर, किटनाशक औषधि हालेर उत्पादन भइराखेको छ हामीलाई थाहा छैन । त्यसले पनि हाम्रो रोगहरूलाई बढाइराखेको छ । उमेर बढ्दै जाँदा ३०÷४० मा भएका रोगहरुपनि ६० वर्ष माथि हुँदा थपिँदै जाने । र ६० वर्षमाथिमा देखिने रोगहरू पनि थपिँदै जाँदाखेरि अहिलेको अवस्थाको ज्येष्ठ नागरिकलाई अझ गाह्रो भइरहेको छ । हाम्रो औसत आयु त बढ्यो । त्यो सँगसँगै रोगहरू पनि बढ्दै गइरहेको छ ।
अन्य देशको नागरिकको तुलनामा हाम्रो जीवनशैली असन्तुलित र जोखिमपूर्ण हो, मान्न सक्छौँ ?
हामीले अझै पनि हाम्रो खानामा ध्यान दिएका छैनौँ । हाम्रो परिश्रम परिवर्तन भयो । हाम्रो जीवनशैली परिवर्तन भयो । काम गर्ने तरिका परिवर्तन भयो त्यो हिसाबले खानपिन त परिवर्तन गर्नुपर्थ्यो नि त । कार्बोहाइटडेडलाई कम गरेर प्रोटिन, फलफूल, तरकारीलाई ज्यादा जोड दिनुपर्थ्यो । भात र रोटीलाई कम गरेर दाल, तरकारी, फलफूलहरूलाई बढाउनुपर्ने थियो । अझै पनि बढेको छैन । हामी अझै पनि भात धेरै नै खान्छौँ । जसले गर्दा मधुमेहको समस्या देखिइराखेका छन् । अर्को कुरा, सबैलाई तनाव बढाइराखेको छ । कोही पनि मानिसलाई एउटा मात्रै ठाउँमा काम गरेर नपुग्ने अवस्था छ । दुई, तीन ठाउँमा दौडिनुपर्दा त्यसले तनाव पनि बढाइराखेको छ । र प्रदूषण पनि त्यही अनुसारले बढिराखेको छ । प्रदूषणले पनि विभिन्न किसिमका रोगहरू निम्त्याउँछ । समग्रमा भन्नुपर्दा धेरै व्यस्त हुने र आफूलाई समय दिन नसक्दा, व्यायामको लागि, योग, प्राणायाम, ध्यानको लागि समय दिन नसक्दा त्यसले पनि रोगहरूलाई बढाइराखेको छ ।
अहिलेको अवस्थामा नेपालका ज्येष्ठ नागरिकमा देखिएका खास–खास समस्याहरू चाहिँ के–के हुन् ?
उच्च रक्तचाप, मधुमेह, थाइराइडका समस्याहरू, जुन नसर्ने रोगहरू छन् । यि रोगहरू ४०÷५० बाट सुरु भएर ६०÷७० सम्म यि थपिदैँ गइरहेका छन् । दमको समस्याहरू देखिँदै गइरहेको छ । त्यस्तै ज्येष्ठ नागरिकमा देखिने समस्या, अल्जाइमर्स रोग, विस्मृतिका रोग बढ्दै छ । डिमेन्सियाका समस्याहरू पनि देखिन्छ । पार्किन्सन्स रोगहरू । त्यस्तै आँखा देख्ने, कान सुन्न पनि कम हुनु । आँखामा मोतिबिन्दुहरु देखिने, कानको सुन्ने शक्ति पनि कम हुँदै जानु, उमेर बढ्दै जाँदाखेरि हड्डीहरु खिइने, घुँडाको समस्याहरू देखिन्छ । कम्मरको हड्डीहरु भाँच्चिने समस्याहरू पनि देखिन्छ । त्यसकारण थला पर्ने र समयमा त्यसको उपचार भएन भने विभिन्न समस्याहरू देखिन्छ । ज्येष्ठ नागरिक पुरुषहरुमा प्रोस्टेडको समस्याहरू पनि देखिन्छ । महिलाहरुमा आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सरका समस्याहरू र उमेर बढ्दै जाँदा विभिन्न क्यान्सरको जोखिम पनि बढ्छ । पेटको क्यान्सर, फोक्सोको क्यान्सर, कलेजको समस्याहरू पनि देखिन्छ । हर्टअट्याक हुने सम्भावना र अर्को मस्तिष्क घातको समस्याहरू पनि बढ्दै गएको देखेका छौँ ज्येष्ठ नागरिकहरूमा ।
प्रौढ नागरिकमा आउने यस्ता समस्याहरूमा हाम्रो उपचार पद्धति कस्तो छ ?
 ज्येष्ठ नागरिकमा पहिल्यै देखिराखेको समस्याहरुको उपचार उहाँहरूले पाइराख्नुभएको हुन्छ । उच्च रक्तचाप, मधुमेह, दम, थाइराइडका लागि उहाँहरूले उपचार पाइराख्नुभएको हुन्छ । तर ६० वर्षभन्दा माथि देखिने रोगहरू, जस्तैः बिर्सिने समस्याहरू, पार्किन्सन्स रोगका समस्याहरू अथवा विभिन्न क्यान्सरहरुमा के भइराखेको छ भने उपचारमा ढिलाइ भइराखेको छ । उमेरले गर्दा बिर्सिएको भनेर त्यसलाई बेवास्ता भइराखेको छ । लामो समयदेखि खोकी लागिरहेको छ, बुढ्यौलीले गरेर खोकी लागिराखेको छ भनेर वेवास्ता भइराखेको छ । लामो समयदेखिको खोकी दम पनि हुनसक्छ । लामो समयदेखिको खोकी क्यान्सर पनि हुनसक्छ ।लामो समयदेखि खोकी लाग्नु कतै फोक्सोको क्यान्सरको लक्षण पनि त हुनसक्छ । त्यो बढेर मान्छेले खाना खान छोड्ने, दुब्लाउँदै जाने र एकदमै अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पतालमा आएको हुन्छ । क्यान्सर अन्तिम चरणमा छ भने धेरै गर्न सक्ने त हुँदैन । तर समयमै अस्पताल आउनुभएको भए क्यान्सर पहिल्यै पत्ता लाग्थ्यो होला । म के भन्छु भने ज्येष्ठ नागरिकमा कुनैपनि किसिमको शारीरिक समस्या होस् । अथवा मानसिक समस्या होस् । कुनैपनि परिवर्तन देखियो भने चाँडै डाक्टरको परामर्शमा गयौँ भने हामीले धेरै रोगहरुको उपचार गर्न सक्छौँ ।
ज्येष्ठ नागरिकको उपचारको खर्च कत्तिको सुलभ छ ?
केएमसी (काठमाडौँ मेडिकल कलेज) को कुरा गर्नुहुन्छ भने यहाँ त यस्तो सजिलो छ, पचास रुपैयाँको नयाँ टिकटले र २५ रुपैयाँको फलोअप टिकले यहाँ विशेषज्ञलाई भेट्न सक्नुहुन्छ । मधुमेहकै कुरा गर्नुहुन्छ भने कतिजना बिरामी आइसियुमा भर्ना गर्नुपर्ने अवस्थामा आउनुहुन्छ । डेढ सय रुपैयाँ छ भने तपाईले सुगरको उपचार गर्न सक्नुहुन्छ । विशेषज्ञ डाक्टरसँग परामर्श लिएर के औषधि खाने, कसरी खाने तपाईले मलाई भेट्न सक्नुहुन्छ । डेढ सय रुपैयाँको लोभ गरेर सुगरको उपचार नै नगरेर कतिजना बिरामीहरू एकैचोटी आइसियुमा आइपुग्नु हुन्छ । यहाँ आउनुहुन्छ भने सुलभ तरिकाले उपचार हुन्छ । दमको समस्या छ भने पनि तपाईँहरू आएर उपचार गर्न सक्नुहुन्छ । थाइराइड, उच्च रक्तचाप, बिर्सिने रोगको समस्याको उपचार पनि यहाँ हुन्छ । अल्जाइमर्सको पनि यहाँ उपचार हुन्छ ।डिमन्सिया लाग्न बित्तिकै उपचार सम्भव छैन भन्ने भ्रममा हुनुहुन्छ भने त्यो गलत हो । हामी यहाँ कसरी पनि उपचार गर्छौं भन्दाखेरी एउटै जेष्ठ नागरिकमा धेरैथरी रोगहरू पनि हुनसक्छ । हामी कम भन्दा कम औषधिले कसरी हुन्छ उपचारमा जान्छौँ । तपाई केएमसीमा आउनुभयो भने यहाँ एउटा ज्येष्ठ नागरिकलाई चाहिने सम्पूर्ण फ्याकल्टीहरु हाम्रोमा हुनुहुन्छ । मुटु रोग, कलेजो रोग, पेट सम्बन्धी रोग, नसा सम्बन्धी रोग, हाडजोर्नीको विशेषज्ञ पनि हुनुहुन्छ । एउटा ज्येष्ठ नागरिक केएमसिभित्र छिर्नुभयो भने उहाँलाई यहाँ पूर्ण उपचार गर्न सक्छौँ ।
प्रौढ अवस्थामा आउने समस्याहरुको घरेलु उपचार विधिहरू पनि केही हुन सक्छन् ?
ज्येष्ठ नागरिकहरू विभिन्न अवस्थामा हुन सक्नुहुन्छ । नेपालमा कानुनले ६० वर्षभन्दा माथिको नागरिकलाई ज्येष्ठ नागरिक भनेर पहिचान गराउँदछ । ६० वर्ष हुनासाथ सबै समस्या हुन्छन् भन्ने होइन । कोही ८० वर्षको भए पनि कुनै पनि औषधि नखाएको पनि हुन सक्नुहुन्छ । भनिन्छ नि रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमता हो । घरमा सन्तुलित आहार गरियो भने विभिन्न रोगबाट बच्नसक्छौँ । ज्येष्ठ नागरिकले भात, रोटी, अन्नलाई ज्यादा केन्द्रित गर्नुभन्दा पनि प्रोटिन, तरकारी, फलफूललाई ज्यादा जोड दिदाँखेरी राम्रो हुन्छ । अर्को भनेको, धेरै जना नेपालीहरुमा भिटामिन डि को कमी देख्छौँ । ज्येष्ठ नागरिकमा पनि त्यो देख्छौँ ।दैनिक एकघण्टा घाम ताप्यौँ भने भिटामिन डि हाम्रो शरीरलाई पर्याप्त मात्रामा पुग्छ । त्यसो गर्दा भिटामिन डि, क्याल्सियमको कमी, हड्डी खिइने समस्याहरूबाट हामी जोगिन सक्छौँ । नियमित व्यायाम ग¥यौँ भने पनि मधुमेह, उच्च रक्तचापबाट बच्नसक्छौँ । दैनिक ३० मिनेट बिहान र ३० मिनेट बेलुका छुट्याएर हिँड्नुभयो भने पनि उच्च रक्तचाप, मधुमेह, हड्डीहरु कमजोर हुनेदेखि लिएर विभिन्न रोगहरुबाट बच्न सक्नुहुन्छ । त्यसकारण दैनिक हिँडडुल गरौँ । सक्नुहुन्छ भने नाचगान पनि गर्न सक्नुहुन्छ । नाँच्नुपनि शरीरको लागि एकदमै राम्रो हो । समूहमा भजन, किर्तनमा गएर नाच्नुभयो भने उहाँको शारीरिकलाई मात्रै होइन मानसिक अवस्थालाई पनि राम्रो बनाउनलाई मद्दत गर्छ ।धेरै जना ज्येष्ठ नागरिक पुरुषहरु पिसाबको समस्याले निन्द्रा गडबढ् भएर, निन्द्रा गडबढ भएपछि त्यसले मधुमेह, उच्च रक्तचाप बढाएर पनि आउनुहुन्छ । त्यसकारण म उहाँहरूलाई के भन्न चाहन्छु भने पुरुषहरूमा उमेर बढ्दै गएपछि प्रोस्टेड ग्रन्थी बढेर त्यसले पिसाबको समस्या लिएर आउँछ । राती धेरैचोटी पिसाब गइराख्नु पर्ने त्यसको कारणले पनि हुनसक्छ । त्यसकारण यदि प्रोस्टेटको समस्या छ भने औषधि खाएर पनि नियन्त्रणमा राख्न सकिन्छ । राति धेरैचोटी पिसाबमा जानु परेन भने उच्च रक्तचाप र मधुमेह पनि कन्ट्रोल हुन्छ । जसलाई राति धेरैपटक पिसाब जाने समस्या छ, के कारणले हो त्यसको उपचार गराउनुपर्यो ।दोस्रो घरेलु तरिका बिहान र दिउँसो मज्जाले पानी पिउने, साँझ पर्दै गइसकेपछि पानीको मात्रालाई एकदमै कम गर्ने । जुन औषधी बिहान, दिउँसो खान मिल्छ, त्यसलाई बिहान, दिउँसो नै खाने । रातिलाई नराख्ने । औषधि खाँदा पनि थोरै पानीले खाइयो भने राती धेरैचोटी पिसाबको लागि उठ्नु परेन । धेरै जनाको बानी राति पिसाब फेर्न उठिसकेपछि फेरि पानी खाएर सुत्ने । त्यो बानीलाई हटाउनुप¥यो । जसलाई राति धेरैचोटी पिसाब लाग्छ, उहाँहरुले साँझ परेपछि पेय पदार्थहरु चिया, कफी अथवा दुधको मात्रा घटाउने । निन्द्रा राम्रोसँग परेन भने त्यसले विभिन्न समस्याहरू निम्त्याउँछ । त्यही भएर ज्येष्ठ नागरिक ६ देखि ८ घण्टा गहिरो निद्रा हुन जरुरी छ । सन्तुलित खाना खानुहोला ।घुँडाको समस्या छ भने उकालो–ओरालो धेरै नगर्नु होला । तर सम्मोमा हिँड्न सक्नुहुन्छ । जुन अवस्था छ त्यो अवस्थाको शारीरिक परिश्रम गरिराख्यो भने विभिन्न समस्याहरू हल हुन्छन् । कब्जियतको समस्या हुनेले सागपात र पानीको मात्रालाई बढाउनु होला । ओछ्यानमा परेका ज्येष्ठ नागरिकहरूलाई एकदमै ख्याल गर्नुपर्ने हुन्छ हामीले । दुई, दुई घण्टामा उहाँहरुको पोजिशन चेन्ज गरिराख्ने । ओछ्यान पर्नेलाई प्रोटिनको मात्रा बढी चाहिन्छ । युवा अवस्थामा हामीलाई एक ग्राम प्रतिकेजी प्रोटिन चाहिन्छ भने ओछ्यान परेको ज्येष्ठ नागरिकलाई डेढ ग्राम प्रतिकेजीसम्मको प्रोटिन चाहिन्छ । उहाँहरूलाई भात भन्दापनि प्रोटिनका चिजहरु अण्डा, मासु, गेडागुडी, ब्रोकाउली, गेडागुडीहरुलाई खान सकिन्छ । त्यसलाई जोड गर्नुहोला ।ओछ्यान परेका ज्येष्ठ नागरिकलाई सुताइसुताइ केही पनि खान दिनुहुँदैन । सुतेको बेला पानी सर्किन्छ । सर्किएर हुने निमोनिया एकदमै कडा हुन्छ । त्यही सर्काइले नै मृत्युको कारणसम्म हुनसक्छ । तेल लगाइदिने, मसाज गरिदिने गरियो भने पनि घाउ हुने सम्भावना कम हुन्छ र दोस्रो भनेको रगत जम्ने सम्भावना पनि कम हुन्छ । उहाँहरूलाई फिजियोथेरापी गरियो भने पनि एकदमै राम्रो हुन्छ ।
ज्येष्ठ नागरिकहरूलाई कस्तो अवस्था आउँदा अस्पताल आइहाल्ने ?
ज्येष्ठ नागरिकमा कुनै पनि किसिमको शारीरिक र मानसिक समस्याहरू आएमा । हामी धेरै शरीरमा मात्रै समस्या भयो भने आउँछौ । तर ज्येष्ठ नागरिकमा मानसिक समस्या पनि उत्तिकै बढ्दो हुन्छ । एन्जाइटि, डिप्रेशनको समस्या पनि ज्येष्ठ नागरिकमा हामीले धेरै देखिराखेका हुन्छौँ । त्यही भएर ज्येष्ठ नागरिकमा कुनै पनि समस्या आयो । हप्ता, दश दिनमा ठिक भएन भने तुरुन्त अस्पताल आइहाल्नुस् । ज्येष्ठ नागरिकमा सङ्क्रमण नै भयो भने पनि सधैँ ज्वरो आउँछ भन्ने जरुरी छैन । किनभने रोग प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आइसकेको हुनाले सबै सङ्क्रमणमा ज्वरो आउँछ भन्ने जरुरी छैन ।ज्येष्ठ नागरिकको अवस्थामा अलिकति पनि परिवर्तन आयो भने यो कतै कुनै रोगको लक्षण त होइन भनेर समयमै उपचार गर्न आइयो भने त्यो रोग जटिल हुनबाट बचाउन सक्छौँ । जटिलतातिर गएन, सुरुवाती अवस्थामै भयो भने जुनसुकै रोग पनि उपचार गर्न सक्छौँ । समयमै उपचार गरियो भने खर्च पनि धेरै लाग्दैन । जटिल भइसकेपछि खर्च पनि बढ्छ । र त्यो रोग निको हुन पनि गाह्रो हुन्छ ।
अन्तिममा आम नागरिकहरूलाई यहाँको केही सुझाव छन् कि ?
खुसीको कुरा नेपालमा पनि ज्येष्ठ नागरिक रोगको विशेषज्ञ डाक्टरहरूको सङ्ख्याहरू बढ्दै छ । अहिले हामी चार जना छौँ नेपालमा । अरू डाक्टरहरू पनि आउँदै हुनुहुन्छ । त्यही भएर हजुरहरूकै विशेषज्ञ डाक्टरसावहरु नेपालमा हुनुहुन्छ भने उहाँहरूसँग सेवा लिनुहोस् । हजुरहरुको सेवाको लागि हामी तयार छौँ । तपाईहरुले हामीसँग आएर सेवा, परामर्श लिन सक्नुहुन्छ । हजुरहरुले जीवनशैलीलाई राम्रो बनाउनुहोस् । आफूले सकेको जति परिश्रम गरिराख्नुस् । तपाई जति सक्रिय हुनुहुन्छ, उहाँहरूलाई रोग लाग्ने सम्भावना त्यति कम हुन्छ । र लागेकै रोग पनि नियन्त्रणमा बस्छ । म बुढो भएँ । अब म केही गर्न सक्दिनँ । भनेर रिटायरमेण्टमा जानुभयो भने रोग लाग्ने समस्या पनि बढ्दै जान्छ । उमेर भनेको त केवल एउटा अंकमात्रै हो । तपाई आफूलाई जति जवान सम्झनुहुन्छ र जति सक्रिय भइराख्नु हुन्न नि, तपाई त्यति नै निरोगी हुनुहुन्छ । त्यति लामो आयु हुन्छ । त्यही भएर उमेर बढ्यो भन्दैमा, बुढ्यौली लाग्यो भन्दैमा अब मेरो दिन गए भन्ने चाहीँ नसोच्नु होला । हामीले जीवनशैलीलाई सक्रिय बनाइराख्यौँ, स्वस्थ जीवनशैली बनाइराख्यौँ भने बुढ्यौलीलाई स्वस्थ र खुसीयालीपूर्ण तरिकाले व्यतीत गर्न सक्छौँ ।

  • १९ चैत्र २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech