स्त्री तथा प्रसुति सेवामा ल्याप्रोस्कोपी सर्जरीको प्रभावकारिता

    • डा.कीर्तिपाल सुवेदी, बरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ

  • २६ श्रावण २०८०, शुक्रबार

ल्याप्रोस्कोपी सर्जरी भनेको के हो ?

ल्याप्रोस्कोपी सर्जरी भनेको हाल विश्वमा एकदमै प्रचलित रहेको अपरेशन गर्ने एक प्रकारको विधि हो । यसलाई Minimally Invance Surgery ( MIS ) पनि भनिन्छ । ल्याप्रोस्कोपी ( MIS ) मा शरीरको कुनै पनि भागको अपरेशन गर्न एउटा क्यामराको प्रयोग गरिन्छ ।

सो क्यामरालाई शरीरको अपरेशन गरिने स्थानमा सानो प्वाल बनाई प्रवेश गराइन्छ । त्यसपछि त्यसैगरी अन्य दुई वा तीन वटासम्म प्वाल बनाई अन्य उपकरणहरु त्यसमा प्रवेश गराई सम्बन्धित ठाउँको शल्यक्रिया गरिन्छ ।

स्त्री तथा प्रसुति विभागमा ल्याप्रोस्कोपीको महत्व ?

जसरी आजभोलि जहाँ पनि पित्तथैली सम्बन्धि अपरेशन ल्याप्रोस्कोपी विधिद्वारा हुन्छ, त्यसैगरी पाठेघर र अण्डा सम्बन्धि रोगहरुको पनि धेरैजसो अपरेशन ल्याप्रोस्कोपी प्रविधिद्वारा गर्न सकिन्छ । यसमा नाइटोको अलिकति मुनी वा माथिबाट एउटा प्वाल पारेर क्यामरालाई प्रवेश गराइन्छ ।

त्यसपछि पेटमा कार्बनडाअक्साइड ग्यास राखेर अलिकति पेट फुलाइन्छ । यसो गर्दा अपरेशन गर्न पर्याप्त ठाउँ पनि हुन्छ र आन्द्रा र अरु भागमा हुने चोटपटक पनि न्यून गर्न सकिन्छ ।त्यसपछि पेटको तल्लो भागमा दुई वा पाँच मिमिको प्वाल बनाई उपकरणहरुको प्रवेश गराई अपरेशन गरिन्छ ।

क्यामराले लिएको दृश्यहरुलाई त्यस मेसिनको मोनिटरमा लगाइन्छ र त्यहाँ उपस्थित सबैले त्यो अपरेशनमा हेरेर सहयोग गर्छन् । पहिले गरिने अपरेशनको तुलनामा बाहिर चिर्न नपर्ने हुँदा अपरेशन पश्चात विरामीलाई चाँडो नै खान दिइन्छ र विरामीलाई हुने घाउको दुःखाई पनि धेरै नै कम हुन्छ । यो प्रविधिद्वारा अपरेशन गर्दा अस्पताल बसाइँ पनि धेरै नै कम हुने गर्दछ ।

धेरै विरामीहरुलाई यति सानो प्वालबाट सबै अपरेशन पूर्णरुपमा हुँदैन कि वा केही भागभित्र रहन्छ कि भन्ने कौतुहलता रहेको पाइन्छ । तर, चिरेर गर्ने पुरानो प्रविधि र यसमा हुने अपरेशन पश्चात आउने भागहरु बराबर नै रहन्छ ।

यस विधिबाट शल्यक्रिया गर्दा तालिमप्राप्त चिकित्सक र विशेष खाले सामानहरु आवश्यक पर्छ ।

  • २६ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech