आफैले पढेको विश्वविद्यालयको आकर्षक जागिर छाडेर गृह नगर नेपालगन्ज फर्किएका वरिष्ठ न्यूरो सर्जन

अत्याधुनिक उपकरण र राम्रो टिम बन्ने हो भने लखनउ, दिल्ली र काठमाडौंका अस्पतालहरुमा हुने गुणस्तरकै शल्यक्रियासहितको उपचार त्यहाँको भन्दा धेरै कम शुल्कमा नेपालगन्जमै गर्न सकिने डा. घिमिरेको बुझाइ छ ।


    • स्वास्थ्य पेज

  • ३० भाद्र २०८०, शनिबार
  • कृष्ण अधिकारी । 

बदलिदो जीवनशैली र बढ्दो सवारी दुर्घटनाका कारण नशा, मस्तिष्क र ढाड सम्बन्धी स्वास्थ्य समस्या बढ्दैं गएको छ । मस्तिष्कमा पानी जम्ने, नसा फुट्ने, ट्युमर हुने, समस्या बढ्दै गएर मस्तिष्क घात हुने (ब्रेन ह्यामरेज) हुन्छ । दुर्घटनामा परेर मस्तिष्क र ढाडमा चोट पटक लागेर उत्पन्न हुने स्वास्थ्य समस्याबाट धेरै मानिसहरु पीडित हुने गरेका छन् । त्यसैगरी मेरुदन्ड र घाटीको नसा च्यापिने, मेरुदन्डमा चोट पटक लाग्ने, भाच्चिने, ट्युमर हुनेजस्ता समस्याहरु पनि दिनानुदिन बढ्दै गएको पाइन्छ । यस्ता समस्या भएका बिरामीहरुले समयमै गुणस्तरीय उपचार सेवा पाउन नसक्दा कष्टपूर्ण जीवन बाँच्न विवश छन् ।

उनीहरुमा भएको स्वास्थ्य समस्याका निदानका लागि शल्यक्रियासहितको उपचार गर्नुपर्ने हुन्छ । तर, अझै पनि राजधानी र केही सिमित सुविधासम्पन्न सहरहरुमा बाहेक देशका अधिकांश सहरहरुमा न्यूरो सर्जरी सेवा पुग्न सकेको छैन । न्यूरो सर्जरी सेवा पुगेको ठाउँमा पनि वरिष्ठ न्यूरो सर्जन र अत्याधुनिक उपकरणहरुको अभाव कायमै छ । पश्चिम नेपालको स्वास्थ्य हब भएपनि नेपालगन्जमा अझै पनि न्यूरो सर्जरी सेवा प्रभावकारी बन्न सकेको छैन । बिरामीहरुको संख्या बढ्दै गएपनि न्युरो सर्जरी उपचार सेवाको गुणस्तर अपेक्षित रुपमा सुधार हुन नसक्दा बिरामीहरु अहिले पनि उपचारका लागि काठमाडौं वा भारतको लखनउ, दिल्ली जाने गरेका छन् ।

भारतको ख्याति प्राप्त स्वास्थ्य संस्था जीवी पन्त इन्स्टिच्युट अफ पोष्ट ग्याजुएट मेडिकल एजुकेसन एण्ड रिसर्चमा पूर्ण छात्रवृत्तिमा न्यूरो सर्जरीमा एमसीएच गरेका ३३ वर्षीय चिकित्सक डा.निरज घिमिरे आफ्नो करियरको सुरुवात गृह जिल्लाको नेपालगन्ज मेडिकल कलेजबाट गर्नुभएको छ। आफैले उच्च शिक्षा आर्जन गरेको कलेजको आकर्षक जागिरको अवसर छाडेर डा.घिमिरेले आफ्नै गृह जिल्लामा केही गरौं भन्ने उद्देश्यका साथ फर्किनु भएको छ ।

ख्यातिप्राप्त स्वास्थ्य संस्थाको रुपमा सूचीमा पर्ने भारतको जेआईपीएमआरबाट उच्च शिक्षा हासिल गरेका वरिष्ठ न्यूरो सर्जन डा.घिमिरे गृह जिल्लाको न्यूरो सर्जरी उपचार सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने लक्ष्यका साथ आफ्नो करियरलाई अगाडि बढाइ रहनु भएको छ । मेडिकल कलेजको समयपछि डा.घिमिरेले नेपालगन्जको भुजइ गाउँस्थित केयर सिटी अस्पतालमा पनि बिरामीको चेक जाँच र उपचार गर्दै आउनु भएको छ । ‘न्यूरो सर्जरी उपचार सेवाका क्षेत्रमा हामी छिमेकी देश भारतको तुलनामा कमजोर अवस्थामा छौं । अहिलेको अवस्थामा सुधार गर्नका लागि धेरै काम गर्नु जरुरी छ । त्यसका लागि समुदायस्तरमा स्वास्थ्य सचेतना बढाउनेदेखि समुदाय तहमै कस्तो स्वास्थ्य समस्याको कुन स्वास्थ्य संस्थामा कस्तो विशेषज्ञ चिकित्सकसँग उपचार गराउने भन्ने प्रष्ट र सही जानकारी पुर्‍याउन अत्यावश्यक छ,’ उहाँको भनाइ छ ।

स्वास्थ्यमा कुनै समस्या भयो भने समस्या भएको व्यक्ति चिकित्सकसँग भन्दा पहिले औषधि पसलमा पुग्ने र विशेषज्ञ चिकित्सकको सल्लाह बिनै औषधी खान सुरु गर्ने प्रवृत्ति छ । आफूलाई भएको स्वास्थ्य समस्या र त्यसको उपचार कहाँ, कुन विशेषज्ञ चिकित्सकबाट गराउन उपयुक्त हुन्छ भन्ने जानकारी नहुँदा बिरामीहरुको समय र पैसा धेरै खर्च हुन्छ । चिकित्सकहरु फेर्दाफेर्दै स्वास्थ्य अवस्थामा जटिल बन्दै गएपछि अन्तिम अवस्थामा बल्ल विशेषज्ञ चिकित्सककोमा पुग्ने गरेको पाइन्छ । त्यतिबेला धेरै नै ढिलो भइसकेको हुन्छ । डा घिमिरेको भनाइ छ, ‘स्वास्थ्य समस्या देखिना साथ विशेषज्ञ चिकित्सकको सल्लाह बिना आफै जान्ने भएर औषधि खाने र औषधि पसलेलाई विशेषज्ञ चिकित्सकलाई भन्दा बढी विश्वास गरेर उसैको सल्लाहअनुसार औषधि उपचार गराउने गरेको देखिन्छ ।’

स्वास्थ्यमा समस्या देखिएपछि आफन्त, नजिकको औषधि पसलेका अतिरिक्त अन्य स्वास्थ्यकर्मी र चिकित्सकहरुसँग परामर्श गरेर उपचार सुरु गर्दा स्वास्थ्य समस्याको पहिचान र निदान गर्न सहज हुन्छ । न्यूरो सर्जरी उपचार सेवालाई थप प्रभावकारी बनाउन चिकित्सकको राम्रो टिम, अत्याधुनिक उपकरण र राम्रो ब्यवस्थापन भएको स्वास्थ्य संस्था आवश्यक हुन्छ । नेपालगन्जमा दक्ष चिकित्सक भएपनि अत्याधुनिक उपकरण र राम्रो ब्यवस्थापन भएको स्वास्थ्य संस्था छैनन् नै भन्दा पनि हुन्छ । मेडिकल कलेजको शिक्षण अस्पताल र नेपालगन्जको भेरी अस्पतालले न्यूरो सर्जरी सम्बन्धी जटिल समस्या भएका अधिकांश बिरामीलाई थप उपचारका लागि भारतको लखनउ, दिल्ली र काठमाडौं रेफर गर्ने गरेका छन् ।

अत्याधुनिक उपकरण र राम्रो टिम बन्ने हो भने लखनउ, दिल्ली र काठमाडौंका अस्पतालहरुमा हुने गुणस्तरकै शल्यक्रियासहितको उपचार त्यहाँको भन्दा धेरै कम शुल्कमा नेपालगन्जमै गर्न सकिने डा. घिमिरेको बुझाइ छ । नेपालगन्ज मेडिकल कलेज ज्वाइन गरेको करिब ६-७ महिनाको अवधि मै डा.घिमिरेले आफ्नै नेतृत्वमा ब्रेन ट्युमर, मेरुदण्ड र घाँटीका ६ वटा ठूला र जटिल प्रकारका शल्यक्रियासहित करिब ८० वटा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसक्नु भएको छ। उहाँले पश्चिम नेपालमै मस्तिष्क घातका बिरामीको क्याथ ल्याबका माध्यामबाट मेकानिकल थ्रोम्बेक्टोमीबाट उपचार सुरु गर्ने लक्ष्य राख्नु भएको छ । त्यसैगरी मृर्गी रोगका बिरामीहरुको इसिओजी विधिबाट शल्यक्रियासहितको उपचारका लागि प्रयास गरिरहनु भएको छ । न्यूरो सर्जरी सेवा प्रभावकारी बन्दै गएपछि सवारी दुर्घटनामा परी गम्भीर घाइते भई तत्कालै शल्यक्रिया गरेर उपचार गर्न नपाएका कारण ज्यान गुमाउनुपर्ने अवस्थामा कम हुँदै जाने उहाँको विश्वास छ ।

डा उपेन्द्रलाई पछ्याउँदैं न्यूरो सर्जन बन्नु भएका डा.घिमिरे

स्कुलमा पढ्दा डा.बाबुराम भट्टराई र उपेन्द्र देवकोटाको नाम धेरै सुन्ने गर्नुहुन्थ्यो । बाबुराम एसएलसीमा फष्ट र उपेन्द्र सेकेन्ड हुनु भएको थियो । बाबुराम इन्जिनियर हुँदै राजनीतिमा लाग्नुभयो देशको प्रधानमन्त्री नै हुनुभयो भने डा. उपेन्द्र देवकोटाको नाम न्यूरो सर्जनका रुपमा निकै चर्चित बन्यो । डा.देवकोटाको नाम र चर्चा सुन्दा डा.घिमिरेलाई पनि भविष्यमा गएर न्यूरो सर्जन बन्नुपर्छ लागेको थियो । न्यूरो सर्जन बन्ने लक्ष्य राखेर मात्रै हुँदैन थियो, त्यसका लागि त्यहीअनुसार मेहनत पनि आवश्यक थियो ।

उहाँले जे लक्ष्य राखे त्यही लक्ष्य पूरा गर्ने गरी पढाइलाई अगाडि बढाउँदै जाँदा एमसीएच न्यूरो सर्जरी पास गर्न सफल हुनुभयो। बाँकेको कोहलपुर घर भएका डा.घिमिरेले स्थानीय दिपज्योति विद्याश्रमबाट एसएलसी गर्नुभएको हो । प्रसादी कलेज ललितपुरबाट प्लस टु गर्नुभएका उहााले धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट आंशिक छात्रवृत्तिमा (२००९ -१४) एमबीबीएस पूरा गर्नुभयो । जनरल सर्जरीका लागि भारतको जहावरलाल नेहरु इन्स्टिच्युट अफ पोष्ट ग्याजुएट मेडिकल एजुकेसन एण्ड रिसर्चमा पूर्ण छात्रवृत्तिमा पढ्नका लागि भारतबाहेकका देशबाट इन्ट्रान्स दिएका विद्यार्थीहरुमध्ये उहाँले सन् २०१८ को जनवरीमा उत्कृष्ट नम्बरसहित जनरल सर्जरीमा नाम निकालनु भएको थियो ।

डा.घिमिरेले भारतको राष्ट्रिय योग्यता र प्रवेश परीक्षा (निटं मा सुपर स्पेसियालिटीतर्फ एक नम्बरमा नाम निकाल्न सफल हुनु भएको थियो । सन् २०१९ मा एमसीएचको अध्ययन सुरु गर्नुभएका उहाँले सन् २०२२ मा अध्ययन पूरा गर्नुभयो । पढाइका क्रममा धेरै नै मेहनत गरेको बताउँदैं डा. घिमिरे भन्नुहुन्छ, ‘लगातार ३६ घन्टासम्म ड्युटी हुन्थ्यो ।

कहिलेकाही त बिरामीको ब्लड प्रेसर चेक गर्दा गर्दै ढलिन्थ्यो । त्यही मेहनत र निरन्तरको प्रयासले आज म यो अवस्थामा पुगेको हुँ ।’ अबको उहाँको लक्ष्य न्यूरो सर्जरीका क्षेत्रमा आफ्नै गृहनगर र देशमै केही नयाँ गर्नुपर्छ भन्ने छ । ‘त्यही लक्ष्य पूरा गर्ने उद्देश्यका साथ करियर सुरु गरेको छु,’ कुराको बिट मार्नुपूर्व उहाँले भन्नुभयो, ‘सबै क्षेत्रबाट साथ र सहयोग जुटाउँदै अगाडि बढ्दै गएर न्यूरो सर्जरीको उपचार सेवालाई थप उचाइमा पुर्‍याउने लक्ष्य राखेको छु ।’

  • ३० भाद्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech