रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३१ असार २०८०, आईतवार

नेपालगन्ज: जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।

जंगली च्याउ खाई बिरामी परेपछि २८ असारमै उनीहरुलाई उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो । उहाँहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा मृत्यु भएको भुसालले जानकारी दिनुभयो ।

६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार मृत्यु भएको हो । लुंग्री गाउँपालिका–५ बुझिङमा जंगली च्याउ खाएका कारण ५ जना बिरामी परेका छन् । उहाँहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै २८ असारमै लुंग्री गाउँपालिका–१ मा पनि जंगली च्याउ खाएर ६ जना बिरामी परेका थिए । उहाँहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

  • ३१ असार २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech