देशभर ५ मात्र बाल मनोचिकित्सक, उपचार व्यवस्थामा सरकार उदासीन

समयमै अस्पताल पुर्‍याएर मानसिक स्वास्थ्यसम्बन्धी परामर्श र उपचारपछि निको पार्न सकिन्छ । उपचार पाएमा निको हुने भए पनि बिडम्बना हाम्रोमा देशैभर जम्मा ५ जना बाल मनोचिकित्सक छन् । ती पनि काठमाडौंमा मात्र ।


    • स्वास्थ्य पेज

  • २८ माघ २०८०, आईतवार

नेपालगन्जः नेपाल मानसिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो अर्थात् २०७७ सालको तथ्यांकअनुसार १३ देखि १७ वर्षका ५ दशमलव २ प्रतिशत किशोर(किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको थियो । त्यसबेला देशभरका ५ हजार ८ सय ८८ जना किशोर किशोरी सर्वेक्षणमा सहभागी थिए ।

डरलाग्दो पक्ष त सर्वेक्षणमा सहभागीमध्ये करिब ४ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्नेबारे सोच राखेका थिए भने १००० जनामा ७ जनाले त आत्महत्या प्रयास नै गरेका थिए । वयस्क व्यक्तिलाई मात्र मानसिक स्वास्थ्य समस्या देखिन्छ भनेर बुझ्नु भएको छ भने तपाई‌ गलत हुनुहुन्छ भन्ने पुष्टि यो तथ्यांकबाट हुन्छ । तपाईंका आफ्नै बालबालिकामा पनि मानसिक समस्या भएको हुन सक्छ । तर नआत्तिनुस्, समयमै पहिचान भएमा यो निको हुन्छ ।

चिकित्सकहरूका अनुसार १० देखि १५ प्रतिशत बालबालिका तथा किशोर किशोरीमा कुनै न कुनै मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको छ । त्यसमा पनि ५० प्रतिशतमा त १४ वर्षभन्दा पहिले नै मानसिक समस्या सुरु हुन्छ र यसले कालान्तरमा पनि थप जोखिम ल्याउन सक्छ ।

त्यसो भए किन हुन्छ त किशोरावस्थामै मानसिक स्वास्थ्य समस्या रु यस प्रश्नको जवाफमा बालमनोचिकित्सक डा. अमित झा भन्नुहुन्छ प्रमुख कारण हुन् जैविक, सामाजिक र मनोवैज्ञानिक । वंशाणुगतदेखि पढाइमा समस्या, पारिवारिक समस्या तथा प्रेमसम्मका कारणले यसमा भूमिका खेल्छन् ।

अब तपाईँलाई लाग्ला, बालबालिका तथा किशोरावस्थामा हुने मानसिक स्वास्थ्य समस्या भएको कसरी थाहा पाउने ? मनोचिकित्सकहरूका अनुसार नरिसाउने बच्चा एक्कासि रिसाउन थाल्यो, कुनै न कुनै बहाना बनाएर विद्यालय जान मन गरेन वा अनावश्यक रुने वा झर्कने गर्न थाल्यो भने बुझ्नुस् उसलाई कुनै न कुनै समस्या छ । यो क्रम बिस्तारै बढ्ने गर्दछ । आफ्ना बालबालिका वा किशोर किशोरीमा यस्ता समस्या देखिएमा आत्तिइहाल्नुपर्ने भने छैन । समयमै अस्पताल पुर्‍याएर मानसिक स्वास्थ्यसम्बन्धी परामर्श र उपचारपछि निको पार्न सकिन्छ ।

उपचार पाएमा निको हुने भए पनि बिडम्बना हाम्रोमा देशैभर जम्मा ५ जना बाल मनोचिकित्सक छन् । ती पनि काठमाडौंमा मात्र । नेपालमा एक मात्र मानसिक अस्पताल छ । प्रदेश स्तरका अस्पतालमा मानसिक इकाई भए पनि दक्ष जनशक्तिको अभाव छ । नियामक निकाय स्वास्थ्य मन्त्रालय आफू एक्लैले चाहेर मात्र यो समस्या समाधान नहुने भन्दै पन्छिने गरेको छ ।

सबै उमेर समूहका गरी नेपालमा अहिले पनि दैनिक करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ । तीमध्ये ९० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या पाइएको चिकित्सक बताउँछन् । मानसिक स्वास्थ्य समस्याले भयावह अवस्था सिर्जना हुँदा पनि सरकारले रोकथामका लागि ठोस कदम चालेको छैन । कुनै घटना वा दुर्घटना हुँदा तत्काल छानबिनका लागि कार्यदल गठन गर्ने सरकार मानसिक समस्याका कारण दैनिक ठूलो क्षति हुँदा पनि किन चुपचाप रु

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech