पानी धेरै पिउनुपर्छ भनिन्छ, दिनमा कति पानी पिउनुपर्छ ?

तिर्खाएको अनुभव छैन भने पानी पिउनु उपयुक्त हुँदैन । आयुर्वेदमा शरीरको श्रमअनुसार पानी पिउनुपर्छ भनी उल्लेख गरेको छ । पानी यति नै पिउनुपर्छ भन्नलाई यसको अनुपात तय गर्न सकिँदैन ।


    • स्वास्थ्य पेज

  • १५ असार २०८०, शुक्रबार

चिकित्सक भन्छन्, ‘स्वास्थ्यका लागि नियमित पानी पिउनुपर्छ ।’ पानी जति धेरै पिउँछौं त्यति नै शरीरलाई फाइदा पुर्याउँछ । आम बुझाइ पनि यही छ । डिहाइड्रेसनजस्तो समस्या गर्मी मौसममा बढी देखिन्छ । यो मौसममा शरीरबाट पसिना निस्कने भएकाले शरीरमा पानीको कमी हुनु स्वाभाविकै हो । शरीरलाई ताजगी दिन पानीको विशेष भूमिका हुन्छ । मानव शरीरको ६० प्रतिशत भाग पानीले ओगटेको हुन्छ । त्यसैगरी हाम्रो शरीरबाट दैनिक २.५ लिटर पानी बाहिर निस्कन्छ । शरीरमा १० प्रतिशत पानी कमी हुँदा तिर्खा लागेको महसुस हुन्छ । पानी कति पिउने, कसरी पिउने, कस्तो पिउने, कहिले पिउने भन्ने धेरैलाई थाहा छैन । यसै सन्दर्भमा आयुर्वेद चिकित्सक डा. पुनेश्वर केशरीसँग गरिएको कुराकानीको सम्पादित अंशः

पानी धेरै पिउनुपर्छ भनिन्छ, दिनमा कति पानी पिउनुपर्छ ?

पानी हाम्रो शरीरको सबै अंगका लागि आवश्यक हुन्छ । यसो भन्दैमा शरीरलाई चाहिने भन्दा बढी पानी पिउँदा उल्टो असर पार्छ । पानी तिर्खाएको बेला पिउनु एकदमै राम्रो हो । तिर्खाएको अनुभव छैन भने पानी पिउनु उपयुक्त हुँदैन । आयुर्वेदमा शरीरको श्रमअनुसार पानी पिउनुपर्छ भनी उल्लेख गरेको छ । पानी यति नै पिउनुपर्छ भन्नलाई यसको अनुपात तय गर्न सकिँदैन । पानी श्रम, मौसम, उमेर, तौलअनुसार फरक–फरक अनुपातमा पिउनुपर्छ । मिर्गौलाको समस्या भएकाले धेरै पानी पिउँदा दबाब पर्छ । गर्मी मौसममा पसिना बढी आउने र पिसाबबाट पनि जाने भएकाले जाडोयामको तुलनामा अलि बढी पिउनुपर्छ । एक स्वस्थ वयस्क मानिसले दिनमा दुई–तीन लिटर पानी पिउन सक्छन् ।

शिशुहरूलाई पनि पानीको आवश्यकता पर्छ ?
छ महिनाभन्दा कम उमेरका शिशुहरूलाई पानीको आवश्यकता पर्दैन । उनीहरूलाई आमाको दूधबाट नै पानीको मात्रा पुगिरहेको हुन्छ । छ महिनापछि जब थप खानेकुरा खान थाल्छन् उनीहरूलाई आवश्यकतानुसार थोरै–थोरै पानी खुवाउन सकिन्छ ।
पानी कतिबेला र कसरी पिउने ?

आयुर्वेदमा पानी पिउने दुई किसिमको विधान छ । भोजनअघि र पछि पानी पिउनु हुँदैन । भोजन खाँदा अप्ठ्यारो भयो, अड्कियो भने थोरै–थोरै पिउन सकिन्छ । भोजन अघि र पछिको समयमा ४५ मिनेटको ग्याप हुनुपर्छ । बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनुपर्छ । यसले शरीरमा भएको विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । पानी एकैपटक घटघटी पिउनु हुँदैन । केही समय मुखमा राखेर थोरै–थोरै चिया जसरी पिउनुपर्छ । यसले मुखमा भएको ¥यालसँग पानी मिसिन्छ र पच्नलाई सजिलो बनाइदिन्छ । शरीरको पानी राम्रोसँग सोस्न बसेर पानी पिउनु उपयुक्त हुन्छ ।

कस्तो पानी पिउने ?

पानी चिसो, तातो र मनतातो हुन्छ । चिसो पानी शरीरलाई पचाउन समय लाग्छ । पानीलाई शरीरको तापमानसँग मिलाएर पचाउन शरीरले धेरै ऊर्जा खर्च गर्नुपर्छ । उमालेर सेलाएको पानी पिउनु सबैभन्दा उत्तम हुन्छ । गर्मीमा उमालेर सेलाएको पानी र जाडोमा मनतातो पानी पिउनुपर्छ । यो पानी सजिलैसाग पच्छ र पानी उमाल्दा पानीमा रहेका जीवाणुहरू नष्ट भएर पानी शुद्ध हुन्छ । फ्रिजमा राखेको पानीले शरीरलाई फाइदा गर्दैन ।

प्लास्टिकको बोतलमा राखेको पानी पिउनुहुँदैन । भरसक माटोको भाँडोमा राखेको पिउनुपर्छ । तामाको भाँडामा राखेको पानीले पनि शरीरलाई फाइदा पु¥याउँछ । माटो र तामाको भाँडो नभएको खण्डमा स्टिलको भाँडामा राखेर पिउन सकिन्छ ।

पानीको सेवन कस्तो अवस्थामा गर्नुहुँदैन ?

बाहिर गर्मीबाट आएर, पसिना खलखली बगेको बेला तत्काल चिसो पानी पिउनु हुँदैन । आयुर्वेदमा शिरो रोगमा चिसो पानी पिउनुहुँदैन भनिएको छ । यस्तो अवस्थामा तत्काल चिसो पानी पिउँदा रुघाखोकी लाग्ने सम्भावना बढी रहन्छ । तातोले फैलिएका रक्तनलीहरू एकाएक चिसो पानीले खुम्चाइदिन्छ र मान्छे ‘शक’ मा पनि जान सक्छन् ।

शरीरमा पानी कम वा बढी हुँदा के–कस्ता समस्या निम्तिन सक्छन् ?

शरीरमा पानीको कमी हुँदा पिसाब पोल्ने हुन्छ । मिर्गौलाले रि–अब्जर्सन कार्य गर्छ । जब हामी पानी पिउँछांै त्यसलाई मिर्गौलाले छान्छ र फेरि छान्ने प्रक्रिया हुन्छ । थोरै पानी पिउँदा मिर्गौलाले छानेर गएको पानी फेरि रि–अब्जर्सन हुन पाउँदैन र पिसाब गाढा हुन्छ । पानीको मात्राले रगतको भोल्युम मेन्टेन गर्ने भएकाले रक्तचाप कम हुन्छ । खाना पच्न सक्दैन । टाउको दुख्ने, थकान महसुस हुने, कब्जियत हुने समस्या देखिन्छ ।

त्यसैगरी शरीरमा पानीको मात्रा आवश्यकताभन्दा बढी भएमा शरीरमा तरल पदार्थ सन्तुलनमा राख्न रक्तनलीहरूमा अतिरिक्त दबाब पर्न जान्छ । मिर्गौलालाई बढी छान्नुपर्छ । जसले दबाब पर्छ।

  • १५ असार २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech