ग्यास्ट्रिकको कारण के हो ?

    • स्वास्थ्य पेज

  • १० कार्तिक २०८०, शुक्रबार

आमनेपालीमा देखिने गरेको पेटसम्बन्धी समस्या ग्यास्ट्रिकलाई धेरैले सामान्य रूपमा लिएको पाइन्छ । कतिपयले यसलाई नियमित औषधिकै भरमा लामो समयसम्म सहेर बस्ने गरेका छन् । ग्यास्ट्रिक जटिल बन्न सक्ने र खतरनाक अवस्था पनि निम्त्याउने विज्ञ बताउँछन् । कस्तो समस्या हो त ग्यास्ट्रिक ? यसको दीर्घकालीन उपचार छ/छैन ? लगायत विषयमा ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. सन्दीपराज कुँवरसँगको कुराकानीको सम्पादित अंश :

पेटको कस्तो समस्या हो ग्यास्ट्रिक ?
ग्यास्ट्रिक आमाशयसँग जोडिएको समस्या हो । यसले मुख्यतः दुईखाले समस्या निम्त्याउँछ, आमाशयभित्रको झिल्ली सुन्निने र रिफ्लक्स डिजिज् । रिफ्लक्स आमाशयबाट एसिड माथि फर्किने समस्या हो । यसले छाती पोल्ने, खाना खाँदा अप्ठ्यारो हुने, अमिलो पानी मुखमा आउनेजस्ता समस्या निम्त्याउँछ । अधिकांश ग्यास्ट्रिकका बिरामीलाई रिफ्लक्सले नै सताइरहेको पाइन्छ ।

ग्यास्ट्रिकको कारण के हो ?
ग्यास्ट्रिकसँग आमनेपालीलाई जोडिरहँदा यसको कारण बुझ्नु जरुरी छ । रिफ्लक्स डिजिज्को मुख्य कारण एचपाइलोरी संक्रमण हो । एचपाइलोरी एक प्रकारको ब्याक्टेरिया हो, जुन धेरैजसो मानिसमा सानैदेखि हुन्छ । कतिपयमा यो सानैमा हटेर जान्छ वा रोगप्रतिरोधी क्षमताका कारण हराउँछ भने कतिपयमा रहिरहन्छ । नेपालीको हकमा ६० प्रतिशत जनसंख्यामा एचपाइलोरी रहेको अध्ययनहरूले देखाएका छन् । तर, ती ६० प्रतिशतमध्ये पनि प्रत्येक ६ मध्ये एकजनालाई मात्रै पछि गएर यसको असर देखन्छ । एचपाइलोरी संक्रमणकै कारण आमव्यक्तिमा रिफ्लक्सका विभिन्न असरहरू देखिने गरेको छ ।

दोस्रो कारण, नेपालीमा पेन किलरको असरले ग्यास्ट्रिकसम्बन्धी विभिन्न समस्या निम्त्याएको छ । त्यसमाथि धूमपान, मद्यपान र अन्य खानपानका कारण धेरैमा ग्यास्ट्रिकले सताएको पाइन्छ । तर, हामीले सुनेजस्तो सबैलाई यसले जटिल अवस्था निम्त्याएको छ वा पेटबाहेकका अन्य समस्या पनि ग्यास्ट्रिककै कारण देखिइरहेको भन्नेचाहिँ गलत हो ।

कस्ता खानेकुराले बढाउँछ रिफ्लक्सको समस्या ?
दूध र दूधजन्य पदार्थ बढी खाने व्यक्तिमा ग्यास्ट्रिकले धेरै सताएको पाइन्छ । यसबाहेक तारेको, भुटेको, मसालेदार र दूषित खाना यसको अर्को कारक हो । यस्ता खनेकुराले पेटमा एसिडको मात्रा बढाई माथि धकेल्ने काम गर्छ । त्यसभन्दा महत्त्वपूर्ण धूमपान, मद्यपान गर्ने व्यक्तिमा रिफ्लक्सले धेरै सताउँछ ।

खानाको ‘टाइमिङ’ र रिफ्लक्स डिजिज्को कस्तो सम्बन्ध हुन्छ ?
हाम्रो पेटलाई खाना पचाएर पूर्ण रूपमा खाली हुन लाग्ने समय चार घण्टा हो । यसबीचमा खाना पेटमा रही सानो आन्द्राबाट पाचन रसायनहरू आउने र पचाउने प्रक्रिया चल्दछ । एकैपटक धेरै खानेकुरा खाँदा यो प्रक्रियामा असर पुग्न जान्छ र खाना धेरै बेर पेटमा रहे रिफ्लक्सको समस्या पनि बढ्न जान्छ ।

ग्यास्ट्रिकले दीर्घकालीन समस्या निम्त्याउँछ ?
ग्यास्ट्रिकको असर कतिसम्म देखिन्छ भन्न यसको कारण पत्ता लगाउनु जरुरी छ । माथि भनिएजस्तै एचपाइलोरी इन्फेक्सनका कारण समस्या बढिरहेको भए यसलाई एन्टिबायोटिक औषधिमार्फत निको पार्न सकिन्छ । अन्य अवस्थामा सामान्यतः ग्यास्ट्रिकको समस्या ६ देखि ८ हप्ताको औषधि सेवनबाट निको हुन्छ । तर, कहिलेकाहीँ एचपाइलोरी इन्फेक्सनकै कारण व्यक्तिलाई अल्सर हुन जान्छ ।

अल्सर एक प्रकारको घाउ हो । यही क्यान्सरको कारण पनि बन्न सक्छ । यो रक्तनलीमा पर्न गएमा आन्तरिक रक्तस्राव हुने र अवस्था निकै जटिल बन्न सक्छ । त्यसैले ग्यास्ट्रिकका लक्षण देखिएका व्यक्तिले तुरुन्तै उपचारमा पुगी कारण पत्ता लगाउन जरुरी हुन्छ ।

ग्यास्ट्रिकका बिरामी कस्तो अवस्थामा विशेषज्ञकहाँ पुग्ने ?
विशेष गरी ४५ वर्ष कटेका व्यक्ति, जसलाई क्यान्सरको जोखिम बढी हुन्छ । त्यस्तै, रगतको कमी भएका, खाना निल्दा अड्किरहने, पेटको समस्या लामो समयसम्म पनि ठिक नहुने, दिसामा रगत देखिनेजस्ता खतराका लक्षण हुन् । नचाहेरै तौल घट्नु पनि खतराको लक्षण हो । यदि, तौल घटाउने उपायहरू नगरेको र साविककै खाना खाइरहेको अवस्थामा पनि ६ महिनामा तीन केजीभन्दा बढी तौल घटेमा त्यस्ता व्यक्तिलाई विशेषज्ञकहाँ पुग्न म सल्लाह दिन्छु ।

  • १० कार्तिक २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech