बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकसहितका सबै सेवा ठप्प

    • स्वास्थ्य पेज

  • ३० असार २०८०, शनिबार

नेपालगन्जः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालक मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले आकस्मिक सहितका सबै सेवा ठप्प पारेका छन्। छारे रोगको समस्या लिएर अस्पतालमा उपचारका लागि ल्याइएका ११ वर्षीय बालकको मृत्यु भएपछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै अस्पतालको सेवा अवरुद्ध पारेका हुन्।

११ वर्षीय बालकलाई छारेरोग लक्षणसहित बुधबार आकस्मिक कक्षमा ल्याइएको थियो। अस्पतालका प्रबन्ध निर्देशक डा रमेश कँडेल अनुसार बालकलाई आकस्मिक उपचारपछि पिआइसियुमा राखिएको थियो। बालकमा देखिएको छारेरोगको कारण पत्ता लगाउन बिहीबार एमआरआई गराउन लगिएको थियो।

एमआरआई गर्ने क्रममा बालकमा फेरि छारेरोगको लक्षण देखिएको र अक्सिजन कम भएपछि थप अक्सिजन दिन अक्सिजन सिलिन्डर एमआरआई कक्षमा राखिएको थियो।

बालकलाई एमआरआई कक्षबाट बाहिर लान एमआरआई कक्षको ढोका खोल्ने क्रममा एमआरआई मेसिनको चुम्बकीय शक्तिले अक्सिजन सिलिन्डर तान्दा चर्को आवाज आयो। चर्को आवाज आएलगत्तै बालक अचेत बने। अस्पतालले ती बलकलाई तत्काल भेन्टिलेटरमा राख्यो तर केही समयमा उनको मृत्यु भयो। बालकको मृत्युपछि मृतका आफन्तले अस्पतालको लापरबाहीको कारण बालकको मृत्यु भएको आरोप लगाएको छ।

मृतकका आफन्तले २५ लाख क्षतिपूर्तिको काम राखेर अस्पतालको मुख्यद्धारमै आन्दोलन गरिरहेका छन्। आफन्तले क्षतिपूर्ति नदिएसम्म बालकको सव लिन समेत मानेका छैनन्। बालकको शव प्रतिष्ठानकै शवदाहगृहमा राखिएको छ। प्रतिष्ठानका निर्देशक डा कँडेलका अस्पताल प्रशासनले छानबिन कमिटी गठन गरी घटनाको छानबिन गर्ने भने पनि आफन्तले भने मानेका छैनन्।

  • ३० असार २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech